स्वदेशी र विदेशी ब्राण्डका ‘भेषभुषा’का लागि नयाँ ई-कमर्श शुरु, राजेश हमालले गरे उद्घाटन



काठमाडौं । स्वदेशी तथा विदेशी ब्राण्डका सामग्री एकै थलोमा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि नयाँ ई–कमर्श प्लेटफर्म ‘भेषभुषा’ डटकम सञ्चालनमा आएको छ । महानायक राजेश हमालले एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गरेका छन् ।

एकै थलोमा ब्यूटी, फेसन र लाइफस्टाइलसँग सम्बन्धित सामग्री उपलब्ध गराउने उद्देश्यले अनलाइन सपिङ साइट भेषभुषको शुरुवात गरिएको कम्पनीका अध्यक्ष दीपक पाण्डेले जानकारी दिए ।

विशेष गरी स्वदेशी तथा विदेशी ब्राण्डका कपडा, कस्मेटिक्स तथा एसेसिरिज उपलब्ध गराउनुका साथै इभेन्टमा पनि सहकार्य गर्ने उद्देश्यले भेषभुषा सञ्चालनमा ल्याइएको कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) तृष्णा आचार्यको भनाइ छ ।

हाल ५ करोड लगानी भइसकेको कम्पनीले आगामी दिनमा अन्य देशहरुमा पनि नेटवर्क बिस्तार गर्ने उद्देश्य लिएको अध्यक्ष पाण्डेको भनाइ छ ।

‘अहिले विभिन्न ई–कमर्श प्लेटफर्महरु सञ्चालनमा छन्, तर नविनतम सोचका साथ एउटै प्लेटफर्ममा ब्यूटी, फेसन र लाइफस्टाइललाई समेट्ने भेषभुषा डट कम मात्रै हो,’ अध्यक्ष पाण्डेले दाबी गरे, ‘हामी प्रडक्ट मात्रै बिक्री गर्दैनौं, ग्राहकहरुलाई एक्सपेरियसन पनि सेयर गर्ने छौं ।’

हाल भेषभुषामा स्वदेशी र विदेशी गरी ३४ वटा ब्राण्ड आबद्ध भइसकेका छन् भने छिट्टै २० देखि २५ वटा ब्राण्ड आबद्ध हुने क्रममा रहेको कम्पनीकी सीइओ आचार्यले बताइन । उनका अनुसार एक वर्षभित्रमा १ सय वटा ब्राण्ड आबद्ध गर्ने योजना छ ।

हाल काठमाडौं उपत्यकामा मात्रै सीमित कम्पनीको सेव ३ देखि ४ महिनापछि देशका अन्य ७÷८ वटा सहरमा सेवा बिस्तार भइसक्ने कम्पनीको दाबी छ ।

कम्पनीले विदेशी ब्राण्डलाई सहज र सूपथ मूल्यमा उपलब्ध गराउनुका साथै नेपाली ब्राण्डसँग सहकार्य गरी विदेशी बजारसम्म पुर्याउने लक्ष्य लिएको सीइओ आचार्यको भनाइ छ ।

‘अहिले स्वदेशी र विदेशी ब्राण्डलाई एकै प्लेटफर्ममा ल्याएका छौं, हाम्रो योजना सानोभन्दा सानो लगानीमा सञ्चालनमा भइरहेका उद्योगहरुसँगको सहकार्यमा काम गर्ने योजना बनाएका छौं,’ उनले भनिन् ।

ई–कमर्श प्लेटफर्ममा ग्राहकले कुनै पनि वस्तुबारे जानकारी लिनका लागि विज्ञसँग कुराकानी समेत गर्न सक्छन् भने सामान खरिद गर्दा प्राप्त हुने रिवार्डलाई पछि अन्य सेवामा खर्च गर्न सकिन्छ ।
वेवसाइट उद्घाटन गर्दै महानायक राजेश हमालले फेसन मानिसको जीवनको अभिन्न अंग भएको भन्दै कोही पनि अछुतो नभएको बताए ।

‘हामी जानेर वा नजानेर पनि फेसनसँग आबद्ध छौं, कतिपयले एक्सप्रेस गर्छौ छ कतिपयले गर्दैनौैं,’ उनले भने, ‘फेसन क्षेत्रमा नविनतम सोचका साथ आएको भेषभुषा डट कमले ग्राहकको आवश्यकता पूर्ती गर्न सक्नेमा विश्वास छ ।’

कम्पनीले १५ दिनपछि मोबाइल एप पनि शुरु गर्ने उनको भनाइ छ । हाल कम्पनीमा २५ जना कर्मचारी कार्यरत छन् भने कम्पनीमार्फत् स्पा, सैलनुलगायतका लागि पनि बुकिङ गर्न सकिन्छ ।

भविष्यमा आफ्नै प्रडक्ट शुरु गर्ने
कम्पनीकी सीइओ तृष्णा आचार्यले आगामी दिनमा कम्पनीले भेषभुषा ब्राण्डका नाममा आफ्नै प्रडक्ट पनि उत्पादन गर्ने लक्ष्य लिइएको बताइन ।

‘शुरुवाती दिनमा हामी ई–कमर्श प्लेटफर्म शुरु गर्दैछौं, साथै जन्मदिन वा कुनै कार्यक्रमका लागि बजेट अनुसारको डिजाइनका साथै आगामी दिनमा आफ्नै प्रडक्ट समेत उत्पादन गर्ने लक्ष्य लिएका छौं,’ उनले भनिन् ।


क्लिकमान्डु