जीवन बीमाको कोषको आकार २४% ले बढेर ४ खर्ब २७ अर्ब पुग्यो



काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार २४ प्रतिशतले बढेको छ ।

चालु आवको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीको बीमा कोषको आकार ४ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीको बीमा कोषको आकार २४.२८ प्रतिशतले बढेर ४ खर्ब २७ अर्ब एक करोड ८२ लाख २७ हजार रुपैयाँ पुगेको हो ।

गत आवको यसै अवधिमा जीवन बीमा कोषमा तीन खर्ब ४३ अर्ब ५९ करोड १९ लाख रुपैयाँ थियो ।

बीमा कम्पनीको आय–व्यय हिसाबको आम्दानीबाट प्रत्यक्ष खर्च घटाइसके पछिको बचत रकम जीवन बीमा कोषमा जम्मा गरिन्छ ।

बीमांकीले बीमांकीय मूल्यांकन गरेपछि कम्पनीको भविष्यको दायित्व तथा बोनस रकम छुट्याएर बाँकी रहेको रकममध्ये ९० प्रतिशत जीवन बीमा कोषमा जम्मा गरिन्छ ।

साथै, १० प्रतिशत रकम नाफा–नोक्सान खातामा जान्छ । तर, यो कोषमा वैदेशिक रोजगार जीवन बीमाबाट संकलन भएको बीमाशुल्क भने जोडिएको हुँदैन ।

जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफको जीवन बीमा कोष सबैभन्दा ठूलो छ । गत आवको तुलनमा नेपाल लाइफको बीमा कोषको आकार २३.२५ प्रतिशतको वृद्धि हुँदै एक खर्ब २४ अर्ब ८३ करोडमाथि पुगेको छ ।

जुन जीवन बीमा कम्पनीको कुल बीमा कोषमा नेपाल लाइफको बीमा कोषको हिस्सा २९.२४ प्रतिशत हुन आउँछ ।

एलआइसी नेपालको बीमा कोषको आकार १६.४९ प्रतिशतले बढेर सुधार ८६ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

नेशनल लाइफले बीमा कोषको आकार २४.२० प्रतिशलते बढाएर ४७ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ ।

राष्ट्रिय बीमा संस्थाको जीवन बीमा कोषमा ३८ अर्ब १४ करोड रुपैयाँ छ ।

यस्तै, एशियन लाइफको जीवन बीमा कोषमा २९ अर्ब ३७ करोड, मेट लाइफको १९ अर्ब ६१ करोड, प्राइम लाइफको १६ अर्ब ६१ करोड, सूर्या लाइफको १२ अर्ब ५७ करोड र गुराँस लाइफको ११ अर्ब ४८ करोड रुपैयाँ छ ।

नयाँ जीवन बीमा कम्पनीतर्फ युनियन लाइफको जीवन बीमा कोषमा धेरै रकम जम्मा भएको छ ।

यूनियनको बीमा कोषको आकार ५८.०७ प्रतिशतले बढेर ९ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । सिटिजन लाइफ इन्स्योरेन्सले१०३.७९ प्रतिशलते बढाउदै ४ अर्ब ८८ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

ज्योति लाइफको ५ अर्ब १४ करोड, आइएमई लाइफको तीन अर्ब ८७ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफ ३ अर्ब ६ करोड रुपैयाँ, रिलायन्स लाइफको तीन अर्ब ३६ करोड रुपैयाँ, सन नेपाल लाइफ तीन अर्ब ६ करोड रुपैयाँ, सानिमा लाइफ २ अर्ब ८२ करोड रुपैयाँ, प्रभु लाइफ २ अर्ब ६० करोड रुपैयाँ, प्रभु लाइफ २ अर्ब ६० करोड रुपैयाँ र महालक्ष्मी लाइफको एक अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु