७ महिनामा निर्जीवन बीमा कम्पनीको २२ अर्बको व्यवसाय, शिखर पहिलो



काठमाडौं । निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको सात महिनामा करिब २२ अर्ब रुपैयाँको व्यवसाय गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार २० निर्जीवन बीमा कम्पनीले यस अवधिमा २१ अर्ब ८१ करोड रुपैयाँको व्यवसाय गरेका हुन् । कम्पनीहरुले १६ लाख ९५ हजार ७८८ वटा बीमालेख जारी गरी सो रकम संकलन गरेका हुन् । गत आवको यसै अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय २२.१२ प्रतिशतले बढी हो ।

गत आवको यसै अवधिमा कम्पनीहरुले १७ अर्ब ८६ करोड रुपैयाँको व्यवसाय गरेका थिए । सो अवधिमा कम्पनीहरुले १७ लाख ७४ हजार १३८ वटा बीमालेख जारी गरेका थिए ।

गत आवको यसै अवधिको तुलनमा निर्जीवन बीमा कम्पनीहरुको बीमालेखको संख्या भने ४.४२ प्रतिशतले घटेको हो । कुल बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्स अघि देखिएको । चालु आर्थिक वर्षको माघसम्ममा शिखरले सबैभन्दा धेरै २ अर्ब ७६ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको माघसम्ममा दुई अर्ब ४५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । व्यवसाय बढाउनेमा भने सानिमा जनरल इन्स्योरेन्स पहिलो स्थानमा परेको छ ।

सानिमा जनरलले यस अवधिमा सबैभन्दा धेरै ८८.४९ प्रतिशतले बीमाशुल्क बढाएको हो । कम्पनीले यस अवधिमा ५२ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा सानिमा जनरलले २८ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको थियो ।

यस्तै, सानिमा जनरलपछि हिमालयन जनरल, युनाइटेड इन्स्योरेन्सर जनरल इन्स्योरेन्सको बीमाशुल्क संकलन रकम बढेको छ । यसअवधिमा हिमालयन जनरलको बीमाशुल्क ६३.६६ प्रतिशतले बढेर ९८ करोड १९ लाख ८ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा कम्पनीले ६० करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको थियो ।

यस्तै, यूनाइटेड इन्स्योरेन्सको कुल बीमाशुल्क ४९.१ प्रतिशतले बढेर ९८ करोड ४३ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा कम्पनीले ६६ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको थियो ।

एनएलजी इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स लगायतका कम्पनीको बीमा शुल्क संकलन सामान्य बढेको छ ।

यस अवधिमा एनएजली इन्स्योरेन्सको बीमाशुल्क सबैभन्दा थोरै प्रतिशतले बढेको छ । कम्पनीको बीमाशुल्क ४.९६ प्रतिशतले बढेर एक अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा कम्पनीले एक अर्ब ३० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको समितिको तथ्यांक छ ।

यस्तै, नेशनल लाइफको बीमाशुल्क ६.०६ प्रतिशतले बढेर ५३ करोड ३० हजार रुपैयाँ पुगेको छ । गत अवाको यसै अवधिमा नेशनलले ५० कोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । सिद्धार्थ इन्स्योरेन्सको बीमाशुल्क ९.३९ प्रतिशतले बढेर एक अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

६ कम्पनीको बीमाशुल्क संकलन अर्बमाथि
चालु आवको माघ महिनासम्ममा २० निर्जीवन बीमा कम्पनीमध्ये ६ कम्पनीले अर्बभन्दा धेरै बीमाशुल्क संकलन गर्न सफल भएका छन् ।

यस अवधिमा शिखर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले अर्बभन्दा धेरै बीमाशुल्क संकलन गरेका हुन् ।

शिखर इन्स्योरेन्सले दुई अर्ब ७६ करोड, सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब ५२ करोड, नेको इन्स्योरेन्सले एक अर्ब ७७ करोड, एनएलजी इन्स्योरेन्सले एक अर्ब ३६ करोड, प्रिमियर इन्स्योरेन्सले एक अर्ब २३ करोड र सगरमाथा इन्स्योरेन्सले एक अर्ब ९५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यी बाहेकका अन्य कम्पनीले भने अर्ब भन्दा कम बीमाशुल्क संकलन गरेको समितिको तथ्यांक छ ।

प्रभु र प्रुडेन्सियल इन्स्योरेन्सको बीमाशुल्क खुम्चियो
यस अवधिमा प्रभु इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको बीमाशुल्क भने खुम्चिएको छ । तथ्यांकअनुसार प्रुडेन्सियल इन्स्योरेन्सको बीमाशुल्क संकलन ५.५० प्रतिशतले घटेर ७७ करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ ।

गत आवको यसै अवधिमा कम्पनीले ८२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यस्तै, प्रभु इन्स्योरेन्सको बीमाशुल्क २.०३ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ९१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ९३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।


क्लिकमान्डु