भन्सार एजेन्ट परीक्षाको परीक्षा केन्द्र तोकियो, प्रत्येक गलत उत्तरको २०% अंक काटिने



काठमाडौं । २० वर्षपछि भन्सार विभागले खुलाइएको भन्सार एजेन्टको लिखित परीक्षाको केन्द्र तोकिएको छ । विभागले आज एक सूचना जारी गर्दै विभिन्न ४५ वटा परीक्षा केन्द्र तोकेको हो ।

कोभिड-१९ का कारण पटक-पटक स्थगित भएकाले परीक्षा हुन सकेको थिएन । त्यसैले विभागले आगामी फागुन २८ गते भन्सार एजेन्टको परीक्षा गर्ने भएको हो ।

विभागका अनुसार कोभिड-१९ का कारण स्थगित भएको लिखित परीक्षा सञ्चालन गर्ने भएकाले सरकारले तोकेको सुरक्षा सम्बन्धी मापदण्ड र लोकसेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन गर्ने गरी तोकिएको हो ।

कोभिड-१९ को संक्रमण भएका उम्मेदवारहरूका लागि अलग परीक्षा केन्द्र रहने हुँदा परीक्षा शुरु हुने अघिल्लो दिनको १ बजेभित्र विभागमा जानकारी गराउनु पर्नेछ ।

विभागले आगामी २८ गतेको लिखित परीक्षा दिनको २ बजे सञ्चालन गर्नेछ ।

त्यस्तै, परीक्षार्थीले वेबसाइटमा रहेको भन्सार एजेन्टको अनलाइन दरखास्त प्रणाली लिंकमार्फत् आवेदकले आफ्नो युजर लगइन गरी डाउनलोड प्रवेश पत्र बटम क्लिक गरी त्यसमा देखिने अप्सनमा टिक लगाई डाउनलोड अप्सनमा क्लिक गरी प्रवेश पत्र प्रिन्ट गर्न सकिनेछ । साथै, यस सम्बन्धमा थप जानकारीको लागि विभागको वेवसाइटमा रहेको म्यानुअलमा हेर्न सक्ने विभागले जनाएको छ ।

उम्मेदवारले कालो मसी मात्र भएको डटपेन/कलमले उत्तरपुस्तिकाको निर्धारित कोठामा एउटामा मात्र सही उत्तर जनिने गरी निर्धारित कोठामा धब्बा लागाउनुपर्नेछ । तर, पेन्सिलले लेखेकोलाई मान्यता दिइने छैन ।

प्रत्येक गलत उत्तरको लागि २० प्रतिशत अंक कट्टा गरिनेछ विभागको भनाइ छ । परीक्षाकेन्द्रमा मोबाइल फोन लैजान निषेध गरेको छ भने परीक्षा केन्द्रमा प्रवेश पत्रसहति सक्कलै नेपाली नागरिताको प्रमाणपत्र साथमा लिई आउनुपर्नेछ ।


क्लिकमान्डु