राष्ट्रिय बीमा संस्थानले संकलन गर्यो ६ अर्ब बीमाशुल्क, नाफामा १२% को वृद्धि



काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालु आवको दोस्रो त्रैमासम्मको अवधिमा ६ अर्ब ४ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । संस्थानले गत आवको यसै अवधिको तुलनामा खुद बीमाशुल्क ६.४१ प्रतिशतले बढाएको हो ।

गत आवको यसै अवधिमा कम्पनीले ५ अर्ब ६८ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । संस्थानले चालु आवको पुससान्तसम्ममा खुद नाफा १२.१४ प्रतिशतले बढाएको छ । संस्थानले यस अवधिमा ३ करोड ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा संस्थानले दुई करोड ६७ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

संस्थानको यो नाफामा बीमाङ्कीय मूल्याङ्कन पछि हेरफेर हुन सक्ने छ । संस्थानले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट एक अर्ब ३४ करोड २१ लाख ९७ हजार रुपैयाँ आम्दानी गरेको छ ।

एक अर्ब ६० करोड ३० लाख रुपैयाँ बीमालेखमा धिर्ता कर्जा प्रवाह गरी ७ करोड ८४ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको छ । १८ करोड १० लाख २० हजार रुपैयाँ चुक्ता पुँजी भएको संस्थानको जगेडा तथा कोषमा ३८ करोड ७८ लाख रुपैयाँ र बीमा कोषमा ३८ अर्ब १४ करोड ४४ लाख ९० हजार रुपैयाँ सञ्चित छ ।

संस्थानले यस अवधिमा अभिकर्ता कमिशन खर्च शिर्षकमा ९ करोड ५२ लाख ५३ हजार रुपैयाँ खर्च गरेको छ । यस अवधिमा कम्पनीले दुई अर्ब एक करोड रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।


क्लिकमान्डु