जीवन बीमा कम्पनीलाई नवीकरण बीमाशुल्कको भर, नयाँ व्यवसाय ९%ले खुम्चियो



काठमाडौं । जीवन बीमा कम्पनीको व्यवसाय नवीकरण बीमाशुल्कमै भर परेको देखिएको छ । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीले नयाँ व्यवसायलाई भन्दा पनि नवीरकण व्यवसायलाई बढी जोड दिएका हुन् ।

जीवन बीमा कम्पनीहरुले पोलिसी बिक्री गरेको शुरुवातको किस्ता वापत प्राप्त हुने रकम प्रथम बीमाशुल्क हो । बीमा कम्पनीहरुले दोस्रो वा सोभन्दापछि संकलन गर्ने बीमाशुल्क नवीकरण बीमाशुल्क हो ।

जीवन बीमा कम्पनीहरुले नयाँ पोलिसी बिक्रिलाई भन्दा पनि नवीरकण बीमाशुल्कलाई प्राथमिकता दिएका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार कुल जीवन बीमा व्यवसायमा नवीकरण बीमाशुल्कको हिस्सा धेरै देखिएको हो ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्कबाट संकलन हुने रकम घटेको देखिएको छ । चालु आवको सात महिनाको अवधिमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीले ८१ अर्ब ३० करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

यस अवधिमा कम्पनीहरुले २३ अर्ब रुपैयाँको मात्रै नयाँ व्यवसाय गरेका छन् । चालु आर्थिक वर्षको साउन महिनादेखि माघ महिनासम्मको अवधिमा जीवन बीमा कम्पनीले २३ अर्ब ३ करोड २६ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका हुन् ।

जुन गत आवको यसै अवधिको तुलनामा ९.३२ प्रतिशतले कमी हो । गत आवको यसै अवधिमा कम्पनीहरुले २५ अर्ब ४० करोड रुपैयाँको नयाँ व्यवसाय गरेका थिए ।

जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्कमा प्रथम बीमाशुल्कको हिस्सा जम्मा २८.३३ प्रतिशत मात्रै हो ।

सात महिनामा जीवन बीमा कम्पनीले नविकरण बीमाशुल्कबाट ५८ अर्ब २६ लाख ९७ हजार रुपैयाँ संकलन गरेका छन् । कुल जीवन बीमा व्यवसायमा नवीकरण बीमाशुल्कको हिस्सा ७१.६७ प्रतिशत हुन आउँछ ।

गत आवको यसै अवधिमा जीवन बीमा कम्पनीले नवीकरण बीमाशुल्कबाट ४८ अर्ब ९० करोड रुपैयाँ संकलन गरेका थिए । गत आवमा कुल जीवन बीमा व्यवसायमा नविरकण बीमाशुल्कको हिस्सा ६५.५९ प्रतिशत थियो ।

सन नेपाल लाइफले सबैभन्दा धेरै बढाउँदा गुँरास लाइफको घट्यो
बीमा समितिबाट उपलब्ध तथ्यांक अनुसार गत आवको तुलनामा अधिकांश बीमा कम्पनीको प्रथम बीमाशुल्क संकलन रकम घटेको छ । अरु कम्पनीको प्रथम बीमाशुल्क संकलन रकम भने बढेको समितिको तथ्यांक छ ।

प्रथम बीमाशुल्क संकलन रकम धरै प्रतिशतले बढ्दा सबैभन्दा धेरै प्रतिशतले घट्ने कम्पनीमा गुराँस लाइफ परेको छ ।

चालु आवको माघ मसान्तसम्ममा सन नेपाल लाइफको प्रथम बीमाशुल्क संकलन रकम १६८.७३ प्रतिशतले बढेर एक अर्ब ४७ करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा सन नेपाल लाइफले प्रथम बीमाशुल्कबाट ५५ करोड रुपैयाँ संकलन गरेको थियो ।

चालु आवको दोस्रो त्रैमासम्मको अवधिमा नेपाल लाइफ, एलआइसी नेपाल, एशियन लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, यूनियन लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ र सानिमा लाइफको प्रथम बीमाशुल्क संकलन रकम घटेको हो ।

यस अवधिमा गुराँस लाइफको प्रथम बीमाशुल्क संकलन रकम धेरै प्रतिशतले घटेको छ । माघ महिनासम्मको अवधिमा इन्स्योरेन्सको प्रथम बीमाशुल्क संकलन रकम ६२.६० प्रतिशतले घटेर ४२ करोड ६३ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको यसै अवधिमा इन्स्योरेन्सले प्रथम बीमाशुल्कबाट एक अर्ब १४ करोड रुपैयाँ संकलन गरेको थियो ।

यस्तै, गुराँस लाइफपछि धेरै प्रतिशतले प्रथम बीमाशुल्क संकलन रकम घट्ने कम्पनीमा एलआइसी नेपाल परेको छ ।

एलआइसी नेपालको प्रथम बीमाशुल्क संकलनमा ३५.२४ प्रतिशतको गिरावट आएको छ । कम्पनीले यस अवधिसम्ममा प्रथम बीमाशुल्क संकलनबाट एक अर्ब ४८ करोड २९ लाख २२ हजार रुपैयाँ संकलन गरेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले प्रथम बीमाशुल्कबाट दुई अर्ब २९ करोड रुपैयाँ संकलन गरेको थियो ।

यस अवधिमा एशियन लाइफको प्रथम बीमाशुल्क संकलन रकम ११.६५ प्रतिशत, सूर्या लाइफको २६.७४ प्रतिशत, प्राइम लाइफको २९.९८ प्रतिशत, यूनियन लाइफको २७.०६ प्रतिशत, ज्योति लाइफको १४.२५ प्रतिशत, रिलायन्स लाइफको १५.८९ प्रतिशत र सानिमा लाइफको ९.४३ प्रतिशतले घटेको छ ।

यस्तै, नेपाल लाइफको प्रथम बीमाशुल्क संकलन रकम ३०.११ प्रतिशतले घटेर तीन अर्ब ८७ करोड २९ लाख २२ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको यसै अवधिमा इन्स्योरेन्सले प्रथम बीमाशुल्कबाट ५ अर्ब ५४ करोड रुपैयाँ संकलन गरेको थियो ।

सिटिजन लाइफको प्रथम बीमाशुल्क संकलनमा ७९.८८ प्रतिशतको वृद्धि देखिएको छ । यस अवधिसम्ममा सिटिजनको प्रथम बीमाशुल्कबाट एक अर्ब ६० करोड रुपैयाँ ९ लाख रुपैयाँ संकलन भएको छ । गत आवको यसै अवधिमा इन्स्योरेन्सले प्रथम बीमाशुल्कबाट ८९ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो ।

सिटिजन लाइफसँगै नयाँ जीवन बीमा कम्पनीतर्फ प्रभु लाइफ, महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ र आईएमई लाइफको प्रथम बीमाशुल्क संकलन बढेको छ ।

यस्तै, पूराना जीवन बीमा कम्पनीतर्फ भने नेशनल लाइफ, मेट लाइफ, राष्ट्रिय बीमा संस्थानको मात्रै प्रथम बीमाशुल्क रकम बढेको छ ।

सबैभन्दा धेरै प्रथम बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ
माघ महिनासम्ममा नेपाल लाइफले प्रथम बीमाशुल्कबाट सबैभन्दा धेरै रुपैयाँ संकलन गरेको छ । कम्पनीले तीन अर्ब ८७ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले माघ महिनासम्ममा भने २ अर्ब ५५ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले एक अर्ब ४८ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।


क्लिकमान्डु