किसानलाई तत्काल मल, बीउ उपलब्ध गराउन केन्द्रीय संघको माग



काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघले कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रा राय यादवलाई किसानलाई तत्काल मल, बीउ उपलब्ध गराउन माग गरेको छ ।

संघले सरकारले मल, बीउ लगाएत किसानका लागि आवश्यक अन्य वस्तु सहज उपलब्ध गराउन नसक्दा अहिले पनि किसानहरु मारमा परिरहेको भन्दै तत्काल मल, बीउ उपलब्ध गराउन माग गरेको हो । सरकारले सहकारी संस्था मार्फत मल, बीउ किसानहरुलाई प्रदान गर्ने योजना र कार्यक्रम अगाडि सारेको भएपनि अहिले त्यो काम हुन नसकेको संघका अध्यक्ष खेम बहादुर पाठकले बताए ।

सहकारी संस्था, सञ्चालक र किसानहरु अहिले सहकारीमा मल, बीउ प्राप्त नहुँदा दुखी भएको उनको भनाइ छ । सहकारी संस्थालाई सरकारले मल बीउ उपलब्ध गराउन नसकेको अवस्थामा सहकारीले मल बीउ दिन सकेन भन्ने सन्देश फैलाएको प्रति गम्भिर ध्यानाकर्षण भएको संघको भनाइ छ ।

सहकारी संस्था आफै बीउ र मल उत्पादन गर्ने र विक्रि गर्ने कार्यमा संलग्न नभएको भन्दै सरकारले मल बीउ उपलब्ध गराउन नसकिरहेको अवस्थामा सहकारीका सदस्य किसानलाई भड्काउने कार्य नगर्न समेत सबैलाई संघले अपिल गरेको छ ।

संघले जतिसक्दो छिटो सहकारी संघ संस्थाहरुलाई मल बीउको उपलब्धता बढाई किसानहरुलाई कृषि जन्य उत्पादनमा ढुक्कसंग लाग्ने वातावरणको विकास गर्न माग गरेको छ ।


क्लिकमान्डु