माघमा निर्जीवन बीमा कम्पनीकाे बीमाशुल्क संकलन पौने ३ अर्ब



काठमाडौं । चालु आवको माघ महिनामा निर्जीवन बीमा कम्पनीले दुई अर्ब ७२ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

माघ महिनाको अवधिमा सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीले दुई लाख २० हजार २७२ वटा बीमालेखबाट सो बराबरको रकम संकलन गरेका हुन् ।

बीमा समितिद्वारा उपलब्ध तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरुको कुल व्यवसायमा बाग्मती प्रदेशको हिस्सा सबैभन्दा धेरै छ । तथ्यांकअनुसार यस अवधिमा निर्जीवन बीमा कम्पनीको कुल व्यवसायमा बाग्मती प्रदेशको हिस्सा ६३.०६ प्रतिशत छ ।

कम्पनीहरुले बाग्मती प्रदेशबाट एक अर्ब ७१ करोड ९४ लाख रुपैयाँ संकलन गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा कर्णाली प्रदेशको योगदान सबैभन्दा थोरै छ । यस अवधिमा कम्पनीहरुको कुल व्यवसायमा कर्णाली प्रदेशको योगदा १.१५ प्रतिशत मात्रै छ ।

यस प्रदेशबाट माघ महिनामा कम्पनीहरुले तीन करोड १२ लाख रुपैयाँ मात्रैको व्यवसाय गरेका छन् ।

बाग्मती प्रदेशपछि लुम्बिनी प्रदेशबाट कम्पनीहरुले २६ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको समितिको तथ्यांक छ । जुन कुल निर्जीवन बीमा व्यवसायको ९.८० प्रतिशत हुन आउँछ ।

यस्तै, निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा प्रदेश १ को हिस्सा ९.६३ प्रतिशत, मधेश प्रदेशको हिस्सा ७.१९ प्रतिशत, गण्डकी प्रदेशको हिस्सा ६.५० प्रतिशत र सुदुरपश्चिम प्रदेशको हिस्सा २.६७ प्रतिशत छ ।

यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा शिखर परेको छ । शिखरले माघ महिनामा ३२ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । माघ महिनामा कम्पनीले २३ हजार ८१७ बीमालेखबाट सो रकम संकलन गरेको हो ।

यस्तै, यस अवधिमा सगरमाथा इन्स्योरेन्सले २२ करोड ५७ लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले १९ करोड ७० लाख रुपैयाँ र नेको इन्स्योरेन्सले १९ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

मोटर बीमामा आकर्षण
निर्जीवन बीमा कम्पनीहरुको आकर्षण मोटर बीमामा देखिएको छ । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार निर्जीवन बीमा व्यवसायमा मोटर बीमाले ३९.२५ प्रतिशत हिस्सा ओगटेको छ ।

यस अवधिमा कम्पनीहरुले मोटर बीमाबाट एक अर्ब ७ करोड तीन लाख रुपैयाँ संकलन गरेका छन् । समितिका अनुसार उक्त अवधिमा बाग्मती प्रदेशबाट कम्पनीहरुले ९३ करोड ६५ लाख रुपैयाँको मोटर बीमा व्यवसाय गरेका छन् ।

मोटर बीमापछि कुल बीमामा सम्पत्ति बीमाको हिस्सा धेरै छ । चालु आवको माघ महिनामा कुल निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा ३२.७४ प्रतिशत छ ।

यस अवधिमा कम्पनीहरुले ८९ करोड २७ लाख रुपैयाँको सम्पत्ति बीमाको व्यवसाय गरेका छन् ।

सम्पत्ति बीमापछि विविध बीमाको हिस्सा धेरै छ । विविध बीमाले १०.१४ प्रतिशत हिस्सा आगटेको समितिको तथ्यांक छ । कम्पनीहरुले यस अवधिमा निर्जीवन विविध बीमाबाट २७ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, यस अवधिमा निर्जीवन बीमाको कुल व्यवसायमा इन्जिनियरिङ तथा ठेग्गा जोखिम बीमाको हिस्सा ३.०७ प्रतिशत, कृषि तथा बाली बीमाको हिस्सा ६.३८ प्रतिशत, सामून्द्रिक बीमाको हिस्सा ५.७४ प्रतिशत, हवाईको २.५३ प्रतिशत र लघु बीमाको हिस्सा ०.१५ प्रतिशत छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार माघ महिनामा कम्पनीहरुले इन्ञ्जिनियरिङ तथा ठेगेदार सम्पूर्ण जोखिम बीमाबाट ८करोड ३७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

हवाई बीमाबाट ६ करोड ८९ लाख, सामुन्द्रिक बीमाबाट १५ करोड ६४ लाख रुपैयाँ, कृषि तथा बाली बीमाबाट १७ करोड ३८ लाख रुपैयाँ र लघु बीमाबाट ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु