बीमाको पहुँच १०% ले बढेर ३५% जनसंख्यामा पुग्यो



काठमाडौं । एक वर्षको अवधिमा नेपालमा बीमाको पहुँच १०.१४ प्रतिशतले वृद्धि भएको छ । बीमा समितिको तथ्यांकअनुसार चालु आवको पुसमसान्तसम्ममा बीमाको पहुँच ३५ प्रतिशत जनसंख्यामा पुगेको हो ।

तथ्यांक विभागको तथ्यांक अनुसार हाल नेपालको जनसंख्या ३ करोड १ लाख २ हजार ३८९ जना रहेको समितिले उल्लेख गरेको छ ।

जसमा एक करोड पाँच लाख ३४ हजार ५२९ जना बीमाको दायरामा रहेको समितिको तथ्यांकले देखाएको छ ।

यो संख्या म्यादी र बैदेशिक रोजगारीमा जानेले गराएको बीमा सहितको तथ्यांक हो ।

समितिका अनुसार म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित बीमाको दायरा ३५ प्रतिशत जनसंख्यामा पुगेको हो ।

गत आवको यसै अवधिमा बीमाको दायरामा आएको जनसंख्या २४.८६ प्रतिशत थियो ।

म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक ५२ लाख ६५ हजार ७४८ जनामा बीमाको पहँुच पुगेको छ । भने म्यादी जीवन बीमालेख सहित ९६ लाख २४ हजार ६२० जनामा बीमाको पहुँच पुगेको छ ।

समितिका अनुसार म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखबाहेक बीमाको दायरामा आएको जनसंख्या १७.४९ प्रतिशत छ ।

म्यादी बीमालेख सहित भने ३१.९७ प्रतिशतमा बीमाको दायरा विस्तार भएको बीमा समितिले जनाएको छ ।

चालु आवको पुस महिनासम्ममा म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक ६९ लाख ७२ हजार ८४ वटा बीमालेख जारी भएका छन् । गत आवको यसै अवधिको तुलनामा ४५.३१ प्रतिशतले बढेको हो ।

समितिका अनुसार यस अवधिमा ४५ लाख ८८ हजार २ सय ८६ वटा म्यादी बीमालेख जारी भएका छन् । यस्तै, ९ लाख ९ हजार ९ सय ९ वटा वैदेशिक रोजगार बीमालेख जारी भएका छन् ।

जुन गत वर्षको पुस मसान्तको तुलनामा २०.८१ प्रतिशतले बढी हो । गत आवको पुस मसान्तसम्मको अवधिमा सात लाख ५३ हजार १८० वटा बीमालेख जारी भएका थिए ।


क्लिकमान्डु