मर्जरमा जाने बीमा कम्पनीलाई थप छुट, यस्ता छन् थप ८ सुविधा



काठमाडौं । मर्जरमा जाने बीमा कम्पनीहरुले थप सुविधा तथा छुट पाउने भएका छन् । समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई ८ किसिमका सुविधा तथा छुट थप गरेको हो ।

बीमा समितिले कम्पनीहरुलाई जारी गरेको बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ लाई प्रथम पटक संशोधन गर्दै थप सुविधा तथा छुट उपलब्ध गराउने निर्णय गरेको हो ।

समितिले संशोधित निर्देशिकाको दफा १० मा थप सुविधा तथा छुटको व्यवस्था गरेको हो ।

समितिद्धारा जारी बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ को दफा १० मा गाभ्ने, गाभिने तथा प्राप्ति गर्दा दिइने छुट सम्बन्धी व्यवस्था गरिएको छ ।

समितिले सोही दफामा मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप छुट तथा सुविधाको व्यवस्था गरेको हो ।

बीमकलाई गाभेको कारणबाट गाभ्ने बीमकको सेयर संरचनामा कुनै व्यक्ति, समूह वा संस्थाको नाममा चुक्ता पुँजी पन्ध्र प्रतिशतभन्दा बढी सेयर स्वामित्व कायम हुन गएमा वा प्रतिहिस्सेदारी (क्रस होल्डिङ) हुने भएमा त्यस्तो सेयर स्वामित्वलाई सीमाभित्र ल्याउन थप दुई वर्षको अवधि प्रदान गर्ने सुविधा समितिले संशोधन गरेको छ ।

गाभ्ने, गाभिने कार्य समाप्त भएका एकीकृत बीमकका अभिकर्ताहरुलाई साविकमा प्रवाह भएको ऋण असुली र अभिकर्ता व्यवस्थापनमा ६ महिना समय प्रदान गरिने व्यवस्था समेत थप भएको छ ।

गाभ्ने, गाभिने कार्य सम्पन्न भएपश्चात कार्यालय स्थापना र यान्त्रिकिकरण गर्दा भएको खर्चलाई व्यवस्थापन खर्चमा एक वर्षसम्म समावेश नगरिने छुट दिनसक्ने छ ।

संचालकको तोकिएको कार्यकाल समाप्त भई निर्वाचन गर्नुपर्ने अवश्था भएतापनि गाभिएर वा प्राप्ति पश्चात प्रचलित कानूनबमोजिम पुनः निर्वाचन नभएसम्मको अवधिको लागि संचालकको पदमा बहाल रहने अवधि थप दिन सक्ने छ ।

त्यसैगरी गाभ्ने, गाभिनेमध्ये कुनै बीमकको संस्थागत संस्थापक बैंक, वित्तीय संस्था वा संचालकसँग लगानी तथा व्यवसायमा वित्तीय स्वार्थ देखिने अवस्था भएमा सो हटाउन एकवर्षको समय प्रदान गर्न सक्ने छ ।

गाभ्ने, गाभिने कार्य पछिको एकीकृतरुपमा बीमाङ्कीको प्रतिवेदन पेश गर्न थप ६ महिनाम समय प्रदान गर्न सकिने छ ।

गाभ्ने, गाभिने प्रक्रियामा कुनै बीमकको संस्थापक सेयर प्रतिशत अन्य गाभ्ने, गाभिने बीमकभन्दा बढी भई समान प्रतिशत कायम गर्नुपर्ने अवश्थामा बिक्रि गर्न पाउने बन्देज अवधि (लकिङ) पिरियड ५ वर्ष नपुगेता पनि उपयुक्तता जाँच(फिट एण्ड प्रोपर टेष्ट) गरी बिक्री गर्न स्वीकृत दिन सक्ने छ ।

गाभिदा वा प्राप्ति कारणबाट बीमकको शाखा कार्यालय थपघट तथा मिलान गर्न पर्ने भएमा बढीमा एक वर्षको समय प्रदान गर्न सक्ने छ ।

बीमक गाभिएकै कारण गाभ्ने बीमकको संचालक समितिमा प्रतिनिधित्व रहन नसक्ने अवस्था भएमा समितिको स्वीकृत लिएर थप संचालकको व्यवस्था गर्न सक्ने छ ।


क्लिकमान्डु