जीवन बीमा कम्पनीद्वारा पुस महिनामा १२ अर्ब बीमाशुल्क संकलन, ४२% हिस्सा बाग्मती प्रदेशको



काठमाडौं । चालु आवको पुस महिनामा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले १२ अर्ब ७८ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

कम्पनीहरुले यस अवधिमा प्रथम बीमाशुल्कबाट ४ अर्ब २२ करोड ७१ लाख र नवीकरण बीमाशुल्कबाट ८ अर्ब ५५ करोड ७३ लाख रुपैयाँ गरी सो रकम संकलन गरेका हुन् ।

कम्पनीहरुले सावधिक जीवन बीमा, अग्रीम भुक्तानी सावधिक जीवन बीमा, रुपान्तरित सावधिक जीवन बीमा, बाल बच्चा सम्बन्धी सावधिक जीवन बीमा, वैदेशिक रोजगरा म्यादी बीमा, आजीवन जीवन बीमा, एकल बीमाशुल्क जीवन बीमा, म्यादी जीवन बीमा र लघु जीवन बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार उक्त अवधिमा बाग्मती प्रदेशको हिस्सा ४२.८९ प्रतिशत रहेको छ । बाग्मती प्रदेशबाट जीवन बीमा कम्पनीहरुले कुल ५ अर्ब ४८ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

बाग्मती प्रदेशपछि लुम्बिनी प्रदेशबाट कम्पनीहरुले बढी बीमाशुल्क संकलन गरेका छन् । लुम्बिनी प्रदेशबाट यस अवधिमा कम्पनीहरुले एक अर्ब ९३ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

कम्पनीहरुले प्रदेश १ पछि लुम्बिनी प्रदेशबाट बढी बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले लुम्बिनी प्रदेशबाट ३१ करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । लुम्बिनी प्रदेशले कुल जीवन बीमा व्यवसायको १५.१२ प्रतिशत हिस्सा ओगटेको छ ।

यस्तै, कम्पनीहरुले १ नम्बर प्रदेशबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जीवन बीमा कम्पनीले संकलन गरेको कुल बीमाशुल्कमा प्रदेश १ को हिस्सा ११.८४ प्रतिशत छ ।

यस्तै, कुल जीवन बीमा व्यवसायमा गण्डकी प्रदेशको हिस्सा १०.४३ प्रतिशत, मधेश प्रदेशको हिस्सा ९.८२ प्रतिशत, सुदुरपश्चिम प्रदेशको हिस्सा ५.४६ प्रतिशत र कर्णाली प्रदेशको हिस्सा ४.४३ प्रतिशत हिस्सा ओगटेको छ ।

चालु आवको पुस महिनामा जीवन बीमा कम्पनीहरुले गण्डकी प्रदेशबाट एक अर्ब ३३ करोड ३९ लाख रुपैयाँ, मधेश प्रदेशबाट एक अर्ब २५ करोड ४८ लाख रुपैयाँ, सुदुरपश्चिम प्रदेशबाट ६९ करोड ८६ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ५६ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

चालु आवको पुस महिनामा कम्पनीहरुले सावधिक जीवन बीमाबाट ४ अर्ब ४० करोड ५७ लाख रुपैयाँ, अग्रीम भुक्तानी सावधिक जीवन बीमाबाट ३ अर्ब ५४ करोड ५७ लाख रुपैयाँ, रुपान्तरित सावधिक जीवन बीमाबाट एक अर्ब ८० करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, कम्पनीहरुले बाल बच्चा सम्बन्धी सावधिक जीवन बीमाबाट एक अर्ब ८६ करोड ७२ लाख रुपैयाँ, वैदेशिक रोजगारी म्यादी बीमाबाट २१ करोड ५१ लाख रुपैयाँ, आजीवन जीवन बीमाबाट ३६ करोड ७० लाख रुपैयाँ, एकल बीमशुल्क जीवन बीमाबाट १६ करोड ९८ लाख रुपैयाँ म्यादी जीवन बीमबाट २४ करोड ५० लाख रुपैयाँ र लघु जीवन बीमाबाट १६ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु