करको दायरा बढाएपछि ३८ प्रतिशत बढी राजस्व सङ्कलन



वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले करको दर नभएर दायरा बढाएपछि त्यसको सकारात्मक प्रभाव देखिएको छ ।

कोरोना भाइरस सङ्क्रमणको नकारात्मक प्रभाव खेपिरहेका उद्योग व्यवसाय क्षेत्रलाई राहत दिने उद्देश्यले महानगरपालिकाले कर छुटको नीति ल्याएपछि राजस्व सङ्कलनमा सकारात्मक प्रभाव देखिएको हो ।

महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो सात महिनामा ३५ करोड ३३ लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.२६ प्रतिशत बढी हो । गत आर्तिक वर्षको पहिलो सात महिनामा महानगरपालिकाले २५ करोड ५५ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

महानगरपालिकाको नवौं नगरसभाबाट उद्योग, व्यापार, अस्पताल तथा सामाजिक कार्यमा संलग्न सङ्घ संस्थलाई सम्पत्ति करमा छुट दिने निर्णय गरेपछि यसमा ५ प्रतिशत र घरबहाल कर शीर्षकमा १३ प्रतिशत बढी राजस्व सङ्कलन भएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डले जानकारी दिए ।

उनका अनुसार सो अवधिमा सम्पत्ति कर शीर्षकमा १० करोड ५० लाख ९३ हजार रुपैयाँ र घर बहाल कर शीर्षकमा चार करोड १४ लाख
रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा सम्पत्ति कर शीर्षकमा १० करोड २१ हजार रुपैयाँ तथा घर बहाल कर शीर्षकमा तीन करोड ६८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

कोरोना सङ्क्रमणका कारण विभिन्न बाधा अड्चन खेप्दै आएका नगरवासीलाई चैत मसान्तसम्म सम्पत्ति कर र व्यवसाय कर बुझाए ५ प्रतिशत छुट दिनेजस्ता आर्कषक योजनाले महागरपालिकाको कर सङ्कलनमा सकारात्मक प्रभाव परेको बताइएको छ ।


क्लिकमान्डु