स्वास्थ्य बीमामा दैनिक ३० हजार जनाको माग दाबी, भुक्तानीमा ढिलाइ



काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा माग दाबी गर्नेको संख्या बढ्न थालेको छ । बीमा कार्यक्रममा सहभागी भएका बीमितहरुमध्ये दैनिक करिब ३० हजारको माग दाबी पर्ने गरेको हो ।

बोर्डसँग आवद्ध सेवा प्रदायक संस्थाहरुबाट आइएमआइएस सफ्टवेयरमा हाल दैनिक करिब २५ देखि ३० हजारको हाराहारीमा दाबी हुने गरेको बोर्डले जानकारी दिएको छ ।

सो संख्यामा माग दाबी परे पनि बोर्डले आफूसँग आवद्ध भएका कतिपय अस्पतालहरुलाई समयमै भुक्तानी दिन भने सकेको छैन । अस्पतलाहरुले सफ्टवेयरमा समयमै दाबी सम्बन्धी कागजात उपलब्ध नगराउँदा भुक्तानी गर्न ढिलाइ हुँदै आएको बोर्डको भनाइ छ ।

स्वास्थ्य बीमा ऐन, नियमावली तथा कार्यविधिमा सेवा प्रदायक संस्थाहरुबाट बीमितलाई सेवा प्रदान गरे वापत पाउनुपर्ने दाबी रकम भुक्तानीका लागि बीमा व्यवस्थापन सूचना प्रणाली(आइएमआइएस) सफ्टवेयरमा आवश्यक कागजातहरु दाबी प्रविष्ट गर्दाकै बखत अपलोड गर्नुपर्ने व्यवस्था छ ।

बोर्डले सेवा प्रदायक संस्थालाई बीमा व्यवस्थापन सूचना प्रणाली(आइएमआइएस) सफ्टवेयरमा दाबी सम्बन्धी कागजात समयमै अपलोड गर्न समेत पटक–पटक निर्देशन दिँदै आएको छ ।

तोकिएको समयमा सेवा प्रदायक संस्थाहरुले कागजातहरु अपलोड गर्नुपर्ने व्यवस्था भए पनि सो व्यवस्था बमोजिम अस्पतालले कागजात नराख्ने बोर्डको भनाइ छ ।

जसले गर्दा भुक्तानीमा समस्या देखिएको बोर्डले जानकारी दिएको छ ।

सेवा प्रदायक संस्थाहरुले समयमै आवश्यक बील भरपाइलगायतका कागजातहरु अपलोड नगरी लामो समय होल्ड राख्ने गरेको बोर्डका शाखा अधिकृत शोभित रिजालले जानकारी दिए ।

अस्पतालहरुले कागजातहरु अपलोड नगरी लामो समय होल्ड गर्ने हुनाले दाबी भुक्तानी फरफारक हुन नसकेको र सफ्टवेयरमा परिमार्जन गरी समयसिमा सीमित बनाइएको समेत उनले बताए ।

सफ्टवेयर परिमार्जन गर्दै बोर्ड
स्वास्थ्य बीमा बोर्डले बीमा व्यवस्थापन सूचना प्रणाली(आइएमआइएस) नामक सफ्वेयरबाट दाबी भुक्तानीलगायतका अन्य काम गर्दै आएको छ । बोर्डले सफ्टवेयरमार्फत् आएका दाबीलाई भेरिफाइ गर्छ ।

बोर्डले उक्त सफ्टवेयरलाई परिमार्जन गर्ने कार्य अघि बढाएको जानकारी दिएको छ । स्वास्थ्य बीमा बार्डबाट समयमा भुक्तानी नपाएको भन्ने समाचार प्रकाशित हुन थालेपछि दाबी व्यवस्थापनलाई छिटो, छरितो, स्वस्थ्य र पारदर्शी बनाउनका लागि सो सफट्वेयर परिमार्जन गर्न लागेको हो ।

बोर्डले चैत १ गतेदेखि लागू हुने गरी सफ्टवेयर परिमार्जन गर्न लागिएको बोर्डले जानकारी दिएको छ । चैत १ गतेदेखि दैनिक दाबीहरु सोही दिनका राति १२ बजेपछि परिमार्जन गर्न नमिल्ने बोर्डको भनाइ छ ।

दाबी गरिएको मितिबाट ७ दिनपछि प्रविष्ट गर्न नमिल्ने र दाबी गरेको मितिबाट १५ दिनपछि कागजातहरु अपलोड वा परिमार्जन गर्न नमिल्ने समेत बोर्डले जानकारी दिएको छ ।

यस्तै, बोर्डले सदस्यता दर्ता र सेवा शुरु हुने समय समेत सोही सफ्टवेयरमार्फत् परिवर्तन गर्न लागिएको जानकारी दिएको छ ।

स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली, २०७५ बमोजिम स्वास्थ्य बीमामा बीमित हुने नागरिकको फोटो सहितको विवरणहरु राखिन्छ । सो विवरण कतिपय जिल्लाहरुबाट समयमा नै प्रविष्ट नगरिएको समेत बोर्डको भनाइ छ ।

यसलाई व्यवस्थित बनाउनको लागि आगामी भदौं साइकलदेखि लागू हुने गरी आइएमआइएस सफ्टवेयर परिमार्जन गर्न लागेको बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार परिमार्जित सफ्टवेयर अनुसार प्रत्येक महिनाको २५ गते विवरण संकलन गरिसक्ने र सो विवरण अर्को कहिनाको ७ गतेभित्र सफ्टवेयरमा अनिवार्य रुपमा प्रविष्ट गरि स्वासथ्य बीमा नियमावली, २०७५ को अनुसूची १३ बमोजिमको ढाँचामा मासिक पठाउनु पर्ने छ ।

सेवा सञ्चालन हुने महिनाको अघिल्लो दिन राति १२ बजेपछि उक्त साइकलमा संकलन भएको विवरण सो सफ्टवेयरमा प्रविष्ट गर्न नमिल्ने बोर्डको भनाइ छ ।


क्लिकमान्डु