नेपाली मुद्रा कमजोर बन्दा डलर अहिलेसम्मकै महंगो



काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर भएको छ ।

सोमबार नेपालका वाणिज्य बैंकहरुले एक अमेरिकी डलर १२३ रुपैयाँ ४५ पैसा सम्ममा बिक्री गरेका छन् । आइतबार एक अमेरिकी डलरको बिक्री मुल्य १२२ रुपैयाँ १६ पैसा थियो ।

रसिया र युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढ्नुका साथै भारतीय मुद्रा पनि कमजोर बन्दा अमेरिकी डलरको बिक्री मूल्य अहिलेसम्मको उच्च विन्दुमा पुगेको हो ।

यसअघि नेपालमा २०७६ चैत ४ गते डलर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यसदिन १ अमेरिकी डलर प्राप्त गर्न १२३ रुपैयाँ २८ पैसा खर्च गर्नु परेको थियो ।

नेपालमा विदेशी मुद्रासँगको विनिमय दर भारतीय मुद्रासँग ‘पेग’ गरेर निर्धारण गरिएकाले भारतको मुद्राको अन्तर्राष्ट्रिय मूल्यका आधारमा नेपाली मुद्रासँगको सटही रेट तय हुन्छ ।

भारतको अर्थतन्त्र बलियो भएको अवस्थामा कम नेपाली रुपैयाँ खर्च गरेर डलर प्राप्त गर्न सकिन्छ भने भारतिय मुद्रा कमजोर बन्दा डलर प्राप्त गर्न बढी रुपैयाँ खर्च गर्नु पर्छ ।

नेपाल आयल निगमले भारतिय आयम कर्पाेरेसनसँग डलरमै भुक्तानी गरेर सामान किन्ने हुँदा डलर महंंगो हुँदा पेट्रोलियम पदार्थको मूल्य झनै बढ्ने छ ।

यस्तै नेपालमा आयात हुने सामानसँगै उद्योगको कच्चा पदार्थ पनि विभिन्न वस्तुको मूल्य बढ्ने सम्भावना पनि छ ।


क्लिकमान्डु