रुसले युद्धको घोषणा गरेपछि इन्धनको मूल्य १०० अमेरिकी डलर पुग्यो



एजेन्सी । रुस र युक्रेनबीच युद्धको घोषणा भएलगत्तै अन्तर्राष्ट्रिय बजारमा इन्धनको चर्को मूल्यवृद्धि भएको छ ।

समाचार विवरणहरुमा जनाइए अनुसार झण्डै ८ वर्षपछि इन्धनको मूल्य प्रतिव्यारेल १०० अमेरिकी डलर माथि पुगेको छ ।

सन् २०१४ मा यसैगरी इन्धनको मूल्य बढेर १०० अमेरिकी डलर माथि पुगेको थियो ।

रसिया संसारकै सबैभन्दा धेरै तेल निर्यात गर्ने देशहरुको सूचीमा दोस्रो स्थानमा छ । रसियाले विशेष गरी कच्चा तेल यूरोपेली प्रशोधन कम्पनीहरुलाई बिक्री गर्छ ।

अमेरिका र यूरोपेली यूनियन सम्वद्ध देशहरुले रसियाविरुद्ध नाकाबन्दी घोषणा गरेको र युक्रेनमा युद्ध शुरु भएपछि ब्रेन्ट क्रुड आयलको मूल्यमा उच्च अंकले वृद्धि भएको हो । रसियाले यूरोपेली देशहरुका ग्याँस समेत निर्यात गर्दै आएको छ । रसिया र अरु मुलुकबीच तनाव बढेपछि यूरोपेली देशहरुमा समेत ग्याँसको मूल्यमा वृद्धि भएको छ ।

रसियाले कूल मागको ३५ प्रतिशत प्राकृतिक ग्याँस निर्यात गर्छ । रसियाली राष्ट्रपति भ्ल्यादिमिर पुटिनले बिहिबार बिहानै युक्रेनमाथि सैन्य कारवाही गर्न निर्देशन दिएका थिए । उनको निर्देशन लगत्तै युक्रेनका पूर्वाधार तथा सीमा क्षेत्रमा मिसाइल हमला गरेका थिए ।

युक्रेनका पूर्वी दुई राज्यलाई रसियाले स्वतन्त्र देशको मान्यता दिएको छ । सोही मान्यता दिए लगत्तै रसियाली राष्ट्रपति पुटिनले सेना पठाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

रूसलाई कम कच्चा वा प्राकृतिक ग्यास आपूर्ति गर्न बाध्य पार्ने प्रतिबन्धहरूले तेलको मूल्य वृद्धि र विश्वव्यापी अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने समाचार विवरणमा उल्लेख छ ।

विश्वव्यापी रूपमा खपत हुने तेलमा रुसको योगदान छ । त्यसैले तेलको मूल्यको कुरा गर्दा यो एक प्रमुख खेलाडी हो । मूल्यवृद्धिले उपभोक्तालाई हानी पुर्याउने अवस्था सिर्जना भएको अनुसन्धानकर्ता नवनीत दमानीले बताए ।

अन्तर्राष्ट्रिय बजारबाट करिब ९० प्रतिशतभन्दा बढी नियन्त्रण गर्ने इन्डियन आयल कर्पोरेशन, भारत पेट्रोलियम कर्पोरेशन र हिन्दुस्तान पेट्रोलियम कर्पोरेशनले तीन महिनाभन्दा बढी समयदेखि पेट्रोल र डिजेलको मूल्य स्थिर राखेका थिए । नेपालले समेत इन्डियन आयल कर्पोरेशनबाटै इन्धन खरिद गर्ने गरेको छ ।

अमेरिका र इरान भियनामा अप्रत्यक्ष आणविक वार्तामा संलग्न छन् जसमा एक सम्झौताले इरानको तेल बिक्रीमा प्रतिबन्ध हटाउने र विश्वव्यापी आपूर्ति बढाउन सक्ने अनुमान गपरिएको छ । युक्रेन संकटका कारण सो वार्ता समेत फलदायी नहुने अवस्था सिर्जना भएको छ ।


क्लिकमान्डु