कृषिको समावेशी रूपान्तरणका लागि मूल्य श्रंखला सुरु



काठमाडौं । अर्थ मन्त्रालय र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोसबिच गत असोजमा भएको सम्झौता बमोजिमको कृषिको समावेशी रूपान्तरणका लागि मूल्य शृङ्खला परियोजना सञ्चालन गर्ने कार्यक्रम सुरु भएको छ ।  

राजस्व सचिव कृष्णहरि पुष्करले राजधानी आयोजित कार्यक्रममा उक्त परियोजनाको सुरुवात गरेका हुन् । सरकारले कृषि लगानीका लागि अगुवा बैंकको रूपमा परिभाषित गरेको, किसान कार्ड-एप्स जारी गरिरहेको, कृषि बण्ड जारी गरी श्रोत सङ्कलन मार्फत कृषि क्षेत्रमा वित्तीय सहयोग पुर्‍याउँदै आएको कृषि विकास बैंकलाई सरकार मार्फत आइएफएडीबाट करिब ८० मिलियन अमेरिकी डलर वित्तीय ऋण सहयोग उपलब्ध हुनेछ । 

भिआइटिए कार्यक्रम देशका ५ वटा प्रदेशको विभिन्न जिल्लाहरूमा आयात प्रतिस्थापन गर्न सकिने भएको छ । निर्यात प्रवर्द्धन योग्य र केही कृषि वस्तुमा मुलुकलाई आत्मनिर्भरता तर्फ लैजाने खालका १२ वटा बाली तथा पशु वस्तुमा सहुलियतपूर्ण कर्जा लगानी गर्नका लागि कृषि विकास बैंकलाई कार्यक्रम कार्यान्वयन निकायको रूपमा तोकिएको छ । 

राजस्व सचिव कृष्णहरि पुष्करले यस किसिमको सहयोगले साना कृषकहरूको आय स्तर वृद्धि हुने, रोजगारी सृजना हुने तथा बैंकको व्यवसायीकरण, समावेशीकरण तथा प्रतिस्पर्धात्मक विकास हुने बताए । उनले यस कार्यक्रमले प्रत्यक्ष रूपमा एक लाख २० हजार साना कृषक परिवारहरू विशेष गरी महिला, युवा, दलित, जनजाति लगायत पिछडिएका वर्गहरूको क्षमता, वित्तीय सेवा र बजार पहुँचमा वृद्धि गर्दै जीविकाेपार्जनमा सुधार गर्ने धारणा राखे । 

कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि तथा पशु तर्फका सचिव क्रमशः डा. गोविन्द प्रसाद शर्मा र निरु दाहालले परियोजना सफलताका लागि शुभकामना व्यक्त गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले दातृ निकाय मार्फत प्राप्त उक्त सहुलियतपूर्ण कर्जा रकम सही ढङ्गबाट कृषक, उद्यमी, सङ्कलनकर्ता, प्रशोधनकर्ता आदिलाई मूल्य शृङ्खलामा आबद्ध गराई लगानी गरिने प्रतिबद्धता व्यक्त गरे । 


क्लिकमान्डु