जीवन बीमा कम्पनीको बीमाशुल्क १२%ले बढ्यो, व्यवसाय बिस्तारमा नयाँ अब्बल



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क संकलन १२.८३ प्रतिशतले बढेको छ ।

चालु आवको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले ७० अर्ब ९१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

गत आवको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ६२ अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

यस अवधिमा व्यवसाय विस्तारमा नयाँ कम्पनी अब्बल देखिएका छन् । व्यवसाय विस्तारमा नयाँ कम्पनी अब्बल देखिँदा पुराना जीवन बीमा कम्पनीको बजार हिस्सा खुम्चिएको छ ।

चालु आवको दोस्रो त्रैमाससम्मको अवधिमा १७ वटा कम्पनीले व्यवसाय वृद्धि गर्दा दुई वटा कम्पनीको व्यवसाय घट्न पुगेको छ ।

दुई वटा कम्पनीको बीमाशुल्क घट्यो
चालु आवको पुस मसान्तसम्मको अवधिमा दुई वटा कम्पनीको कुल बीमाशुल्क घटेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सबै जीवन बीमा कम्पनीहरुले कुल बीमाशुल्क बढाउँदा एलआईसी नेपाल र गुराँस लाइफको बीमाशुल्क भने घटेको हो ।

यस अवधिमा गुराँस लाइफको बीमाशुल्क सबै भन्दा धेरै २३.७४ प्रतिशतले घटेर १ अर्ब ६२ करोड रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा गुराँस लाइफले २ अर्ब १३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

एलआईसी नेपालको बीमाशुल्क १२.६७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब १३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको कम्पनीको बीमाशुल्क घटेर ८ अर्ब ३९ करोड रुपैयाँमा सीमित भएको हो ।

व्यवसाय बिस्तारमा नयाँ कम्पनी अब्बल
चालु आवको दोस्रो त्रैमासको अवधिमा व्यवसाय बिस्तारमा नयाँ जीवन बीमा कम्पनीहरु अब्बल देखिएका छन् ।

बीमाशुल्क बढाउने शीर्ष ६ कम्पनीको सूचीमा नयाँ बीमा कम्पनी नै अघि देखिएका छन् ।

पुससम्ममा धेरै व्यवसाय बिस्तार गर्नेमा सन नेपाल लाइफ परेको छ । गत वर्षको तुलनामा सन नेपालले व्यवसाय दोब्बरले बढाएको छ ।

यस अवधिमा सन नेपाल लाइफको बीमाशुल्क १०७ प्रतिशतले बढेर २ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ९९ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको थियो ।

यस्तै, आईएमई लाइफ, सिटिजन लाइफ, प्रभु लाइफ, रिलायबल नेपाल लाइफ र महालक्ष्मी लाइफले पनि ५० प्रतिशतभन्दा धेरैले कुल बीमाशुल्क वृद्धि गरेका हुन् ।

आईएमई लाइफको कुल बीमाशुल्क संकलनमा ८५.९७ प्रतिशतको वृद्धि देखिएको छ । गत आवको यसै अवधिमा ८८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको आईएमईले चालु आवको पुसमसान्तसम्ममा एक करोड ६३ करोड रुपैयाँ संकलन गरेको छ ।

सिटिजन लाइफको कुल बीमाशुल्क संकलन ८०.९७ प्रतिशत, प्रभु लाइफको ६६.०१ प्रतिशत, रिलायबल नेपाल लाइफको ५३.२१ प्रतिशत र महालक्ष्मी लाइफको ५३.२१ प्रतिशतले वृद्धि भएको छ ।

सबैभन्दा धेरै नेपाल लाइफको, थोरै महालक्ष्मी लाइफको
यस अवधिमा १९ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै कुल बीमाशुल्क संकलन नेपाल लाइफ र सबैभन्दा कम महालक्ष्मी लाइफले गरेको छ । । नेपाल लाइफले १८ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यो कुल बीमाशुल्कको २५.९३ प्रतिशत हो । गत आर्थिक वर्षको पुससम्ममा कम्पनीले १७ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

यस अवधिमा महालक्ष्मी लाइफले ६९ करोड ५३ लाख रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको छ । जुन कुल बीमाशुल्कको ०.९८ प्रतिशत हो । इन्स्योरेन्सले गत आवको यसै अवधिमा भने ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

पुराना तीन कम्पनीबाहेक अन्यको बजार हिस्सा खुम्चियो
यस अवधिमा पूरना जीवन बीमा कम्पनीतर्फ तीन वटा बाहेक अरु कम्पनीको बजार हिस्सा खुम्चिएको छ ।

मेट लाइफ, प्राइम र नेशनल लाइफको बजार हिस्सा बढ्दा एशियन लाइफ, सूर्या लाइफ, राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ, एलआइसी नेपाल र गुराँस लाइफको बजार हिस्सा गुमेको हो ।

नेशनल लाइफले ०.७८ प्रतिशत विन्दुले, मेट लाइफले ०.५० प्रतिशत विन्दुले र प्राइम लाइफ इन्स्योरेन्सले ०.२८ प्रतिशत विन्दुले बजार हिस्सा बढाएका हुन् ।

नेशनल लाइफले कुल जीवन बीमा व्यवसायको ९.५९ प्रतिशत, मेट लाइफले ३.७६ प्रतिशत र प्राइम लाइफले ३.४९ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।

सबैभन्दा धेरै बजार हिस्सा गुमाउनेमा एलआइसी नेपाल परेको छ । इन्स्योरेन्सको बजार हिस्सा ३.४६ प्रतिशत विन्दुले घटेर १८३ प्रतिशतमा सीमित भएको छ ।

यस्तै, नेपाल लाइफको बजार हिस्सा २.१० प्रतिशत विन्दु, गुराँस लाइफको १.१० प्रतिशत विन्दु, राष्ट्रिय बीमा संस्थानको ०.६४ प्रतिशत विन्दु, सूर्या लाइफको ०.१५ प्रतिशत विन्दु र एशियन लाइफको ०.१४ प्रतिशत विन्दुले बजार हिस्सा गुमेको हो ।


क्लिकमान्डु