एमसीसीका विषयमा अमेरिकी राजदूतकाे भनाइ- लोकतन्त्रमा हिंसा स्वीकार्य छैन



काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का कारण राजनीतिक वृत्त गर्मराएको अवस्थामा अमेरिकी राजदूतले मुख खोलेका छन् । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले लोकतन्त्रमा हिंसा र उत्तेजना स्वीकार नभएको बताए ।

शुक्रबार एक ट्विट गर्दै बेरीले आफू तथ्यमा आधारित वाक स्वतन्त्रता र खुला बहसको पक्षमा भएको बताउँदै लोकतन्त्रमा शान्तिपूर्वक आफ्ना विचार अभिव्यक्त गर्नुपर्ने बताए । उनले हिंसा र उत्तेजना कहिल्यै पनि स्वीकार्य नहुने बताए ।

अमेरिकी सरकारको सहयोगमा नेपालमा ३१३ किलोमिटर लामो विद्युतीय प्रसारण लाइन तथा सडक स्तरोन्नतीका लागि ५० अर्ब रुपैयाँ बराबरको सहयोग एमसीसीमार्फत् आउने भएपछि राजनीतिक दलहरु यतिबेला विभाजित छन् ।

खासगरी माओवादी केन्द्रले सडक र सदनमार्फत् एमसीसी संशोधनसहित पारित हुनुपर्ने माग राख्दै आएको छ । एमसीसी संसदबाट पारित हुन नहुने भन्दै बुधबार राजधानीमा युवाहरु आन्दोलन उत्रिएका थिए । जसमा प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको थियो ।


क्लिकमान्डु