सूचीकृत १९ बीमा कम्पनीको लाभांश घोषणा, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३० बीमा कम्पनी सूचीकृत छन् । जसमा १८ निर्जीवन र १२ जीवन बीमा कम्पनी छ ।
सूचीकृत ३० बीमा कम्पनीमध्ये १९ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।

सूचीकृत १८ निर्जीवन बीमा कम्पनीमध्ये ११ वटा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लगानीकर्ताका लाभांश घोषणा गरेका छन् भने सूचीकृत १२ जीवन बीमा कम्पनीमध्ये ८ कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लगानीकर्ताका लागि लाभांश घोषणा गरेका छन् ।

जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कन(एक्चुअरी भ्यालुएसन)का कारण अन्य कम्पनीको तुलनामा एक वर्ष ढिला साधारणसभा हुँदै आएको छ ।

नेपालमा दक्ष जनशत्तिको आभावका कारण बीमाङ्कीय मूल्याङ्कन गर्नका लागि विदेशी मुलुक पठाउनु पर्ने हुँदा वित्तीय विवरणको लेखापरीक्षण समयमा हुन सक्दैन । जसले गर्दा जीवन बीमा कम्पनीहरुको लाभांश घोषणा र साधारणसभामा ढिलाइ भएको हो ।

११ निर्जीवन बीमा कम्पनीको लाभांश घोषणा
बीमा समितिले नगद लाभांश वितरणमा रोक लगाएपछि निर्जीवन बीमा कम्पनीहरुले बोनस सेयर मात्रै वितरण गर्दै आएका छन् । लाभांश घोषणा गर्ने ११ निर्जीवन बीमा कम्पनीमा सगरमाथा इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स छन् ।

लाभांश प्रस्ताव गर्ने ११ निर्जीवन बीमा कम्पनीहरुमा प्रिमियर इन्स्योरेन्सले साधारण सभा बोलाएर प्रस्तावित लाभांश पारित गरिसकेको छ । प्रिमियरले माघ २१ गते सम्पन्न २८औं वार्षिक साधारणबाट १४.२५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

हिमालयन जनरल इन्स्योरेन्सले लाभांश पारित गर्न फागुन ३० गते साधारणसभा बोलाएको छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरेको छ ।

त्यस्तै, नेको इन्स्योरेन्सले पनि १५ प्रतिशत लाभांश पारित गर्न चैत ९ गते, बुधबार २६औं वार्षिक साधारणसभा बोलाएको छ । लाभांश प्रस्ताव गरेका अन्य कम्पनीले भने साधारणसभाको मिति तय गरेका छैनन् ।

निर्जीवन बीमा कम्पनीतर्फ सबैभन्दा धेरै लाभांश प्रस्ताव गर्नेमा सगरमाथा इन्स्योरेन्स छ । इन्स्योरेन्सले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सिद्धार्थ इन्स्योरेन्सले १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश गरी १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

प्रभु इन्स्योरेन्सले ११.५८ प्रतिशत, एनएलजीले १०.५३ प्रतिशत, लुम्बिनी जनरलले १० प्रतिशत, आइएमई जनरलले ७.३७ प्रतिशत, प्रुडेन्सियलले ७.३५८ प्रतिशत, हिमालयन जनरलले ७ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।

एभरेष्ट इन्स्योरेन्सले ६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद गरी ६.३१ लाभांश प्रस्ताव गरको छ ।

साथै, शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र जनरल इन्स्योरेन्सले गत आवको मुनाफाबाट लगानीकर्ताका लागि लाभांश प्रस्ताव गर्न बाँकी छ ।

यस्तै, नयाँ निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सले भने गत आवको मुनाफाबाट पनि लगानीकर्ताका लागि लाभांश वितरण गर्न सकेनन् । यी दुई वटै कम्पनीले गत आवको वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन् ।

८ जीवन बीमा कम्पनीको लाभांश घोषणा
नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीमध्ये आठ वटा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेका छन् ।

सूर्या लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एशियन लाइफ, नेशनल लाइफ र एलआइसी नेपालले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका हुन् ।

लाभांश घोषणा गरेका जीवन बीमा कम्पनीमध्ये ६ कम्पनीले साधारण सभा सम्पन्न गरि प्रस्तावित लाभांश समेत पारित गरेका छन् । एशियन, सूर्या, प्राइम, ज्योती, रिलायन्स र एलआइसी नेपालको लाभांश साधारण सभाबाट पारित भएको हो ।

यस्तै, नेशनल लाइफले साधारणसभाको मिति तोकी लाभांश प्रयोजनको लागि बुक क्लोजको मिति समेत तोकेको छ भने नेपाल लाइफले साधारणसभाको मिति तय गरेको छैन ।

आठ जीवन बीमा कम्पनीमध्ये एशियन लाइफले लगानीकर्ताका लगि धेरै लाभांश घोषणा गरेको छ ।

२०७५/७६ मा लगानीकर्ताको हात खाली बनाएको इन्स्योरेन्सले अघिल्लो आवको मुनाफाबाट २७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश माघ २१ गते बसेको १३औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।

यस्तै, प्राइम लाइफ इन्स्योरेन्सले अघिल्लो आवको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.८७ प्रतिशत नगद गरी कुल १५.८७ प्रतिशत लाभांश कम्पनीको मंसिर १९ गते बसेको १४औं साधारणसभाले पारित गरिसकेको छ ।

सूर्या लाइफले अघिल्लो आवको मुनाफाबाट १२.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । उक्त लाभांश कम्पनीको पुस १९ गते बसेको १३औं साधारणसभाले पारित गरेको छ ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । प्रस्तावित उक्त लाभांश फागुन ६ गते बसेको चौथो वार्षिक साधारणसभाले पारित गरेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सले अघिल्लो आवको मुनाफाबाट चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।

एलआइसी नेपालले प्रस्ताव गरेको २१.०५ प्रतिशत लाभांशलाई साधारण सभाले पारित गरिसकेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले अघिल्लो आवको मुनाफाबाट लागनीकर्ताका लागि २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश पारित गर्न इन्स्योरेन्सले फागुन २९ गते साधारणसभाको मिति तोकेको छ । इन्स्योरेन्सले लाभांश तथा साधारणसभा प्रयोजनका लागि फागुन २२ गते बुक क्लोज मिति तोकेको छ । जसअनुसार फागुन २१ गतेसम्म नेप्सेमा कारेबार भई कायम हुन आउने सेयरधनीहरुले मात्रै साधारणसभामा भाग लिन सक्नेछन् ।

नोपाल लाइफले अघिल्लो आवको मुनाफाबाट लागानीकर्ताका लागि १४.७३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीमध्ये गुराँस लाइफ, यूनियन लाइफ र सानिमा लाइफले अघिल्लो आवको मुनाफाबाट लगानीकर्ताका लागि लभांश प्रस्ताव गर्न बाँकी छ ।

प्रभु लाइफले भने लाभांशबिना नै चैत ६ गते चौंथो साधारण सभा बोलाएको छ ।


क्लिकमान्डु