अफ्रिकी राष्ट्र बोत्स्वानासँग व्यापार साझेदारीका लागि चेम्बरको प्रस्ताव



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अफ्रिकी राष्ट्र बोत्स्वानासँग व्यापार साझेदारी गर्न प्रस्ताव गरेको छ ।

नेपालका लागि बोत्स्वानाका राजदूत जिल्बर्ट एस म्याङगोलसंग जमलस्थित चेम्बर भवनमा बिहीबार भएको भेटवार्तामा व्यापारिक सहकार्य गर्न चेम्बरले आग्रह गरेको हो ।

उदयमान अर्थतन्त्र भएको बोत्स्वानाबाट हिराको कच्चा पदार्थ ल्याएर नेपालमा प्रशोधनमार्फत् पुनः निर्यातको सम्भावना रहेकाले पहल गर्न चेम्बर अध्यक्ष राजेन्द्र मल्लले राजदूत म्याङगोलसंग आग्रह गरेका हुन् ।

हिरा, तामालगायतका वस्तुको निर्यातका लागि बोत्स्वाना विश्वमै प्रख्यात मानिन्छ । नेपाल र बोत्स्वानाबीच भौगोलिक दुरी टाढा भएपनि व्यापारिक माध्यमबाट आर्थिक गतिविधि बढाउन सकिने अध्यक्ष मल्लको भनाइ छ ।

नेपाल र बोत्स्वानाबीच सन् २००९ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । भौगोलिक तथा शासकीय दृष्टिकोणले पनि नेपाल र बोत्स्वाना समान भएकाले दुई पक्षीय लगानी, व्यापार, पर्यटन जस्ता क्षेत्रमा सहकार्य गर्न अध्यक्ष मल्लले राजदूत म्याङगोलसंग आग्रह गरे ।

जलविद्युत्, भौतिक पूर्वाधार तथा सेवा क्षेत्रमा लगानीका लागि पनि अध्यक्ष मल्लले राजदूत म्याङगोल समक्ष आग्रह गरेका छन् ।

‘नेपालको जलविद्युत्, भौतिक पूर्वाधार, सेवा क्षेत्रमा थुप्रै मुलुकले लगानी गरिरहेका छन,’ उनले भने, ‘हामी बोत्स्वानो निजी क्षेत्रलाई पनि लगानीको सम्भाव्यता अध्ययनका लागि अग्रह गर्दछौं । त्यसका लागि तपाईंले पहल गरिदिनपर्यो ।’

नेपाल र बोत्स्वानाको निजी क्षेत्रबीच लगानी तथा व्यापार सहजिकरणका लागि उच्चस्तरीय भेटवार्ताको पहल गर्न पनि अध्यक्ष मल्लले राजदूत म्याङगोल समक्ष आग्रह गरे ।

नेपालको हस्तकलाका सामानहरु, पस्मिना, जडिवुटी तथा चियाको माग विश्वमै उच्च रहेकाले बोत्स्वानामा पनि निर्यात गर्न चाहेको अध्यक्ष मल्लले बताए । हिमालयको देश नेपाल पर्यटनका दृष्टिकोणले समेत उच्च रहेकाले दुई मुलुकबीच पर्यटकीय गतिविधि बढाउन सकिने अध्यक्ष मल्लको भनाइ छ ।

जवाफमा राजदूत म्याङगोलले नेपालमा व्यापार सम्भावनाको खोजी गर्न आफूले पहल गर्ने बताए । यस्तै राजदूत म्याङगोलले लगानीको सम्भावना तथा व्यापार सहजीकरणका लागि उनले प्रतिबद्धता समेत जनाएका छन् । नेपालबाट निर्यात योग्य वस्तुहरुको बजारीकरणका लागि आफ्नो मुलुकका निजी क्षेत्रसँग उच्चस्तरीय भेटवार्ताको पहल गर्ने उनको भनाइ छ ।


क्लिकमान्डु