नयाँ निर्जीवन बीमा कम्पनीले अझै दिन सकेनन् लगानीकर्तालाई प्रतिफल



काठमाडौं । हाल नेपालमा २० वटा कम्पनीले निर्जीवन बीमा व्यवसाय गर्दै आएका छन् । तीमध्ये सानिमा जनरल, जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्स निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुमध्ये नयाँ कम्पनी हुन् ।

निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्नका लागि बीमा समितिले एकैपटक यी तीन कम्पनीलाई सैद्दान्तिक सहमति दिएको थियो । तीन वटै कम्पनीहरुले २०७५ देखि व्यवसाय आरम्भ गरेका हुन् ।

यी तीन वटै कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर(आइपीओ)जारी गरिसकेका छन् ।

अजोड इन्स्योरेन्सले २०७७ असार २५ गते सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरेको थियो । सानिमा जनरल इन्स्योरेन्सले २०७७ असोज ६ गते र जनरल इन्स्योरेन्सले २०७७ असार ११ गते सर्वसाधारणका लागि आइपीओ जारी गरेका हुन् ।

अजोड इन्स्योरेन्सको आइपीओ २०७७ साउन १२, सानिमा जनरलको कात्तिक १८ गते र जनरल इन्स्योरेन्सको असोज २६ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको थियो । कम्पनीहरुले लगानीकर्ताका लागि भने कुनै पनि प्रतिफल दिन सकेका छैनन् ।

अजोड इन्स्योरेन्सले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्तावसहित तेस्रो वार्षिक साधारण सभा बोलाएको थियो । हकप्रद निष्कासनको सूचना आउनुअघि नै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर कारोबार भएको थियो ।

हकप्रदको सूचना सार्वजनिक हुनुअघि अस्भाविक रुपले कम्पनीको सेयरमूल्य बढेपछि अजोडको हकप्रद निष्काशन गर्ने एजेन्डा विवादिद बनेको थियो । अजोडलाई बीमा समितिले हकप्रद निष्काशन गर्ने एजेन्डा स्थगन गर्न निर्देशन दिएको थियो ।

समितिले हकप्रदको एजेण्डा स्थगन गर्न निर्देशन दिएपछि अजोडले हकप्रदको एजेण्डा हटाएको थियो । अजोड इन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ ।

अजोड इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा फागुन ६ गते(आज)सम्पन्न भएको हो । तेस्रो वार्षिक साधारणसभामा हकप्रदको एजेण्डा हटाएको अजोडले चौथो वार्षिक साधारण सभा लाभांश विना नै सम्पन्न गरेको हो ।

सानिमा जनरल इन्स्योरेन्सले पनि चौथो वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ ।

सानिमा जनरल इन्स्योरेन्सले भने पुस ३० गते चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको हो । कम्पनीले पनि लगानीकर्ताका लागि कुनै पनि प्रतिफल घोषणा नगरी चौथो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

जनरल इन्स्योरेन्सले भने तेस्रो वार्षिक साधारण सभा मात्रै सम्पन्न गरेको छ । असार २१ गते तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको जनरल इन्स्योरेन्सले चौथो वार्षिक साधारण सभाको मिति तोकेको छैन ।

अजोड इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

म्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आवको दोस्रो त्रैमासको अवधिमा सबै कम्पनीको अधिकांश सूचक बढेको छ । कम्पनीहरुको खुद बीमाशुल्क संकलन, खुद नाफा, जगेडा कोष लगाएतका सबै सूचकमा वृद्धि देखिएको छ ।

५१ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन
चालु आवको दोस्रो त्रैमासको अवधिमा अजोड, सानिमा जनरल र जनरल इनस्योरेन्सले ५१ करोड ९ लाख २० हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा अजोड इन्स्योरेन्सले २२ करोड ७७ लाख खुद बीमाशुल्क संकलन गरेको छ ।

जनरल इन्स्योरेन्सले १३ करोड ५० लाख ७ हजार रुपैयाँ खुद बीमाशुल्क संकन गरेको छ । यस्तै, सानिमा जनरल इन्स्योरेन्सले १४ करोड ८१ लाख ७७ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

खुद नाफा ५१ प्रतिशतले बढ्यो
चालु आवको पुस मसान्ससम्मको अवधिमा तीन नयाँ निर्जीवन बीमा कम्पनीहरुले १६ करोड १३ लाख तीन हजार रुपैयाँ खुद नाफा कमाएका छन् । कम्पनीहरुले गत आवको यसै अवधिको तुलनामा खुद नाफा ५१.०५ प्रतिशतले बढाएका हुन् ।

गत आवको यसै अवधिमा कम्पनीहरुले १० करोड ६७ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

गत आवको तुलनामा सानिमा जनरल इन्स्योरेन्सको खुद नाफामा ९५.६५ प्रतिशतको वृद्धि देखिएको छ । जनरल इन्स्योरेन्सले ५ करोड ८० लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले दुई करोड ९६ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आवको तुलनामा जनरल इन्स्योरेन्सले खुद नाफा ५६.२० प्रतिशतले बढाएको छ । इन्स्योरेन्सले यस अवधिमा ५ करोड ६८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवमा कम्पनीले तीन करोड ६५ लाख १९ हजार रुपैयाँ नाफा कमाएको थियो । दोस्रो त्रैमासको अवधिसम्ममा अजोड इन्स्योरेन्सले ४ करोड ६३ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा १३.९१ प्रतिशतले बढेको हो ।
गत आवमा कम्पनीले ४ करोड ६ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यी तीन वटै निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ छ ।

जगेडा कोषमा जनरल इन्स्योरेन्स अघि
जगेडा कोषमा जनरल इन्स्योरेन्स कम्पनी अघि । दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको जगेडा कोषमा १३ करोड ३ लाख ५७ हजार रुपैयाँ सञ्चित छ ।

जनरलपछि अजोड इन्स्योरेन्सको जगेडका कोषमा ११ करोड ८० लाख २३ हजार रुपैयाँ सञ्चित छ । भने सानिमा जनरलको जगेडा कोषमा ११ करोड १८ लाख ४ हजार रुपैयाँ सञ्चित छ ।

बीमा कोषको आकार सबैको बढ्यो, अजोड इन्स्योरेन्स अब्बल
चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणलाई हेर्दा नयाँ निर्जीवन बीमा कम्पनीमध्ये बीमा कोषमा अजोड इन्स्योरेन्स कम्पनी अब्बल देखिएको छ । अजोड इन्स्योरेन्सको बीमा कोषमा १३ करोड ५३ लाख २५ हजार रुपैयाँ सञ्चित छ ।

जनरल इन्स्योरेन्सको बीमा कोषमा १४ करोड ९२ लाख ४८ हजार रुपैयाँ छ । त्यस्तै, सानिमा जनरल इन्स्योरेन्सको बीमा कोषमा १२ करोड १८ लाख १५ हजार रुपैयाँ रुपैयाँ सञ्चित छ ।

प्रतिसेयर आम्दानीमा सानिमा जनरल अघि
पुस मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी सानिमा जनरल इन्स्योरेन्सको रहेको छ । सानिमा जनरल इन्स्योरेन्सको ११ रुपैयाँ ६२ प्रतिसेयर आम्दानी छ । जनरल इन्स्योरेन्सले ११ रुपैयाँ ३८ पैसा छ भने अजोड इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २६ पैसा छ ।


क्लिकमान्डु