जीवन बीमा कम्पनीको ४२ प्रतिशत व्यवसाय बाग्मती प्रदेशमा



काठमाडौंं । जीवन बीमा कम्पनीहरुको व्यवसाय बाग्मती प्रदेशमा मात्रै सीमित रहेको तथ्यांकले देखाएको छ ।

बीमा समितिको माघ महिनाको तथ्यांकअनुसार कम्पनीहरुले गर्ने कुल व्यवसायको ४१.८६ प्रतिशत हिस्सा बाग्मती प्रदेशमा छ ।

चालु आर्थिक aवर्षको माघ महिनामा बाग्मती प्रदेशबाट जीवन बीमा कम्पनीहरुले ४ अर्ब ३४ करोड ८८ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका छन् । यो कुल बीमाशुल्कको ४१.८६ प्रतिशत हो ।

सो अवधिमा कम्पनीहरुले १० अर्ब ३८ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका छन् ।

एक महिनामा १९ जीवन बीमा कम्पनीहरुले एक करोड १० लाख ८६ हजार ६८९ वटा बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

बाग्मती प्रदेशपछि लुम्बिनी प्रदेशबाट एक अर्ब ६२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो कुल बीमाशुल्कको १५.५७ प्रतिशत हुन आउँछ ।

समितिका अनुसार यस अवधिमा जीवन बीमा कम्पनीहरुले प्रदेश १ बाट १ अर्ब ३१ करोड रुपैयाँ, गाडण्की प्रदेशबाट १ अर्ब ११ करोड रुपैयाँ, मधेश प्रदेशबाट ९८ करोड रुपैयाँ र सुदूरपश्चिम प्रदेशबाट ५४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
कर्णाली प्रदेशबाट ४८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

कुल जीवन बीमाशुलकमा गण्डकी प्रदेशको हिस्सा १०.७२ प्रतिशत, मधेश प्रदेशको हिस्सा ९.४० प्रतिशत, सुदुरपश्चिम प्रदेशको हिस्सा ५.२४ प्रतिशत र कर्णाली प्रदेशको हिस्सा ४.६३ प्रतिशत हुन आउँछ ।

माघ महिनामा सावधिक जीवन बीमा योजना अन्तर्गत ३ अर्ब ४८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमाबाट २ अर्ब ८७ करोड रुपैयाँ, रुपान्तरित सावधिक जीवन बीमाबाट एक अर्ब ४४ करोड २० लाख रुपैयाँ, बालबच्चा सम्बन्धी जीवन बीमालेखबाट एक अर्ब ६१ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।

यस्तै, वैदेशिक रोजगार म्यादी बीमाबाट १७ करोड ५८ लाख रुपैयाँ, आजीवन जीवन बीमाबाट ३३ करोड ६२ लाख रुपैयाँ, एकल बीमाशुल्क जीवन बीमाबाट १० करोड रुपैयाँ र लघु जीवन बीमाबाट १९ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।


क्लिकमान्डु