सेयर बजारलाई सानो धक्काले पनि अस्थिर बनायो, अब त्यस्तो हुँदैनः अध्यक्ष



काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले सेयर बजारमा संस्थागत तथा उपकरणगत विविधता नभएका कारण सानो धक्काले पनि अस्थिर र उत्तारचढाब बनाउने गरेको दाबी गरेका छन् ।

उनले बजारलाई रिजिलियण्ट बनाउन आफू लागि पर्ने बताउँदै यस कार्यमा सबैको साथ, सहयोग र समन्वय रहने विश्वास व्यक्त गरे । धितोपत्र बजार सर्वसाधारणको जीवनसँग जोडिएको हुनाले साना लगानीकर्ताको सुरक्षालाई विशेष प्राथमिकता दिने बताए ।

नवनियुक्त अध्यक्ष हमालले बोर्डका उच्च पदस्थ कर्मचारी सहित सम्पूर्ण कर्मचारीहरुले स्वागत गरेका छन् । पदवहालीसँगै अध्यक्ष हमालले बोर्डको संस्थागत क्षमता अभिवृद्धि आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए ।

उनले कर्मचारीको मनोबल उच्च राख्ने र बोर्ड भवनको उचित व्यवस्थापनका साथै सूचना प्रविधिको विकासका लागि ठोस कार्य गर्ने योजना रहेको बताए । हमालले साझा लक्ष्य हासिल गर्न सम्पूर्ण कर्मचारीहरू बिना पूर्वाग्राह एक ढिक्का भै लाग्नुपर्ने आवश्यकता रहेको समेत औल्याए ।

मन्तव्यको क्रममा हमालले धितोपत्र बजार नेपाली समाजको एक महत्वपूर्ण हिस्सा भएको बताउँदै बजारको विकास, विस्तार र स्थायित्व गर्ने ठूलो जिम्मेवारी बोर्डको काँधमा रहेको स्मरण गराए । उनले सम्पूर्ण कर्मचारीहरुलाई उच्च मनोबलका साथ जिम्मेवारीपूर्वक कार्य गरी संस्थाको गरिमा अभिवृद्धि गर्न निर्देशन दिए ।


क्लिकमान्डु