बन्दीपुरमै पहिलो पटक ‘बन्दीपुर हिल्स रेसिडेन्स’ बन्दै, सुरुवाती मूल्य १ करोड ३० लाख



काठमाडौं । पर्यटकीय गन्तव्य तनहुँको बन्दीपुरमा पहिलो पटक  लक्जरियस हाउजिङ बन्ने भएको छ ।

नेपाली  घर प्रालिलेले बन्दीपुर–२ सन्तहालेमा पहिलो पटक ‘बन्दीपुर हिल्स  रेसिडेन्स’ बनाउने भएको हो ।

बन्दीपुर एक  पर्यटकीय गन्तव्यको रूपमा निकै चर्चित छ । तर, सो क्षेत्रमा हालसम्म कुनै पनि हाउजिङ तथा अपार्टमेन्ट निर्माण हुन सकेको छैन । नेपाली घर प्रालीले पर्यटकीय क्षेत्रमा आवाससँगै होम स्टे मोडालिटीमा हाउजिङ निर्माण गर्ने भएको कम्पनीका सञ्चालक आसुतोष प्रधानले बताए । 

उनका अनुसार कम्पनीले बन्दीपुरमा नयाँ तरिकाबाट सेवा प्रदान गर्ने हेतुले सो क्षेत्रमा हाउजिङ परियोजना ल्याएको हो । ‘कम्पनीले रेसिडेन्सको रूपमा निर्माण गर्न थालिएको हो,’ उनले क्लिकमाण्डूसँग भने, ‘पर्यटकीय क्षेत्र भएकाले सो घरहरू होम स्टेको लागि पनि प्रयोग गर्न सक्नेछन् ।’

कम्पनीले  ७ रोपनी क्षेत्रफलमा लक्जरियस १० वटा हाउजिङ बनाउने भएको छ । सो सम्पूर्ण घर ५ वटा कोठाको बन्ने भएकाले ५५ वटा कोठाको घर बनाउने तयारी गरेको उनले जानकारी दिए ।  

कम्पनीले सम्पूर्ण घर निर्माण गर्दा करिब १८ करोड खर्च हुने अनुमान गरेको छ । ‘घरधनीले २ वटा  कोठा प्रयोग गरेर अन्य ३ वटा कोठा भाडामासमेत दिन सक्नेछन् । जसले गर्दा आम्दानीको श्रोत बन्नेछ,’ उनले भने । 

कम्पनीले उक्त हाउजिङ ४ आना ३ पैसादेखि साढे १० आनासम्ममा दुई प्रकारका घरहरू निर्माण गर्नेछन् । सो घरहरू साढे दुईतल्लाको निर्माण हुनेछ । जसमा एक प्रकारको घर २४ सयदेखि २५ सय वर्गफिटमा बन्नेछ भने अर्को प्रकारको ३ हजारदेखि ३१ स्क्वायरफिटको बन्नेछ । 

नेपाली मौलिकता झल्किने तरिकाले घर निर्माण गर्ने भएको उनको भनाइ छ । कम्पनीले उक्त हाउजिङमा आधुनिक तथा पुरानो मौलिक शैली अपनाएर घर निर्माण गर्ने भएको हो ।

कम्पनीका अनुसार सो निर्माण हुने घरमा अन्य हाउजिङमा जस्तै सेवा सुविधाहरू उपलब्ध हुनेछ ।  १० वटा हाउजिङ मध्ये हालसम्ममा ५ वटा बिक्री भइसकेको छ । ‘रकम लिइसकेको अवस्था छैन,’ उनले भने, ‘सम्पूर्ण बुकिङ भइसकेपछि बन्दीपुर घुमाएर मात्रै रकम लिने योजना बनाएको छ ।’

हाल उक्त हाउजिङ निर्माणका लागि आवश्यक जग्गाको मिलाउने  र कित्ताकाटको काम भइरहेको कम्पनीले जनाएको  छ । साथै, अन्य काम पनि सुरु भइसकेपछि निर्माण कार्य अगाडि बढाउनेछ ।कम्पनीले एकै पटक सम्पूर्ण घरहरू निर्माण गरी २०८० को वैशाख १ गतेसम्ममा घरधनीलाई  हस्तान्तरण गर्ने लक्ष्य लिएको छ ।

कम्पनीले हाल सुरुवाती मूल्य १ करोड ३० लाख रुपैयाँ तोकेको छ । आधुनिक तथा पुरानो शैलीमा बन्ने उक्त घरहरूको मूल्य क्षेत्रफलको आधारमा तोकेको उनको भनाइ छ । कम्पनीले ४ आना ३ पैसामा बन्ने घरको मूल्य १ करोड ३० लाख तोकेको छ भने सोभन्दा बढी क्षेत्रफलमा बन्ने घरहरूको सोहीअनुसार मूल्य कायम हुनेछ ।

जसमा कम्पनीले अधिकतम मूल्य १ करोड ८० लाख रुपैयाँ तोकेको छ । सम्पूर्ण घरहरू बन्दीपुरमा रहेको घरहरूको मोडालिटीमा बन्नेछ । त्यसमा ग्राहकले भित्री भाग मात्रै इच्छाएको अनुसार बनाउन मिल्ने कम्पनीको भनाइ छ ।

यस्तो हुनेछ सुविधा 

कम्पनीले आफू बस्ने मात्रै नभएर आम्दानी गर्न सक्ने थलो बनाउन सक्नेछन् । कम्पनीले ५ वटा बेड रुमसहित अन्य भान्सा कोठा, पूजा कोठालगायत टेरेसको पनि व्यवस्था रहेको छ । कतिपय मानिसलाई सहरभन्दा केही समयका लागि टाढा गएर बस्ने प्रचलनको विकास हुँदै गएको छ ।

त्यसैले, बन्दीपुर पर्यटकीय गन्तव्य र शान्त भएकाले केही समयका लागि बस्न चाहने पर्यटकहरूलाई लक्षित गरेर सो हाउजिङ निर्माण गरिएको हो । सो घरमा अट्याच्ड बाथरुमसहितका ५ वटा बेडरुम हुने कम्पनीको भनाइ छ ।

साथै,  मोडुलर किचनसहित डाइनिङ रुम, एउटा स्टोर र एउटा पूजा रुमको व्यवस्था हुनेछ । साथै, एउटा व्यक्तिगत कम्पाउन्ड, पानी ट्याङ्कको पनि सुविधा हुनेछ । कम्पनीले निर्माण गर्न लागिएको हाउजिङमा विभिन्न सेवा सुविधा दिने योजना बनाएको छ । कम्पनीले अन्य हाउजिङमा हुने सेवासुसविधा जस्तै यस हाउजिङमा पनि सो सेवा सुविधा हुने जनाएको छ ।

कम्पनीले चिल्ड्रेन पार्क, खुल्ला ठाउँ, स्विमिङ पुल र ३ सय कन्फरेन्स हलको पनि व्यवस्था गर्नेछ । साथै, हाउजिङ भित्रको क्षेत्रफलमा ६ मिटर सडकको व्यवस्था हुनेछ भने व्यक्तिगत पार्किङको पनि व्यवस्था हुनेछ ।  बन्दीपुरमा निर्माणको तयारीमा रहेको क्षेत्र सहरभन्दा केही टाढा रहेपनि कम्पनीले दिने सुविधा थ्री स्टार होटेलभन्दा कम नहुने सञ्चालक प्रधानको दाबी छ ।  


अरिष्मा मोक्तान