निर्जीवन बीमा कम्पनीले कमाए झण्डै २ अर्ब नाफा, ७ कम्पनीको घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १८ निर्जीवन बीमा कम्पनीले १ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा ७ अर्ब ३७ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरी सो बराबरको नाफा कमाएका हुन् ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले २ अर्ब ८ करोड १८ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।

सञ्चालनमा रहेका दुई निर्जीवन बीमा कम्पनी नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्सले भने चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस अवधिमा ७ कम्पनीको नाफा घटेको छ भने ११ कम्पनीको नाफा बढेको छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको मुनाफा घटेको हो ।

सबैभन्दा धेरै नाफा नेको इन्स्योरेन्सको घटेको छ । कम्पनीको नाफा ४३.१० प्रतिशतले घटेर १५ करोड २ लाख रुपैयाँमा सीमित भएको हो । गत आवको यसै अवधिमा कम्पनीले २६ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, एनएलजी इन्स्योरेन्सको नाफा ३३.१५ प्रतिशत, आईएमई जनजर इन्स्योरेन्सको नाफा १९.२३ प्रतिशत, एभरेष्ट इन्स्योरेन्सको नाफा १९.२० प्रतिशत, प्रिमियर इन्स्योरेन्सको नाफा १६.७३ प्रतिशत, हिमालयन जनरलको नाफा १४.६३ प्रतिशत र प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ३.७६ प्रतिशतले घटेको छ ।

७ निर्जीवन बीमा कम्पनीको खुद नाफामा गिरावट आउँदा औषतमा कम्पनीको खुद नाफा समेत घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको खुद मुनाफा ४.४५ प्रतिशतले घटेको हो ।

११ कम्पनीको नाफा बढ्यो, यूनाइटेडको नाफामा ११८ प्रतिशतको वृद्धि
दोस्रो त्रैमासको अवधिमा ११ कम्पनीको नाफा बढेको छ । शिखर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल, अजोड, नेपाल, यूनाइटेड, जनरल, सानिमा र राष्ट्रिय बीमा कम्पनीको नाफा बढेको हो ।

सबैभन्दा धेरै नाफा यूनाइटेड इन्स्योरेन्सको बढेको छ । कम्पनीको खुद नाफामा ११८.४८ प्रतिशतको वृद्धि आएको हो । कम्पनीले यस अवधिमा ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यूनाइटेड इन्स्योरेन्स पछि सानिमा जनरल इन्स्योरेन्सको नाफा धेरै प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीको खुद नाफामा ९५.६५ प्रतिशतको वृद्धि भएको छ ।

यस्तै, जनरल इन्स्योरेन्सको नाफा ५६.२० प्रतिशतले बढेको छ । राष्ट्रिय बीमा कम्पनीको नाफा ४१.४२ प्रतिशत, अजोड इन्स्योरेन्सको नाफा १३.९१ प्रतिशत, प्रभु इन्स्योरेन्सको नाफा ६.९३ प्रतिशतले बढेको छ ।

शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको नाफामा भने सामान्य सुधार भएको छ ।

नाफा कमाउनेमा शिखर अघि
१८ कम्पनीमध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा शिखर इन्स्योरेन्स परेको छ । कम्पनीले यस अवधिमा २४ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

शिखर पछि राष्ट्रिय बीमा कम्पनीले यस अवधिमा १९ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको छ ।

सगरमाथा इन्स्योरेन्स ले १७ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीले १५ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ ।

७ अर्ब बीमाशुल्क संकलन
चालु आवको पुस मसान्तसम्ममा १८ निर्जीवन बीमा कम्पनीले ७ अर्ब ३७ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेको इन्स्योरेन्सले सबैभन्दा धेरै ९८ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

शिखर इन्स्योरेन्सले ७६ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

राष्ट्रिय बीमा कम्पनीले भने सबैभन्दा कम १२ करोड ८८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।


क्लिकमान्डु