ग्रीनलाइनका सञ्चालक अग्रवाल बैंकिङ कसुरमा पक्राउ



काठमाडौं । मदिरा कारोबारी अमित अग्रवाल बैंकिङ कसुरमा पक्राउ परेका छन् । महानगरिय प्रहरी आयुक्त कार्यालयका एआइजी हरिबहादुर पालका अनुसार शनिबार अग्रवाललाई पक्राउ गरिएको र ४ दिन म्याद थप भइ अनुसन्धान भइरहेको बताए ।

हाल अग्रवाललाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

बैंकको ऋण तिर्न नसकेपछि परिवारसहित भारत भागेका अग्रवालले करिब २ साता अघि नेपाल आएर पत्रकार सम्मेलन नै गरेका थिए ।

तत्कालीन समयमा उनले बैंक तथा अन्य साथीहरुको ऋण लिएको स्वीकार गर्दै केही समयमै आफूले ऋण चुक्ता गर्ने समेत घोषणा गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरिका अनुसार टंक शमशेर जबरा र सञ्जय अधिकारीले करिब ६ महिनाअघि नै अग्रवालविरुद्ध उजुरी दिएका थिए ।

‘उजुरी ६ महिना अघि नै परेको थियो, यसबीच अग्रवाल भारततर्फ गएको र अहिले आएपछि पक्राउ गरिएको हो,’ उनले भने ।

उनका अनुसार अग्रवालले जबरालाई करिब डेढ करोड रुपैयाँ र अधिकारीलाई दिएको ५० लाख रुपैयाँको चेक बाउन्स भएको थियो । त्यसपछि अग्रवालविरुद्ध उजुरी दर्ता गरिएको थियो ।

काठमाडौंको दरबारमार्गमा २२ वर्षदेखि ग्रीनलाइन सेन्टरका नाममा महंगा रक्सी बिक्री गर्दै आएका अग्रवाल परिवार पछिल्लो समय मिटरब्याजीको चंगुलमा फसेको थियो । अग्रवाललाई मिटरब्याजीहरुको उजुरीपछि गत शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

अग्रवाल परिवारले बैंक तथा मिटरब्याजीहरुसँग ऋण लिएका थिए । तर कोरोना महामारीका कारण आम्दानी खुम्चिएको र बजारबाट पनि पैसा नउठेपछि ऋण तिर्न नसकेको भन्दै उनीसहित उनको परिवार भारत भागेको थियो ।


क्लिकमान्डु