जीवन बीमा कम्पनीको कुल लगानी ५ खर्ब ८३ अर्ब, कुनको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले करिब ६ खर्ब लगानी गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार १९ जीवन बीमा कम्पनीहरुले यस अवधिमा ५ खर्ब ८३ अर्ब ११ करोड ३६ लाख रुपैयाँ लगानी गरेका हुन् ।

समितिको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले वाणिज्य बैंकको मुद्दति निक्षेपमा २ खर्ब ९० अर्ब ८० करोड रुपैयाँ लगानी गरेका छन् । जुन कुल लगानीको ५० प्रतिशत हुन आउँछ ।
कम्पनीहरुले फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा १ खर्ब ५४ अर्ब ३ करोड रुपैयाँ लगानी गरेका छन् ।

यस्तै, कम्पनीहरुले विकास बैंकहरुको मुद्दती निक्षेपमा ३६ अर्ब ८९ करोड रुपैयाँ लगानी गरेका छन् ।

सूचीकृत कम्पनीहरुको सुरक्षित डिबेञ्चरमा २४ अर्ब ३२ करोड रुपैयाँ, अन्य क्षेत्रमा ३६ अर्ब ९९ करोड रुपैयाँ, क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा २६ अर्ब २३ करोड रुपैयाँ लगानी गरेका छन् ।

सूचीकृत पब्लिक कम्पनीहरुको साधारण शेयरमा ८ अर्ब ४९ करोड रुपैयाँ र नेपाल सरकारको बचतपत्रमा २ अर्ब ४ करोड रुपैयाँ लगानी गरेका छन् ।

कृषि तथा पर्यटन क्षेत्रमा कम्पनीहरुले १ अर्ब ६२ करोड रुपैयाँ, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा १ अर्ब ४ करोड रुपैयाँ लगानी रहेको छ ।

कम्पनीहरुले घरजग्गामा ३६ करोड रुपैयाँ र नेपाल पुर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा २५ करोड रुपैयाँ लगानी रहेको छ ।

यस अवधिमा सबैभन्दा धेरै लगानी नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । कम्पनीले समितिको निर्देशिकाले तोकेको विभिन्न क्षेत्रमा २ खर्ब १५ अर्ब रुपैयाँ लगानी गरेको छ । नेपाल लाइफपछि नेशनलले ७५ अर्ब १७ करोड ३८ लाख रुपैयाँ लगानी गरेको छ ।

एलआइसी नेपालले ७१ अर्ब ४० करोड, राष्ट्रिय बीमा संस्थानले ३६ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ र मेट लाइफले २३ अर्ब १४ करोड रुपैयाँ लगानी गरेको छ ।

बीमा समितिद्धारा जारी बीमकको लगानी निर्देशिका, २०७५ अनुसार जीवन बीमा कम्पनीहरुले सरकारको बचतपत्रमा न्यूनतम ५ प्रतिशत, कवर्गको बैंकको मुद्दती निक्षेप र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ ।

जीवन बीमा कम्पनीहरुले घर जग्गामा बढीमा ५ प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा बढीमा १० प्रतिशत, क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा बढीमा २० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ ।

निर्देशिकानअुसार जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चर र कृषि, पर्यटन र जलश्रोत लगाएतका पूर्वाधार क्षेत्रमा बढीमा २० प्रतिशत, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा बढीमा ५ प्रतिशत, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढीमा १० प्रतिशत र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढीमा १० प्रतिशत लगानी गर्न सक्नेछन् ।


क्लिकमान्डु