माओवादी र नेकपा एसका नेताका छोराछोरी अमेरिकामा, जनताका छोराछोरी एमसीसीविरुद्ध सडकमा



काठमाडौं । राजनीतिक अभिष्ट पूरा गर्नका लागि राजनीतिक दलका नेताहरु कतिसम्म दोहोरो चरित्र निर्वाह गर्न सक्छन् भन्ने उदाहरण हेर्न पछिल्लो समयको एमसीसी विवाद हेरे पुग्छ ।

कुनै समय सशस्त्र द्वन्द्वका नाममा जंगल पसेको माओवादी र माओवादीका विरुद्धमा लडेका भनिएका माधव कुमार नेपाल र उनको पार्टी यतिबेला सडक र सरकारमा दुबैमा बखेडा झिकेर हलो अड्काउने काममा व्यस्त छन् ।

उनीहरु आफू सरकारका तर्फबाट संसदमा एमसीसी प्रस्ताव टेबुल गराउँछन् र सोझा युवाको ‘ब्रेन वास’ गरेर ढुंगा बोकाएर सडकमा उतारिरहेका छन् । तर उनीहरुले आफ्ना सन्तानलाई भने सडकमा उतारेको भने देखिँदैन ।

यतिसम्मकी नेकपामै रहँदा केपी ओलीले आफूहरुलाई हेपाहा प्रवृति देखाएको र आफूहरु अन्यायमा परेको भन्दै छातीमा ‘हामी यहाँ छौं’ लेखिएका कागज टाँसेर सडकमा अनसन बस्ने नेताहरु अहिले सडकमा देखिएका छैनन् ।

बरु उल्टै युवाहरुको जमातलाई झोलामा ढुंगा बोकाएर सार्वजनिक सम्पत्ति तोडफोड गर्न उक्साइरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त एमसीसीलाई ‘अब छिट्टै पास गर्छौ’ भन्दै पत्र लेख्ने र यता जनतालाई एमसीसीका विषयमा अनेकन भ्रम फैलाएर भोट बढाउने गलत नियतका साथ लागेको प्रष्टै देखिन्छ ।

सर्वसाधारण जनतालाई सडकमा अमेरिका विरुद्ध उतारेर आफ्ना सन्तानलाई कतिपयले अमेरिका र अष्ट्रेलियामा पढाइरहेका छन् भने कतिपयले सन्तानलाई ठेक्कापट्टा लगाएर अर्थोपार्जन पनि राम्रै गरिरहेका देखिन्छ ।

हाल अर्थमन्त्रीमा माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मा छन् । उनी सशस्त्र द्वन्द्वका समयमा लडाकुका कमाण्डर पनि हुन् । अर्थमन्त्रीका रुपमा पुँजीगत खर्च गर्न नसकेको भन्दै उनको चर्को आलोचना भइरहेको छ । तर कुनै समय उर्जामन्त्री समेत रहेका अर्थमन्त्री शर्मालाई एमसीसीको महत्व कति छ भन्ने थाहा नभएको होइन । उनैले कार्यकारी निर्देशक बनाएका विद्युत् प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङ एमसीसीको बोर्ड सदस्य छन् तर उनी पनि एमसीसीका विषयमा चुइक्कसम्म बोल्दैनन् ।

तर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि युवा शक्तिको गलत तरिकाले भरपूर उपयोग भने गरिरहेकै छन् ।

अर्थमन्त्री शर्माकै कुरा गरौं, उनका दुई सन्तान अहिले विदेशमा छन् । छोरा प्रकाश शर्मा र छोरी कविता शर्मा अमेरिकामै बस्छन् । शर्माले छोरीको विवाह नै अमेरिकाबाटै धुमधामसँगै गरे ।

यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नातीलाई महंगो मानिने युलेन्स स्कुलमा मासिक लाखौं खर्चेर पढाइरहेकै छन् । स्कुलमा फि मात्रै ५० हजार रुपैयाँ छ ।

माओवादीका अर्को सर्वाहाराका नेता देवेन्द्र पौडेलले छोरी गरिमा अमेरिकामै बस्छिन । केहीसमयअघि आफू र पत्नीसँगै अमेरिकामा छोरीको दिक्षान्तमै भाग लिन पुगेका थिए । माओवादी केन्द्रका नेताहरु पूर्वमन्त्री शक्ति बस्नेत र सत्या पहाडीकी छोरी पनि अमेरिकामै बस्छिन् ।

अमेरिका जानु, त्यहाँका कलेज र विश्वविद्यालयमा पढ्नु नराम्रो होइन । राम्रो हो । तर जनताका छोराछोरीलाई ढुंगा बोकाएर अमेरिकाविरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड गर्न लगाउनेहरु नै अमेरिकामै छोराछोरीको भविष्य उज्जल देख्नु कतिसम्मको दोहोरो चरित्र होला ? त्यो आफैमा विश्लेष्ण जरुरी छ ।

उसो त पछिल्लो समय पार्टी फुटाएका माधव कुमार नेपाल र झलनाथ खनालले पनि सन्तानलाई राम्रै ठाउँमा लगेर करिअर बनाइदिसकेका छन् । झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनाल ठेकेदार हुन् । ठेक्कापट्टा लिएर भैरहवास्थित विमानस्थलको काम समयमै नगर्ने उनैका छोरा हुन् ।

माधवकुमार नेपालका छोरा सौरभ नेपाल इलेक्ट्रिोनिक्स इन्जिनियर हुन् । उनी हाल अष्ट्रेलियामा बस्छन् । पूर्वप्रधानमन्त्री समेत रहेका आफ्ना पिता माधवकुमार नेपालले बनाउँदै गरेको नयाँ नेपालमा सौरभलाई समेत विश्वास नलागी अष्ट्रेलियामा राम्रो करिअर देखिसकेका छन् ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाकी छोरी हुन् श्रृखला खतिवडा । पूर्वमिस नेपाल खतिवडा अमेरिका अध्ययनको लागि गएकी छन् । कुनैबेला कम्युनिष्टहरु मिस नेपालको चर्को विरोध उत्रने गरेका थिए । कम्युनिष्ट नेताकी छोरी मिस नेपाल बनेर मिस वल्र्डमा भाग लिनजादा कम्युनिष्ट नेताहरुले खतिवडालाई जिताउन फेसबुकमा त्यो बेला पोस्ट गरेका थिए । खतिवडाको दल एकीकृत समाजवादी सरकारमा भएपनि एमसीसीको विरोधमा छ ।

त्यसैगरी पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा चरित्रमा पटक–पटक दाग लागेका व्यक्ति हुन् । कहिले चिनियाँसँग ५० करोड मागेको अडियो प्रकरण त कहिले सेक्स स्क्यान्डलमा परेर सभामुख पद समेत गुमाएका उनी पनि एमसीसीको चर्को विरोधमा उत्रिएका छन् ।

यतिसम्म कि २०७४ साल जेठ १८ गते एमसीसी सम्झौताका लागि द्विपक्षीय वार्ता टोली गठन हुँदा महरा अर्थमन्त्री थिए भने प्रचण्ड प्रधानमन्त्री थिए ।

के हो एमसीसी ?

एमसीसी प्रोजेक्ट अन्तर्गत दुई क्षेत्रमा पूर्वाधार निर्माण हुनेछ । जसमा विद्युतीय प्रसारण लाइन र सडक स्तरोन्नती छन् ।

काठमाडौंको उत्तरपूर्वमा अवस्थित लप्सीफेदीदेखि काठमाडौं पश्चिमा रहेको नुवजाकोटको रातमाटेसम्मको खण्ड, रातमाटेदेखि हेटौँडासम्मको खण्ड, रातमाटेदेखि दमौलीसम्मको खण्ड, दमौलीदेखि बुटवलसम्मको खण्ड र बुटवलदेखि भारतको सीमानासम्मको खण्डमा ४०० केभी क्षमताको प्रसारण लाइन तथा रातमाटे, दमौली र बुटवलमा तीन वटा सव–स्टेसन निर्माण हुनेछ ।

एमसीसीबाट प्राप्त हुने अनुदानमध्ये ३१२ किलोमिटर प्रसारण लाइन र सवस्टेसन निर्माणका लागि करिब ४० करोड डलर खर्च गरिनेछ ।
त्यसैगरी सडकतर्फ पूर्व–पश्चिम राजमार्गको कपिलवस्तु जिल्लाको चन्द्रौटादेखि लमही हुँदै बाँके र दाङ जिल्लामा पर्ने शिवखोलासम्मको कुल एक सय किलोमिटर सकडको स्तरोन्नती गरिनेछ । जसमा एमसीसीबाट प्राप्त हुने ५.२ करोड डलर खर्च हुनेछ ।

त्यसैगरी बुटवल–गोरखुर अन्तरदेशिय प्रसारणलाइनको नेपाल–भारत सीमासम्मको करिब २२ किलोमिटर प्रसारण लाइन निर्माणका लागि सहायता उपयोग गरिनेछ ।


क्लिकमान्डु