बैंक ब्याजदर यथाशिघ्र पुनरावलोकन गर्न फोरमको अनुरोध, लगानीकर्तालाई संयमित हुन आग्रह



काठमाडौं । नेपाल इन्भेष्टर फोरमले बैंकले अत्याधिक वृद्धि गरिएको ब्याजदर यथाशिघ्र पुनरावलोकन गर्न अनुरोध गरेको छ । फोरमले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

फोरमका अनुसार तरलताको संकट देखाउँदै सम्पूर्ण लगानीको क्षेत्रलाई असर गर्ने गरी आर्थिक समृद्धि अभियानलाई मुर्तरुप दिन आवश्यक पर्ने स्वदेशी पूँजी निर्माणको निर्विकल्प आधार पूँजीबजारमा समेत असर परेको भन्दै ब्याजदर पुनरावलोकन गर्न भनेको छ ।

पूँजीबजारको विकास र विस्तारको लागि सरोकारवाला पदाधिकारीहरू तथा निकायहरू अझ बढि गम्भीर हुन र यस्तो विषम परिस्थितिमा लगानीकर्ताहरू समेत संयम र धैर्यता भएर सुझबुझका साथ लगानी गर्न अनुरोध गरेको छ ।

पूँजीबजारको दिगो विकास र विस्तारले मात्र देशको अर्थतन्त्र, उद्योग, कलकारखाना, व्यापार विस्तार हुने भन्दै ब्याजदर बढ्दा सबै क्षेत्रमा असर पर्ने फोरमको ठहर छ ।

विगतमा लगानीका अन्य क्षेत्रहरू सुशुप्त रहेको अवस्थामा विद्यार्थीदेखि शिक्षक, प्राध्यापकसम्म, निजामती कर्मचारीदेखि सेना तथा प्रहरीसम्म, गृहणीदेखि सेवा निवृत व्यक्तिहरूसम्म, ठुला व्यवसायिक घरानादेखि साना व्यवसायिहरूले आफ्नो बचत तथा ऋण रकमलाई यसै क्षेत्रमा लगानी गरेको स्मरण गराउँदै ब्याजदर बढ्दा सबैलाई निरास बनाएको जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु