गाँजा तथा गाजाजन्य पदार्थ विधेयक तयार, सैद्दान्तिक सहमतिका लागि गृहले पठायो मन्त्रिपरिषद



काठमाडौं । सरकारले गाँजालाई औषधिमा प्रयोग गर्न दिनेगरी कानून निर्माणको तयारी थालेको छ । गृह मन्त्रालयले गाँजा तथा गाजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको हो ।

मन्त्रालयले विधेयक तयार पारेर फागुन १० गते मंगलबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रिस्तरीय निर्णय गरेर मन्त्रिपरिषदको सैद्दान्तिक सहमतिका लागि पठाएको मन्त्रालयको लागू औषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

उपाध्यायका अनुसार विधेयकमा गाँजाको उत्पादन, संकलन, बिक्री वितरण र निकासी कसरी गर्ने भन्ने विषयमा समेटिएको छ । त्यो विधेयक कानून निर्माण भएपछि तत्काल कार्यान्वयनमा ल्याउने तयारी गृहको छ ।

यो विधेयक कानून भएर आएपछि लागु औषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा लगाएको बन्देज खुल्नेछ ।

‘लागू औषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा लगाएको बन्देज यो विधेयक कानून भएर आएपछि खुल्छ,’ उपसचिव उपाध्यायले भने ।

मन्त्रालयले केही दिन अघिमात्रै सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनामा ‘गाँजाको औषधीय प्रयोगका लागि कार्यविधि तय गर्ने उल्लेख थियो । यो विधेयक कानून बनेर आएपछि त्यसैमा टेकेर कार्यविधि बनाउने तयारी मन्त्रालयको छ ।

काठमाडौं विश्वविद्यालयले गाँजाको अनुसन्धान गर्न र कैयन संघ संस्था तथा फर्महरूले गाँजाको खेती गर्न गृह प्रशासनसँग अनुमति मागिरहेका छन् ।


क्लिकमान्डु