बीमा कम्पनीका कर्मचारीलाई ५५ करोड बोनस, कुन कम्पनीको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा बीमा कम्पनीहरुले आफ्ना कर्मचारीका लागि ५५ करोड रुपैयाँ बोनस छुट्याएका छन् ।

कम्पनीहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका ३८ बीमा कम्पनीले बोनस ऐन अनुसार ५५ करोड ७ लाख ५१ हजार रुपैयाँ बोनस छुट्याएका हुन् ।

जसमध्ये १९ जीवन बीमा कम्पनीले २२ करोड ७९ लाख ४१ हजार रुपैयाँ र १९ वटा निर्जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ३२ करोड २८ लाख १० हजार रुपैयाँ बोनस छुट्याएका छन् ।

आर्थिक वर्ष सकिएपछि कम्पनीहरुले साधारणसभा सम्पन्न गरी कर्मचारीलाई छुट्याएको बोनस वितरण गर्ने गर्छन् । तर, कम्पनीहरुले त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा नै कर्मचारीलाई पनि खुद नाफाको १० प्रतिशत बढी बोनस छुट्याएर प्रकाशन गर्छन् ।

बोनस ऐन २०३० मा कुनै पनि प्रतिष्ठानले कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसको प्रतिशत खुद मुनाफाको १० प्रतिशत हुनुपर्ने उल्लेख छ । सोही व्यवस्था बमोजिम बीमा कम्पनीहरुले कर्मचारी बोनस व्यवस्था वापत सो रकम छुट्टयाएका हुन् ।

जीवन बीमा कम्पनीका ६ हजार कर्मचारीलाई २२ करोड बोनस
चालु आवको दोस्रो त्रैमासको अवधिमा १९ जीवन बीमा कम्पनीले कर्मचारीलाई २२ करोड ७९ लाख रुपैयाँ बोनस छुट्याएका छन् । बीमा समितिले उपलब्ध गराएको पुसमसान्तसम्मको तथ्यांक अनुसार जीवन बीमा कम्पनीका २ हजार २६९ शाखा कार्यालयमा ६ हजार १६० जना कर्मचारी कार्यरत छन् ।

निर्जीवन बीमा कम्पनीका कर्मचारीलाई ३२ करोड २८ लाख
चालु आवको दोस्रो त्रैमासको अवधिमा १९ निर्जीवन बीमा कम्पनीले कर्मचारीलाई ३२ करोड २८ लाख १० हजार रुपैयाँ बोनस छुट्याएका छन् । तर यहाँ नेशनल इन्स्योरेन्सको बोनस भने समावेश छैन् । नेशनल इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक नगरेका कारण तथ्यांक समावेश नगरिएको हो ।

धेरै बोनस दिनेमा जीवनतर्फ नेपाल लाइफ, निर्जीवनतर्फ शिखर
जीवन बीमा कम्पनीतर्फ कर्मचारीलाई सबैभन्दा धेरै बोनस नेपाल लाइफले दिएको छ । नेपाल लाइफले यस अवधिमा २ करोड २० लाख ६७ हजार रुपैयाँ बोनस दिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५९.१७ प्रतिशते घटेको हो ।

गत आवको सोही अवधिमा कम्पनीले कर्मचारीलाई ५ करोड ४० लाख ४७ हजार रुपैयाँ बोनस दिएको थियो । नेपाल लाइफपछि जीवन बीमातर्फ प्राइम लाइफ इन्स्योरेन्सले कर्मचारीका लागि एक करोड ९३ लाख रुपैयाँ बोनस छुट्ट्याएको छ ।

यता, १९ निर्जीवन बीमा कम्पनीमध्ये कर्मचारीलाई सबैभन्दा धेरै बोनस निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले कर्मचारी बोनस वापत ३ करोड ५७ लाख १५ हजार रुपैयाँ बोनस छुट्टयाएको छ ।

शिखरपछि सगरमाथा इन्स्योरेन्सले कर्मचारीलाई वितरण गरेको रकम अन्य कम्पनीको भन्दा धेरै छ । सगरमाथाले यस अवधिमा २ करोड ८२ लाख रुपैयाँ बोनस वितरण गरेको छ ।

१० जीवन बीमा कम्पनीको कर्मचारी बोनस घट्यो
तथ्यांक अनुसार चालु आवको दोस्रो त्रैमासको अवधिमा १० जीवन बीमा कम्पनीको कर्मचारी बोनस घटेको छ । १० जीवन बीमा कम्पनीको कर्मचारी बोनस घट्दा बीमा कम्पनीका कर्मचारीले पाउने बोनस नै औषतमा १८.८ प्रतिशतले घटेको छ ।

यस अवधिमा सूर्या लाइफ, एलआइसी नेपाल, नेशनल लाइफ, प्रभु लाइफ, सानिमा लाइफ, राष्ट्रिय बीमा संस्थान, मेट लाइफ, नेपाल लाइफ, एशियन लाइफ, गुराँस लाइफ, प्राइम लाइफका कर्मचरीले पाउने बोनस घटेको हो ।


क्लिकमान्डु