करिब चार सय बीमा सर्भेयरले गरे लाइसेन्स नवीकरण, कुन वर्गमा कति ?



काठमाडौं । बीमा समितिबाट बीमा सर्भेयरको इजाजतपत्र लिएका करिब चार सय सर्भेयरले आफ्नो लाइसेन्स नवीकरण गरेका छन् ।

समितिका अनुसार ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गका गरी ३८५ जना बीमा सर्भेयरले लाइसेन्स नवीकरण गरेका हुन् ।

समितिले बीमा सर्भेयरहरुलाई कार्य अनुभवका आधारमा ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गीकरण गरेको छ । ससितिका अनुसार धेरै अनुभव भएकाहरुलाई ‘क’ त्यसपछि कम अनुभव भएकालाई क्रमश ‘ख’ ‘ग’ वर्गमा र नयाँलाई ‘घ’ वर्गमा राख्ने गरेको छ ।

समितिका तथ्यांक अनुसार चालु आर्थिक वर्षका लागि ‘क’ वर्गमा ४६ जना सर्भेयरले लाइसेन्स नवीकरण गरेका छन् । यस्तै ‘ख’ वर्गमा ५४ जना, ‘ग’ वर्गमा ९५ जना र ‘घ’ वर्गमा १९० जना गरी कुल ३८५ जना सर्भेयरले लाइसेन्स नवीकरण गरेका हुन् ।

संस्थागत र व्यक्तिगत सर्भेयर गरी सो बराबरको लाइसेन्स नवीकरण भएको समितले जानकारी दिएको छ । समितिले २०७८ सालको नयाँ सर्भेयरको दर्ता विवरण भने तयार हुँदै गरेको जनाएको छ । समितिले गत भदौमा करिब पाँच वर्षपछि सर्भेयरहरुको लागि तालिम सञ्चालन गरेको थियो ।

समितिबाट सर्भेयरको इजाजतपत्र पाएका सर्भेयरले प्रत्येक बर्ष आफनो लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

बीमा गरिएको सम्पत्तिको क्षति भएमा सम्बन्धित बीमा कम्पनीले बीमितलाई क्षतिपूर्ति प्रदान गर्नुपर्दछ । उक्त क्षतिको मूल्यांकन गर्न सक्ने व्यक्ति तथा संस्थालाई नै सर्भेयर हो । सर्भेयरले पेश गरेको प्रतिवेदनको आधारमा बीमा कम्पनीहरुले बीमितलाई दाबी वापतको रकम भुक्तानी गर्दछ ।

बीमा सर्भेयर बन्नका लागि चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियर, बीमा कम्पनीका अधिकृतस्तरमा कम्तीमा १० वर्षभन्दाबढी समय काम गरेको वा बीमा सम्बन्धी विशेष अध्ययन गरेको हुनुपर्दछ । त्यस्ता व्यक्ति मात्रै बीमा समीतिले सञ्चालन गर्ने सर्भेयरको तालिम लिएर लाइसेन्स लिन सकिन्छ ।


क्लिकमान्डु