सुनिलको रणनीतिले फेरिँदैछ सिभिल बैंकको परिचयः अब दोहोरो अंकको प्रतिफल, हेपिएर मर्जरमा नजाने



काठमाडौं । सिभिल बैंकले स्थापनाको १२ वर्षमा लगानीकर्तालाई ८ पटक लाभांश दियो । बैंकले दिएको औसत लाभांश ५ प्रतिशत पनि थिएन ।

लगानीकर्ताले सिभिल बैंकमै मुद्दति निक्षेपमा पैसा राखेका भए निक्षेपकर्ताले कम्तिमा पनि १० प्रतिशत प्रतिफल पाउँथे ।

अत्यन्तै न्यून प्रतिफलका कारण लगानीकर्ताहरु करीब-करीब डिप्रेशनमा गइसकेको अवस्था थियो भने व्यवस्थापनलाई रिजनेवल नाफा दिनुपर्ने तीव्र दवाव थियो ।

सिभिल बैंकको परिचय अहिलेसम्म लगानीकर्तालाई लाभांश कम दिएको र व्यवसाय गर्न नसकेको भन्ने थियो । जसकारण मर्जर तथा एक्विजिशनको डिलमा पनि ठूलो हेपाइ खानु परेको तीतो अनुभव छ सिभिलसँग ।

तर, बैंकले आफ्नो त्यो छवीलाई अब परिवर्तन लागेको छ । पुस मसान्तको वित्तीय विवरण हेर्दा बैंक २७औं स्थानबाट केही माथि उक्लिएर निक्षेपमा २५औं र कर्जामा २४औं स्थानमा आइपुगेको छ ।

यो उपब्धि बैंकका लगानीकर्ता र कर्मचारी दुबैका लागि अत्यन्तै सुखद् पक्ष हो ।

सीधै वाणिज्य बैंकको लाइसेन्स पाउने पछिल्लो पुस्ताको बैंकमा सिभिल पर्छ । घरजग्गाको कारोबारबाट उदाएका इच्छाराज तामाङको सक्रियतामा बैंकले लाइसेन्स पाएको थियो । तामाङलाई बैंकिङका अनुभव थिएन ।

सिभिलसँगै लाइसेन्स पाएका जनता र कमर्ज एण्ड ट्रष्ट बैंक ग्लोबल आइएमइमा गाभिए । केही राम्रा विकास बैंक गाभेपछि मेगा बलियो भयो भने सेञ्चुरीको अवस्था सिभिलको भन्दा फरक छैन ।

आक्रामक बन्दा सूचकमा छलाङ

नाफामा सिभिल बैंक अझै पनि २७औं स्थानमा छ । तर, अघिल्लो वर्ष २७औं स्थानमा हुँदा गरेको नाफा र अहिले गरेको नाफामा धेरै ठूलो अन्तर छ । बैंकले पुस मसान्तसम्ममा ५० करोड नाफा गरेको छ । गत आर्थिक वर्षमा १ वर्षमा गरेको नाफा यो वर्ष ६ महिनामै गर्न सफल भएको छ ।

०७७ पुस मसान्तको भन्दा ०७८ को अवधिमा बैंकले १५ अर्ब निक्षेप र २० अर्ब रुपैयाँले कर्जा बढाएको छ । २०७६ असार मसान्तमा बैंकमा निक्षेप ४१ अर्ब थियो कर्जा ४२ अर्ब थियो । ०७७ साल असार मसान्तमा ५७ अर्ब निक्षेप ५१ अर्ब कर्जा पुर्यायो । अर्थात्, आफूसँग भएको स्पेशको अधिकतम उपयोग गर्नुपर्छ भन्ने रणनीतिका साथ गत वर्ष सिभिल बैंक आक्रमक व्यवसाय विस्तार गर्न लाग्यो ।

फलस्वरुप, ०७८ पुस मसान्तसम्म बैंकले ९१ अर्ब निक्षेप संकलन गरेर ८७ अर्ब रुपैयाँ कर्जा दिएको छ । सिभिल बैंक साह्रै सुस्त भयो, चल्न सक्दैन भन्नेहरुलाई गत वर्ष सिभिलले आक्रामक व्यवसाय विस्तार गरेर ‘हामी पनि केही गर्न सक्छौं,’ भनेर देखाउन सफल भयो ।

बैंकको एउटा राम्रो पाटो खराब कर्जा न्यून हुनु हो । पुस मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ०.९४ प्रतिशत छ ।

०७६ मा सुनिलको इन्ट्री, त्यसपछि बदलियो रणनीति

सिभिल बैंकमा डेपुटी सीइओको भूमिकामा प्रवेश गर्दै गर्दा सुनिल पोखरेल म्यानमारको बैंकको अनुभव लिएर फर्केका थिए । म्यानमारको एशियन डेभलपमेन्ट बैंक (एडीजी) बैंकमा ५ वर्ष काम गर्ने भनेर गएका पोखरेल ३ वर्षमै नेपाल फर्किए । सिभिल बैंकमा डेपुटी सीइओ भएर काम गर्ने अवसर पाउँदा यतिछिट्टैसीइओ बन्छु भन्ने सोचका थिएनन् पोखरेलले । उनी २०७६ जेठ पहिलो साता डेपुटी सीइओका रुपमा सिभिल प्रवेश गरेका थिए ।

एडीजी बैंकमा रिटेल बैंकिङ चिफ भएर काम गर्दा सिकेको सीपलाई कार्यान्वयन गर्ने योजनाका साथ सिभिलमा धेरै अवसरहरु देखे । र, उनले डेपुटी सीइओको प्रस्ताव स्वीकार गरे ।

संयोज्ञ कस्तो भयो भने सिभिल बैंकमा सीइओ रहेका गोविन्द गुरुङले पदबाट राजीनामा दिए । गुरुङ म्यानमारको बैंकमा सीइओ भएर गए । अनि डेपुटी सीइओ पोखरेललाई बैंकको सञ्चालक समितिले सीइओको जिम्मा दियो ।

‘२७औं नम्बरमा रहेको बैंक थप तल जानसक्ने स्थिति थिएन, त्यसैले सिभिल बैंकलाई माथि ल्याउन सकिन्छ भन्ने आत्मविश्वास थियो,’ पोखरेलले क्लिकमाण्डूसँग भने, ‘हामीले त्यसैबेलादेखि रणनीति बदल्यौं । फलस्वरुप, बैंकका सूचकहरु अहिलेको अवस्थामा आइपुगेका हुन् ।’

ओभर क्यापिटलाइजको समस्याले गाँजेपछि…

२०६७ सााल मंसिर १० गते १ अर्ब २० करोड चुक्ता पुँजी राखेर खुलेको सिभिल बैंकलाई त्यो बेला नियामकले तोकेको न्यूनतम चुक्ता पुँजी २ अर्ब पुर्याउन नै निकै कठिन भएको थियो । २ अर्ब पुर्याएको केही वर्षमै अर्थात् २०७२ सालमा नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको न्यूनतम् चुक्ता पुँजी ८ अर्ब हुनुपर्ने नीति ल्यायो । जुन कार्यान्वयन गर्न निकै सकसपूर्ण थियो । हकप्रद सेयर जारी गरेर बैंकले ८ अर्ब रुपैयाँ चुक्ता पुँजी त पुर्यायो । तर, थपिएको पुँजी अनुसारको अनुसारको व्यवसाय गर्न सकेन । जसकारण बैंक पछि पर्यो ।

सिभिल बैंकका सीइओ पोखरेल सिभिलले लामो समय पुँजी अनुसारको व्यवसाय गर्न नसक्दा पछि परेको बताउँछन् ।

‘सिभिलको समस्या ओभर क्यापिटलाइजको थियो, हामीले यो कुरा बुझेर नै पछिल्लो एक/डेढ वर्ष हामी आक्रामक भयौं,’ उनले भने ।

यतिसम्मकी, वाणिज्य बैंक भएपनि सिभिललाई अहिले व्यवसाय र नाफामा राष्ट्रियकस्तरका विकास बैंकले जितेका छन् । जुन स्वाभाविक होइन । पुँजीको आकार सानो भएका विकास बैंकले सिभिलको भन्दा बढी व्यवसाय गरेपछि सबैले सिभिललाई हेप्न थाले ।

‘सिभिल ओभर क्यापिटलाइज बसेको थियो, बैंकको पुँजीकोष १९ प्रतिशतसम्म पुगेको थियो, हामीले परिवर्तन गरेको नीति नै ओभर क्यापिटलाइज भएर नबस्ने र बिजनेश गर्ने हो,’ सीइओ पोखरेलले बैंकले अवलम्बन गरेको नीति सुनाए ।

सही ट्र्याकमा आयौं, भविष्य उज्ववल छ

सीइओ पोखरेलका अनुसार बैंकको पहिलो चरणको रणनीति बिजनेशको आकार १ खर्ब घटाउनु हो । ०७८ चैत मसान्तसम्ममा निक्षेप १ खर्ब कटाउने र ०७९ असार मसान्तसम्ममा कर्जा पनि १ खर्ब कटाउने हो । अहिले सिभिलले त्यो लक्ष्य पूरा गर्न रफ्तार बढाएको छ ।

‘पहिलो लक्ष्य भनेको बिजनेशमा हामीलाई जितेका राष्ट्रियस्तरका विकास बैंकलाई जित्ने भन्ने हो, चैतसम्म त्यो लक्ष्य पूरा हुन्छ,’ पोखरेलले थपे, ‘एक दशकको यात्रामा लामो समय सही ट्र्याक समात्न सकेको थिएन, बल्ल हामीले बैंकलाई सही ट्र्याकमा अघि बढाउन सफल भएका छौं । बैंकका आगामी दिनहरु उज्ववल छन् ।’

पुँजीकोषमा भएको स्पेशको भरपूर उपयोग

पुँजीको आकार बढेअनुसार व्यसाय बढाउन नसक्दा कुनैबेला सिभिल बैंकको पुँजीकोष अनुपात १९ प्रतिशतसम्म पुग्यो । त्यो भनेको लगानीकर्ताले हालेको पुँजी बिजनेश गर्नमा प्रयोग नभई निष्क्रीय बस्यो ।

‘ब्यवसायमा पूँजीलाई निष्क्रीय राखेर बस्नु भनेको व्यवस्थापनको अक्षमता हो,’ उनले भने, ‘पुँजीको अधिकतम उपयोग गर्नैपर्छ भनेर हामी व्यवसाय विस्तारमा आक्रामक भएका हौं । हाम्रो यो रणनीतिलाई सञ्चालक समितिले पूर्णरुपमा साथ दियो ।’

बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोषको सीमा छेउसम्मै पुगेर बिजनेश गर्ने रणनीतिका साथ सिभिलले ब्यवसाय विस्तार गर्यो ।

अरु बैंकहरु प्राथमिक पुँजीकोष साढे ८ प्रतिशत पुगेर व्यवसाय बढाउन नसक्ने स्थितिमा पुगेको बेला सिभिललाई व्यवसाय बढाउने मौका अझै पनि छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा बैंकको पुँजीकोष अनुपात १५ प्रतिशत छ । यसको मत्वल व्यवसाय बढाउन अझै केही प्रतिशतको स्पेश सिभिल बैंकलाई छ । पुँजीकोष अनुपातलाई बैंकले निष्काशन गरेको ऋणपत्रले पनि ठूलो सहयोग गरेको छ ।

सीइओ पोखरेलका अनुसार सिभिल बैंक अब गत वर्षको जस्तो आक्रामक हुँदैन । आफूसँग भएको पुँजीकोष अनुपातमा निक्षेप बढाएर सँगसँगै कर्जा बढाउने बैंकको योजना छ ।

कर्मचारी कटाएर पनि बिजनेश बढाउन सफल, डिजिटाइजेशनमा फोकस

सिभिल बैंकको सञ्चालक समितिले सीइओ पोखरेललाई ११५ वटा शाखा चलाउन १२ सय जना कर्मचारी नियुक्त गर्न सक्ने अधिकार दियो । पोखरेल सीइओ बन्दा बैंकमा १ हजार २३ जना कर्मचारी थिए । सञ्चालक समितिले कर्मचारी थप भर्ना गर्ने अधिकार दिएपनि पोखरेलले बैंकमा रहेको कर्मचारी संख्या घटाउने नीति लिए ।

अहिले बैंकमा ९५० जना कर्मचारी छन् भने शाखा संख्या ११५ वटा नै छ । यो अवधिमा बैंकले निकै ठूलो बिजनेश बढाएको छ । अर्थात् स्थापनाको १० वर्षमा बराबरको बिजनेश पछिल्लो डेढ÷दुई वर्षमा गर्न सफल भएको छ ।

‘हामीले यति आक्रामक ढंगले बिजनेश बढाउँदा पनि कर्मचारीको संख्या बढाएनौं, बरु उल्टै घटायौं,’ पोखरेलले भने, ‘हामीले डिजिटाइजेशनमा काम गर्यौं । प्रविधिले मान्छेलाई रिप्लेस गर्दै गयौं । जसकारण कम लागतमै बढी बिजनेश गर्न संभव भयो ।’

बैंकले आफ्ना प्रोडक्टलाई डिजिटल बनाउने नीति र बैंकको प्रणालीलाई बनाएको डिजिटाइजेशनले कर्मचारी संख्या घटाएर बढी उत्पादकत्व लिन सकिएको उनको भनाइ छ ।

‘बैंकको आन्तरिक स्रोतबाट डिजिटल प्रणालीको विकास भयो, म्यानमारमा काम गर्दा सिकेको अनुभव सिभिल बैंकमा प्रयोग गरेको सफल भएको देखिएको छ,’ पोखरेलले भने ।

अहिले पैसा जम्मा गर्न र निकाल्न बैंक आउनु नपर्ने प्रणालीको विकास भइसकेको छ । त्यसको फाइदा सिभिलले लियो । बैंकको प्रणालीलाई डिजिटाइजेशन गर्दा ५ जना कर्मचारीले गर्ने काम २ जना कर्मचारीबाट हुनसक्यो ।

‘डिजिटाइजेशनले गर्दा घटेको कर्मचारी संख्याले बैंकको करिब १० करोडजति पैसा बचत भएको देखियो, कर्मचारीको काम गर्ने शैलीमा परिवर्तन भयो भने पहिलाभन्दा बढी काम हुन थाल्यो,’ पोखरेल भन्छन् ।

डिजिटाइजेशन र डिजिटल प्रणाली विकास गर्दै लैजाने हो भने ८ सय कर्मचारीले काम गर्न सकिने उनको भनाइ छ । अटोमेटिक सिस्टममा गएपछि ब्याक अफिसमा काम गर्ने कर्मचारी नचाहिने र ५ जनाले चलाउन सक्ने शाखा २ जनाले चलाउन सक्ने पोखरेलको विश्वास छ ।

‘युनिभर्सल टेलर अवधारणमा जाने हो भने ५ जना कर्मचारीबाट चलेको बैंकको शाखा २ जनाबाट चलाउन सकिन्छ, एउटा कर्मचारीबाट टेलरबाहेक अरुपनि काम लिन सकिन्छ,’ पोखरेलले भने ।

बैंकले कर्मचारी हटाउन भने कुनै दवाव दिएको छैन र भिआरएस प्याकेजसमेत ल्याएको छैन । कर्मचारी भर्ना हुने राजीनामा दिने कुरा बैंकमा नौलो होइन । बैंकले आवश्यक नपर्ने स्थानमा कर्मचारीले राजीनामा दिएपछि नयाँ भर्ना रोकेको कारण संख्या घटेको पोखेरेल बताउँछन् ।

बिजनेशमा कर्पोरेटबाट रिटेल र एसएमइमा डाइल्यूट

सिभिल बैंकले स्थापनाकालमा कर्पोरेट फोकस गरेको थियो । जसलाई घटाउने नीति लिए पोखरेलले । बैंकको कुल कर्जामा ५० प्रतिशतको हाराहारीमा रहेको कर्पोरेटको हिस्सालाई घटाएर अहिले २८ प्रतिशतमा झारिएको छ । निकट भविष्यमै यसलाई २० प्रतिशतमा झार्ने पोखरेलको योजना छ ।

अहिले साना तथा मझौला (एसएमई) ३५ प्रतिशत छ भने ३५ प्रतिशत रिटेल बिजनेशको हिस्सा छ ।

एसएमई र रिटेलमा फोक हुँदा ग्राहकको संख्यामा गुणात्मक वृद्धि

३ लाखको संख्यामा रहेको निक्षेपकर्ताको संख्या पछिल्लो एक/डेढ वर्षमै ७ लाख पुग्यो । ५ हजारको संख्यामा रहेको ऋणीको संख्या १६ हजारमा पुगेको छ । यो आर्थिक वर्षभित्रै १० लाख ग्राहक पुर्याउने बैंकको योजना छ ।

बैंकको ११५ वटा शाखा भए पनि २० प्रतिशत शाखाले ८० प्रतिशत व्यवसाय होल्ड गरेको हुन्छ । बैंकले ८० प्रतिशत बिजनेश हुने शाखामा फोकस गर्दै साना तथा मझौला व्यवसायमा ऋणको लागि बढी प्राथमिकता राख्ने रणनीति बनाएको छ ।

एसएमई बैंकको पनि भविष्य

अर्थतन्त्रको मेरुदण्ड साना तथा मझौला व्यवसायी हुन् । जसले वर्षेनी गर्ने ऋणको माग पनि बढ्दो छ ।

‘पछिल्लो समय एसएमई ऋणको मागपनि बढी छ, ५ वर्ष अगाडि २ करोड लिने ग्राहकले अहिले ५ करोड लिने स्थितिमा छन्, एसएमई बैंकका लागि भविष्य हो,’ पोखरेल भन्छन् ।

साना तथा मझौला व्यवसायीलाई ऋण दिनका लागि बैंकले कर्पोरेटभन्दा बढी कर्मचारी खटाउनुपर्छ । यसका लागि पोखरेलले डिजिटल र डिजिटाइजेशन प्रणालीबाट कर्मचारीको संख्या घट्न सक्ने योजना बनाएका छन् । कर्पोरेटमा १० अर्बको ऋणको लागि एकजना आरएम खटाए एसएमईमा १० अर्बको लागि १० जना खटाउनुपर्ने अहिलेको स्थिति छ ।

तर, डिजिटाइजेशनमा गएमा हामीले ५ जनामा झार्न सकिने मोबाइलबाटै एसएमई ऋण दिन सकिने पोखरेल बताउँछन् ।

अब दोहोरो अंकको प्रतिफल

सिभिल बैंकले अहिलेसम्म आफूले व्यवसाय गरेर दोहोरो अंकको प्रतिफल दिएको छैन । बैंकको दोस्रो त्रैमासको वित्तीय विवरणले अब बैंक दोहोरो अंकको प्रतिफल दिनसक्ने स्थितिमा पुगेको देखाउँछ ।

बैंकहरुले ब्याजदर नबढाउने भएपछि लागत नबढ्ने र अघिल्लो वर्षमा दिएको ऋण नवीकरण गर्दा बेसरेटमा दिनु नपर्ने हुँदा थप आम्दानी बढाउन सकिने आँकलन बैंकले गरेको छ । जसले गर्दा अहिलेको स्थिति कायम रहेमात्रै पनि बैंकले दोहोरो अंकको लाभांश दिनसक्ने पोखरेल सुनाउँछन् ।

मर्जर र एक्विजेशनमा खुल्ला तर हेपिएर नजाने

राष्ट्र बैंकले वाणिज्य बैंकको संख्या घटाउने नीति लिएपछि धेरैको बुझाइ सिभिल बैंक कुनै वाणिज्य बैंकसँग गाभिन जान्छ भन्ने थियो । र, अझै पनि छ । स्थापनाको एक दशकमा औसतमा ५ प्रतिशतसमेत प्रतिफल नदिएको बैंकको भविष्यका बारेमा यस्तो टिप्पणी हुनु नौलो पनि थिएन । राष्ट्र बैंकका अधिकारीसँग अनौपचारिक कुरा गर्दा सिभिल बैंक बलियो वाणिज्य बैंकसँग मर्जरमा जान सक्ने बताउँथे ।

तर, बैंकको अहिलेको रणनीति २ वर्षजस्तो पुरानो छैन । २ वर्ष अगाडि जुन सञ्चालक छिटो मर्जरमा जान चाहेका थिए उनीहरु अहिले राम्रो मूल्य नपाएसम्म मर्जरमा नजाने बताउन थालेका छन् ।

कतिपयले सिभिलको अहिलेको ग्रोथलाई ठूलो वाणिज्य बैंकसँग मर्जरको लागि राम्रो मूल्य लिने रणनीतिको रुपमा पनि लिन्छन् । तर, सीइओ पोखरेल भने सिभिलले व्यवसाय गर्ने नीति लिएको र अर्कोसँग जानको लागि व्यवसाय नबढाएको बताउँछन् ।

‘२ वर्ष अघिकोजस्तो स्थिति अब सिभिल बैंकको छैन, ५ प्रतिशत पनि प्रतिफल नआएको हुँदा १० प्रतिशत प्रतिफल दिने संस्थामा मर्ज भए हुन्थ्यो भन्ने भावना सञ्चालको थियो, अब १५ देखि २० प्रतिशत आउने संस्थामा जानुपर्छ भन्ने भावना छ,’ पोखरेलल भन्छन्, ‘पछिल्लो समय हामीले बिजनेश गरेर कन्फिडेनस बडाएका छौं । अब दोहोरो अंकको प्रतिफलसहित बैंक चलाउन सकिन्छ भन्ने कन्फिडेन्स लगानीकर्ताहरुमा छ ।’

मर्जर गर्ने अधिकार सञ्चालक समितिको भएको र बैंक अफ आफ्नो हिसाबले चल्दा पनि लगानीकर्तालाई दोहोरो अंकको प्रतिफल दिन सक्ने स्थितिमा पुगेको पोखरेलको दाबी छ ।

१०० अर्बको ऋणको आकार भएपछि न्यूनतम पनि दोहोरो अंकको प्रतिफले बैंकको भ्यालुएसन बढ्ने र सञ्चालक समितिले सेयरधनीलाई फाइदा हुने निर्णय लिन सजिलो हुने देखिन्छ ।

पोखरेल सिभिल बैंक सिनर्जी आउने भए अरु वाणिज्य बैंकसँग र आफ्नोमा विकास बैंक र फाइनान्स गाभ्ने विकल्पमा खुल्ला रहेको बताउँछन् ।

‘मर्जरबाट सिनर्जी आउँछ र प्रतिफल राम्रो हुने देखिएमा सिभिल ब्राण्ड नै ठूलो कुरा नहुनसक्छ, मर्जरको अधिकार भने सञ्चालक समितिको हो,’ पोखरेलले भने ।

पोखरलेका बुझाइमा सिभिलका लागि अहिले कर्पोरेट फोकस भएका र पुँजीकोष अनुपात कम भएका बैंकसँग मर्ज भएमा सिनर्जी आउनसक्छ ।

‘हिँजोजस्तो सिभिललाई हेप्ने खालको मर्जरको प्रस्ताव अब आउने छैन, सूचकहरु बलिया छन्, बैंकको इमेज परिवर्तन भएको छ,’ पोखरेल भन्छन्, ‘यसले थप ऊर्जा बढाएको छ ।’

इच्छाराजले ब्राण्ड सिभिलमा गरेन असर

सिभिल बैंकको स्थापना इच्छाराज तामाङले नै गरेका हुन् । सिभिल ब्राण्डमा हाउजिङदेखि सहकारी चलाएका तामाङको नेतृत्वमा बैंक खुलेको हो । इच्छाराजको घरजग्गा र सहकारी व्यवसायमा समस्या आयो । २०७० सालमा नेकपा एमालेबाट संविधानसभा सदस्य भएका तामाङले नगद व्यवस्थापन गर्न नसकेपछि सहकारीकर्ताको पैसा फिर्ता गर्न सकेनन् ।

सिभिल सहकारीले पैसा फिर्ता गर्न नसकेको तथा तामाङ पक्राउ गर्दा सिभिल बैंकको अध्यक्ष हुँदा बैंकलाई असर गर्ने अनुमान थियो । राष्ट्र बैंकका अधिकारीहरु नै तामाङ पक्राउपछि सिभिलमा निक्षेप बढी निस्कने हो कि भनेर डराएका थिए । तामाङले चलाउने सहकारी र सिभिल बैंक फरक संस्था हो । तामाङको सिभिलमा सेयर छ । र, उनी पक्राउ पर्दा बैंकको अध्यक्ष भएपनि बैंक फरक तरिकाले चलेको थियो ।

बैंकका सीइओ पोखरेल तामाङ आफ्नो अरु व्यवसायको कारण पक्राउ परेकाले बैंकमा कुनै पनि नदेखिएको बताउँछन् पोखरेल ।

अध्यक्ष र सीइओको मिलेको ट्यूनिङ

इच्छाराजको बहिर्गमनसँगै युवा उद्यमी प्रतापजंग पाण्डे बैंकको अध्यक्ष बनेका छन् । अध्यक्ष पाण्डे र सीइओ पोखरेलको ट्यूनिङ मिलेको छ । जसले सिभिल बैंकलाई नयाँ उचाइमा पुर्याउनेमा सरोकारवालाहरु विश्वस्त छन् ।


आशीष ज्ञवाली