५० अर्ब होइन १ खर्बै दिए नि लिन्छौं, तर सम्मान चाहिन्छः झलनाथ खनाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकाले सम्मानपूर्वक दिए १ खर्ब रुपैयाँ पनि लिन सकिने बताएका छन् । आइतबार संसद बैठकमा बोल्दै खनालले सम्मानरहित अनुदान १ रुपैयाँ पनि नलिने बताए ।

पूवप्रधानमन्त्री समेत रहेका खनालले आफूहरु संसद अवरोधबीच एमसीसी जस्तो महत्वपूर्ण विषयमा छलफल गर्नु नै उचित नभएको बताए ।

‘एमसीसी शर्तै–शर्तले बेरिएको छ, सम्झौताका सबै दस्ताबेज सदनमा पेश गर्नुपर्छ,’ उनले भने ।

उनले एमसीसीसँग सम्बन्धित सबै दस्तावेज सदनले हेर्न पाउनु पर्ने बताए ।

‘सम्झौता कसरी भयो, कस्ता कस्ता चिठीपत्र आदानप्रदान भए सबै पत्र सदनले हेर्न पाउनु पर्छ,’ उनले भने, ‘अमेरिकाले दिएको सहयोग लिँदैनौं भनेका छैनौं । तर सहयोग समानताका साथ दिनुपर्छ ।’

देशभक्त नागरिक सडकमा चिन्ता व्यक्त गरिरहेका छन् । तर, प्रशासनले उनीहरु माथि लाठी बज्रिहेको छ उक्त दमनको आफूले निन्दा गर्ने बताए ।।

‘जनताले देशका लागि आवाज उठाएका छन् । तर सरकारले बल प्रयोग गरिरहेको छ । जनताको आवाजलाई सदनले सुन्नु पर्छ, ’ उनले भने, ‘एमसीसी सम्झौतासँग सम्बन्धित दस्ताबेज संसदमा नल्याई छलफल हुन सक्दैन् । त्यसपछि मात्रै सदनले निर्णय गर्न पाउनु पर्छ ।’


क्लिकमान्डु