बीमालेख धितो राखी बीमितले लिए ५७ अर्ब कर्जा



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा बीमितले बीमालेख धितोमा ५७ अर्ब रुपैयाँ कर्जा लिएका छन् ।

चालु आवको पुससम्ममा बीमालेख खरिद गरेका बीमितले आफ्नो बीमालेख धितोमा राखी १९ जीवन बीमा कम्पनीबाट ५७ अर्ब ६९ करोड रुपैयाँ कर्जा लिएका हुन् ।

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सका बीमितले आफ्नो बीमालेख धितोमा राखि २१ अर्ब ६७ करोड रुपैयाँ कर्जा लिएका छन् ।

नेपाल लाइफका बीमित पछि एलआईसी नेपालका बीमितले बीमालेख धितो राखी १५ अर्ब ६४ करोड रुपैयाँ कर्जा लिएका छन् ।

नेशनल लाइफका बीमितले बीमालेख धितो राखी ६ अर्ब ९५ करोड, एशियन लाइफका बीमितले ३ अर्ब ३१ करोड रुपैयाँ कर्जा लिएका छन् ।

प्राइम लाइफका बीमितले एक अर्ब ७२ करोड, राष्ट्रिय बीमा संस्थानका बीमितले एक अर्ब ६० करोड, सूर्या लाइफका बीमितले एक अर्ब ४७ करोड र मेट लाइफको बीमितले एक अर्ब रुपैयाँ कर्जा लिएका छन् ।

अन्य कम्पनीले भने अर्ब भन्दा कम कर्जा प्रवाह गरेका छन् ।

सबै भन्दा कम रिलायवल नेपाल लाइफका बीमितले कर्जा लिएका छन् । कम्पनीका बीमितले बीमालेख धितो राखी ९ करोड रुपैयाँ कर्जा लिएका छन् ।

जीवन बीमालेख खरिद गरेका बीमितले आफ्नो बीमालेख धितो राखी कर्जा लिन सक्ने व्यवस्था छ ।

बीमितले बीमा कम्पनीमा बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पत्ति धितो नराखीकनै ऋण प्राप्त गर्न सक्छन् । बीमालेख बाहेक अन्य धितो राख्नु नपर्ने भएका कारणले गर्दा पनि बैंकको तुलनामा बीमालेख धितो राखी कर्जा लिने प्रक्रिया झनझट मुक्त समेत मानिन्छ ।

जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ बमोजिम बीमा प्रारम्भ भएको मितिबाट तीन वर्ष पूरा भएपश्चात बीमालेख धितो राखी कर्जा लिन पाउने व्यवस्था छ ।

समितिले गत असारमा नयाँ निर्देशिका जारी गर्दै बीमालेख धितो राखी प्रदान गर्ने कर्जामा कडाइ गरेको थियो । यसअघि बीमितिले दुई किस्ता प्रिमियम तिरेपछि बीमालेख धितो राखी कर्जा लिन पाउने व्यवस्था थियो ।

निर्देशिका अनुसार बीमितहरुले ३ किस्तासम्म प्रिमियम तिरेपछि प्रिमियमको ९० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था छ ।

साथै, एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ भएको मितिबाट तीन वर्ष पूरा भएपश्चात बीमालेख धितो राखी कर्जा लिन पाउने व्यवस्था छ ।

बीमा कम्पनीहरुले बीमालेख धितो राखी कर्जा प्रवाह गर्दा ब्याज लिन पाउने व्यवस्था बीमा समितिद्धारा जारी निर्देशिकाले व्यवस्था गरेको छ ।

ब्याजदरको निर्धारण गर्दा भने बजारमा प्रचलित वाणिज्य बैंकले तोकेको बयाजदर भन्दा बढी नहुने गरी बीमा कम्पनीको सञ्चालक समितिको स्वीकृति लिई निर्धारण गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

तसर्थ, ऋण दिँदा ब्याजदर भने बीमा कम्पनीअनुसार फरक फरक हुने गर्छ । यद्यपि अधिकांश जीवन बीमा कम्पनीहरुले बीमितलाई बीमालेख धितोमा राखी कर्जा दिँदा दिँदा १० प्रतिशत ब्याजदर लिदै आएका छन् ।

मेट लाइफ, एशियन र राष्ट्रिय बीमा संस्थानले भने १० प्रतिशत भन्दा धेरै ब्याज लिने गरेका छन् । मेट लाइफले बीमालेख धितोमा कर्जा दिँदा १२ प्रतिशत ब्याज लिँदै आएको छ । एशियन र राष्ट्रिय बीमा संस्थानले भने ११ प्रतिशत ब्याज लिँदै आएका छन् ।

बीमा कम्पनीलाइ २ अर्ब ७८ करोड रुपैयाँ आम्दानी
चालु आवको दोस्रो त्रैमासको अवधिमा १९ जीवन बीमा कम्पनीहरले बीमालेख धितो राखी कर्जा प्रवाह गरी २ अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरेका छन् ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बीमालेख धितो राखी सबैभन्दा धेरै कर्जा प्रवाह नेपाल लाइफले गरेको छ । भने आम्दानी पनि नेपाल लाइफ कै बढी देखिएको छ ।

कम्पनीले चालु आवको पहिलो त्रैमासको अवधिमा बीमालेख धितो राखी कर्जा प्रवाह गरी एक अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा एलआइसी नेपालले बीमालेख धितो राखी कर्जा प्रवाहबाट ७६ करोड रुपैयाँ आम्दानी गरेको छ ।

नेशनल लाइफले यस्तो कर्जा प्रवाह गरेवापत २७ करोड रुपैयाँ आम्दानी गरेको छ । एशियन लाइफले १० करोड रुपैयाँ, प्राइम लाइफले ४ करोड रुपैयाँ आम्दानी गरेका छन् ।

यस्तै, रािष्ट्रय बीमा संस्थानले ७ करोड, सूर्या लाइफ र मेट लाइफले ६÷६ करोड र यूनियन लाइफ इन्स्योरेन्सले बीमालेख धितो राखी कर्जा प्रवाह गर्दा ४ करोड रुपैयाँ आम्दानी गरेका छन् ।

भने सिटिजन लाइफ, रिलायन्स लाइफ, आईएमई लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफले करोड भन्दा कम रकम आम्दानी गरेका छन् ।

यस्तै, सानिमा लाइफ इन्स्योरेन्सले बीमालेख धितो राखी कर्जा प्रवाह गर्दा प्राप्त हुने आम्दानी वित्तीय विवरणमा उल्लेख गरेको छैन ।


क्लिकमान्डु