बैंक तथा वित्तीय संस्थाले ५ लाखसम्म ऋण डिजिटल माध्यमबाट दिन सक्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ लाखसम्मको ऋण डिजिटल माध्यमबाट दिन सकिने व्यवस्था ल्याएको छ ।

शुक्रबार विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गनिर्देशन २०७८ जारी गर्दै नेपाल राष्ट्र बैंकले ५ लाखसम्मको कर्जा विद्युतीय माध्यमबाट दिन सकिने व्यवस्था लागू गरेको हो ।

फोनपे नेटवर्कमा आबद्ध केही बैंकले २ लाखसम्म यसरी विद्युतीय कर्जा दिएका छन् । बैंक तथा वित्तीय संस्थाले तलब खाता भएका व्यक्तिलाई उनीहरुको आम्दानीको हिसाबले बढीम ५ लाखसम्म यस्तो कर्जा दिनसक्ने छन् । यसको लागि ऋणी बैंकमा आउनुपर्ने छैन ।

बैंक तथा वित्तीय संस्था भुक्तानी प्रणालीको अनुमति पाएका संस्थालाई यसरी ऋण दिन ऐजेन्ट राख्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसरी दिने कर्जाको आवेदन देखि स्वीकृतिको सबै काम विद्युतीय माध्यमबाट हुने छ । यसरी विद्युतीय माध्यमबाट दिइने कर्जाको लागि सेवा शुल्कको बारेमा स्पष्ट रुपमा जानकारी गराउनुपर्ने हुन्छ ।


क्लिकमान्डु