अरु बैंकले हेपेर कम रेट दिएपछि मर्जरमा गएनौं, अब प्रविधिमा अब्बल हुन्छौं



युवा उद्यमी प्रतापजङ्ग पाण्डे हालैमात्र सिभिल बैंकको अध्यक्ष चुनिएका छन् । बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङलाई अर्बौं ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेपछि बैंक सञ्चालक समितिले पाण्डेलाई अध्यक्ष निर्वाचित गरेको हो । तीब्र प्रतिस्पर्धाका कारण पछिल्लो समय बैंकिङ व्यवसाय चुनौतिपूर्ण बन्दै गएको छ । कान्छो बैंककोरुपमा स्थापित भएको सिभिल बैंकको प्रफर्मेन्स पनि कान्छै छ । स्थापनाको ११ वर्ष पुग्दा पनि लगानीकर्ताले औषतमा ४ प्रतिशतको मात्रै लाभांश पाएका छन् । अर्कातिर नियामकले मर्जरको दबाब पनि उत्तिकै दिइरहेको छ । यस्तो अवस्थामा सिभिल बैंकको नेतृत्व लिन आइपुगेका पाण्डेसँग बैंकलाई अघि बढाउने के कस्ता योजना छन् ? सिभिल बैंक एक्लै टिकेर अघि बढ्छ कि मर्जरमा जान्छ ? कमजोर प्रफर्मेन्स भएको संस्थालाई नयाँ नेतृत्वले कसरी बलियोरुपमा प्रस्तुत गर्छ ? लगायतका विषयमा केन्द्रित रहेर अध्यक्ष पाण्डेसँग क्लिकमाण्डूका लागि कमलकुमार बस्नेतले गरेको कुराकानीः

सिभिल बैंकको अध्यक्षमा चुनिनु भएको छ । बैंकको ब्राण्डलाई अझै बलियो बनाएर कसरी अगाडि बढाउनुहुन्छ ?

सिभिल बैंक अहिले ११ वर्षमा प्रवेश गरेको छ । नेपालको बैंकिङ इतिहासमा हामी सबैभन्दा कान्छो बैंक हो । नेपालमा ८४ वर्षदेखिका बैंकसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था छ । यस हिसाबले सिभिल टिएनजर बैंक हो भन्न सकिन्छ । अन्य देशमा हेर्ने हो भने बैंकको इतिहास २ सय वर्षसम्मको देख्न सकिन्छ । जहाँसम्म सिभिल बैंकको विषय छ बैंकले केही अघिसम्म आफ्नो पुँजीको आकारअनुसारको व्यापार गर्न सकेको थिएन । तर, अहिले हामीले आफ्नो पुँजीको आकारअनुसारको व्यापार गरिरहेका छौं । जसका कारण बैंकले अब सेयरधनीहरुलाई दोहोरो अंकको लाभांश दिने गरी व्यवसाय गर्ने योजना बनाइरहेको छ । अब भविष्यको चूनौती भनेको डिजिटाइजेसन हो । अब बैंकले डिजिटाइजेसनमा काम गर्नुपर्नेछ । र, यसका लागि हामीहरु प्रतिबद्ध भएर अघि बढेका छौं ।

बैंकका अध्यक्ष इच्छाराज तामाङ ठगी आरोपमा पक्राउ परेपछिको असर बैंकमा कस्तो परेको छ ?

अहिले धेरै मानिसमा बैंक कुनै व्यवसायिक घरानाको भन्ने मानसिकता छ । तर, त्यो होइन । कुनै व्यक्ति वा घरानासँग सम्बन्धित हुने वित्तिकै त्यस्ता व्यक्ति वा घरानाको प्रभाव रहन्छ भन्ने होइन । बैंक आफैंमा पारदर्शी हुन्छ । तामाङजी पक्राउ पर्दा संस्थापक अध्यक्षका हिसाबले केही असर पर्ला तर बैंकको व्यवसायमा केही फरक पर्दैैन । नियमनकारी निकायबाट निरन्तर भइरहने अनुमगन र नियमनले खासै फरक पर्दैन । बैंक आगामी दिनमा अझ सशक्त ढंगले अगाडि बढ्ने छ ।

राम्रो र सम्मानजनक प्रस्ताव आयो भने मर्जरमा जानका लागि तयार छौं । आगामी दिनमा ग्रोथका साथै रिटर्न पनि बढाउँदै जान सक्ने अवस्था छ । आगामी दिनमा रिनर्ट दोहोरो अंकमै दिने योजना छ । र, त्यसका लागि पनि काम गरिरहेका छौं ।

तपाईं आफै बैंकिङ क्षेत्रमा लामो समय बिताउनु भयो । अहिले बैंकको अध्यक्ष हुनुहुन्छ । सिभिल बैंकको अहिलेको रिटर्न र बिजनेशले टिकाउन सकिन्छ ?

टिकाउन नसक्ने भन्ने हुँदैन । बैंकले पछिल्लो समयमा राम्रो बिजनेश गरिरहेको छ । बैंकको अब प्रकाशित हुने वित्तीय विवरण हेर्दा इपीएसमा सुधार देख्न सक्नुहुनेछ । अन्य सूचकांकमा पनि राम्रो प्रगति देख्न सक्नुहुन्छ । अहिले सिभिल बैंकले राम्रो व्यवसाय गरिरहेको छ । त्यसको नतिजा केही समयपछि पक्कै पनि देखिनेछ । हामी मध्यमस्तरको बैंकको हैसियत राख्न सकिन्छ भन्ने हो । टिकाउने भन्ने विषय जसरी पनि टिक्छ । हामीले त यसलाई अझ राम्रो बनाउने योजनाका साथ काम गरिरहेका छौं ।

बैंकले स्थापनाभएपछि ८ पटक लाभांश दिएको छ । जसमा एकपटक मात्रै दोहोरो अंकमा लाभांश पाएका छन् । त्यसपछि एकल अंकमा मात्रै लाभांश पाएका छन् । जसमा औसत ५ प्रतिशत पनि पुग्दैन । यो त असाध्यै कम होइन र ?

यो समग्र बैंकको तुलनामा औसतभन्दा पनि कम हो । त्यो किनभने बैंकले विगतमा राम्रोसँग व्यवसाय गर्न सकेको थिएन । अब तपाईंले धेरै लामो समय कुर्नु पर्दैन । हामीहरुले दोहोरो अंकमा लाभांश दिने गरी अहिले व्यवसाय गरिरहेका छौं । यसमा अब हामीहरुले डिजिटलमा राम्रो काम गरिरहेका छौं । बैंकको बलियो पक्ष नै डिजिटलाइजेसन नै हुनेछ । अन्य बैंकमा १ हजार जना स्टाफले गर्ने काम हाम्रो बैंकमा ८ सय जनाले काम गरेर देखाउनेछौं ।

यसअघि तपाईं बैंकको मर्जर कमिटीमा हुनुहुन्थ्यो । मर्जरको विषयमा यहाँको योजना के हो ?

मर्जर आजका दिनमा अपरिहार्य हो । हिँजोका दिनमा ‘क’ वर्गका बैंकले ‘ख’ र ‘ग’ वर्गका बैंकलाई गाभ्ने चलन थियो भने अहिले समानस्तरका बैंक नै गाभ्ने वा मर्जर गर्ने चलन बढेको छ । तर, मर्जर हतारोमा गर्नु हुँदैन । हामीले विगतमा ३/४ वटा बैंकसँग मर्जरका लागि कुराकानी पनि भएको हो । तर, त्यो समयमा मर्जरभन्दा पनि होस्टाइल टेकओभरका रुपमा लिन चाहेको हाम्रो अनुभव भयो । जसरी हुन्छ बैंकलाई सस्तोमा लिन खोजेको देखियो । त्यो किन भयो भने बैंकले राम्रो व्यवसाय गर्न सकेन । त्यसैले हामीहरुले पछिल्लो २ वर्षयता व्यापार बढाउन लागेका छौं । हिँजोका दिनमा जुन प्रकारको अफर र व्यवहार भयो अबका दिनमा त्यस्तो नहोस् भन्ने उद्देश्यले नै हामीहरुले व्यवसाय बढाइरहेका छौं ।

कति रेटसम्म अफर गरे ?

हामीलाई ५० रुपैयाँभन्दा माथि नै अफर गरियो । तर, क्यापिटल साइज एउटै भएको हिसाबमा त्यो हामीलाई मान्य भएन । हामीसँग क्यापिटल एडुकेसी राम्रो थियो । बैंकको यसभन्दा अघिको व्यवस्थापक पनि त्यति आक्रामक थिएनन् । तर, बैंकले राम्रो व्यवसाय गरिरहेको छ । र, हामीहरु पनि सम्मानजनक मर्जरका लागि तयार नै छौं । मर्जर गर्दा २ मा २ जोड्दा ५ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । अहिले पनि मर्जरको विषयमा कुराकानी नभएको होइन । कोरोना महामारीका कारण मर्जरको विषयमा कुराकानी कम भयो । भेटेर कुराकानी गर्ने समय भएन ।

मर्जर सबैको हितका लागि हुने अवस्था भयो भने हामी मर्जरका लागि तयार छौं । मर्जरका लागि केही आधारहरु तयार पार्नुपर्छ । डीडीएदेखि विविध विषयहरु पनि छन् । विगतमा ठूलोको पक्ष लिएर मर्जर भएको पनि उदाहरण छ । कतिपय बैंकहरुमा अहिले पनि मर्जर भए पनि कर्मचारी व्यवस्थापनमा समस्या देखिएको छ । एक पक्षका कर्मचारीहरु छाडेर गएको अवस्था छ । कर्मचारीहरुको पनि बैंकमा लगानी भएको हुन्छ । त्यसैले उनीहरुको पनि आत्मसम्मान पनि महत्वपूर्ण विषय हो ।

तपाईं अध्यक्ष भएपछि पनि मर्जरको प्रस्ताव आएको छ ?

अहिले त आएको छैन । तर, हामीहरु यसमा तयार छौं ।

अब तपाईंहरुको रणनीति के हो ? मर्जरमा जाने कि एक्लै अघिबढ्ने ?

राम्रो र सम्मानजनक प्रस्ताव आयो भने मर्जरमा जानका लागि तयार छौं । आगामी दिनमा ग्रोथका साथै रिटर्न पनि बढाउँदै जान सक्ने अवस्था छ । आगामी दिनमा रिनर्ट दोहोरो अंकमै दिने योजना छ । र, त्यसका लागि पनि काम गरिरहेका छौं ।

सँगैका बैंकहरु ठूला भइसके, सिभिल बैंकले त्यो प्रगति हासिल गर्न सकेको छैन नि ? यसमा कहिल्यै गंभीर समीक्षा गर्नुभएको छ ?

विगतमा सिभिल बैंकले भनेजस्तो बिजनेश गर्न नसकेको भन्नेमा स्वीकार गर्नैपर्छ । तर, आगामी दिनमा त्यस्तो हुँदैन । क्यापिटल साइज अनुसारको व्यवसाय हुन नसक्नु हाम्रो लागि नराम्रो भयो । यसबीचमा हामीले विकास बैंक र फाइनान्सलाई मर्जर गर्न सक्ने थियौं तर भएन । व्यवसाय बढाउने भन्ने विषय आजको भोलि हुँदैन । तर, हामी त्यो दिशामा अघि बढेका छौं ।

गत वर्ष कोरोना महामारीका कारण पनि व्यवसाय राम्रो थियो । यसवर्ष तरलता अभावको समस्या छ । यसले कस्तो असर गरेको छ ?
तरलता अभावका कारण पनि बैंकले राम्रो ग्रोथ गरिरहेको छ । तर, यो त्रैमासमा व्यवसाय राम्रो नहुनुको कारण तरलता अभाव मात्रै नभइ पुँजीकोष पनि टाइट भएर हो । अब हामीले छिट्टै ३ अर्ब रुपैयाँको बन्ड जारी गर्दैछौं । यसले पुँजीकोष पर्याप्त हुनेछ । त्यसलाई बैंकलाई काम गर्न सहज हुनेछ । तर, यो समस्या सँधैभरी रहन्न भन्ने हो ।

अन्य बैंकलाई भेट्टाउनका लागि एग्रेसिभ हुनुपर्ला नि, होइन र ?

एग्रेसिभ भएर मात्रै हुँदैन । संयमित पनि हुनुपर्छ । एग्रेसिभ मात्रै भएर पनि हुँदैन । बैंकले रिटर्नसँगै सबल पनि बनाउनुपर्छ । बैंकको इपीएस मात्रै हेरेर हुँदैन एसेट क्वालिटी पनि हेर्नुपर्छ । एकवर्ष रिटर्न दिएर अर्को वर्ष दिन सकिए भने त्यो राम्रो हुँदैन । कतिपय कुराहरु राष्ट्रले के नीति लिएको छ भन्ने आधारमा पनि तय हुन्छ । अहिले हामीले सहुलियतपूर्ण कर्जा, पुनरकर्जा दिनुपर्ने अवस्था छ । त्यसबाहेक जलविद्युत्, कृषिलगायतका क्षेत्रमा पनि लगानी गर्नुपर्ने दायित्व हुन्छ । सबै नियम पालना गर्नु पनि बैंकले पालना गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले लिएको नीतिअनुसार काम गर्दै जानुपर्छ । त्यसैले नाफामात्रै भनेर बैंक पछि लाग्नु हुँदैन ।

तर, तपाईंले अध्यक्षका रुपमा बैंकलाई मुख्य सूचकांकमा कहाँ पुर्याउने योजना बनाउनु भएको छ ?

यसमा धेरै सूचकांकहरु हुन्छन् । त्यसमध्ये बाहिर देखिने इपीएस हो । त्यसमा क्रमिकरुपमा सुधार भइरहेको छ । त्यसबाहेक एनपीएलाई सकेसम्म कममा राख्दै जाने हो । समग्रमा मुख्य सूचकांकहरुमा सुधार गर्दै लैजाने अहिलेको योजना हो ।

बैंकका सीइओलाई सञ्चालकले हस्तक्षेप गर्छन् भन्ने टिकाटिप्पणी सुनिन्छ । तपाईंले कस्तो अभ्यास अपनाउनु भएको छ ?

अन्य बैंक र हामीमा के फरक छ भने म पूर्वबैंकर पनि हो । त्यसले गर्दा म्यानेजमेन्टलाई कस्ता समस्या आइपर्छन् भन्ने थाहा छ । त्यसबाहेक म व्यवसायी पनि हो । मलाई रिटर्नमा पनि चासो रहन्छ । कतिपय बैंकमा सञ्चालकहरुले माइक्रोम्यानेजमेन्ट गरेको सुुन्छौं । तर, हाम्रोमा त्यस्तो छैन । स्वतन्त्ररुपमा काम गर्न दिएका छौं । बैंकको अध्यक्षका रुपमा कसैलाई जागिर लगाउने, हस्तक्षेप भन्ने मबाट हुँदैन ।

तपाईं बैंकर र व्यवसायी दुबै हुनुहुन्छ । तर, यी दुबैजना कहिल्यै पनि मिलेको देखिन्न । खासमा बैंकले व्यवसायीलाई दुःख दिएकै हुन् ?

बैंक त ब्रिजमात्रै हो । सहजकर्ताको भूमिका निर्वाह गरेको हुन्छ । व्यापारीहरुले सस्तो ब्याज हुँदा बैंकलाई गाली गर्दैनन् । तर, जब तरलता संकट आइपर्छ अनि बैंकलाई गाली गर्न थाल्छन् । व्यापारीहरुले पनि ओभरसाइज भएर व्यापार गर्नु हुँदैन । कतिपय अवस्थामा क्षमताभन्दा बढी व्यवसाय गर्दा भोलिका दिनमा दुर्घटना हुन पनि सक्छ । अहिले कोरोनाको समयमा माग कम थियो । कोरोना नियन्त्रणमा आएपछि माग बढेको छ । जसका कारण तरलता अभाव भएको छ । बैंक व्यवसायीका लागि सहजकर्ता मात्रै हो । सीमित मार्जिन राखेर लगानी गर्ने हो । बैंकले पनि व्यवसाय गर्नुपर्ने हुन्छ । घाटा खाएर लगानी गर्ने भन्ने हुँदैन । यो समग्रमा माग र आपूर्तीबीचको सम्बन्ध हो । हाम्रोमा बजेटरी खर्च राम्रोसँग भयो भने यस्तो समस्या पनि आउँदैन । आर्थिक वर्षको शुरुवातदेखि नै विकास खर्च भयो भने समस्या हुँदैन । त्यसबाहेक कतिपय अवस्थामा नीतिगत व्यवस्थाका कारण पनि द्वन्द्व चर्किएको अवस्था हुन्छ । त्यसबाहेक एफडीआई पनि आएको भन्ने सुनिन्छ तर उहाँहरुले यहीँबाट कर्जा लिएको देखिन्छ । वैदेशिक लगानीका नाममा बाहिरबाट थोरै रकम ल्याएर यहाँबाटै कर्जा लिँदा समस्या हुन्छ ।

हेलिकोप्टरको व्यवसाय कस्तो छ ?

कोरोना महामारीका कारण व्यवासय कोमामा थियो । तर अहिले व्यवसायले गति लिएको अवस्था छ । तर फेरि ओमिक्रोनको त्रास आएको छ । यसले फेरि हेलिकोप्टरको व्यवसायमा समस्या निम्त्याउने निश्चित छ । कोरोनाका कारण विदेशी पर्यटकको आगमन ठप्प भएको छ । हिजोका दिनमा विदेशी र स्वदेशीको हिस्सा ८०/२० हुन्थ्यो भने अहिले कोरोनाका कारणले आन्तरिक पर्यटन बढेको छ । जसका कारण भोलिका दिनमा आन्तरिक पर्यटक ४० प्रतिशत हुने अवस्था देख्न सकिन्छ । भारतमा पनि आन्तरिक पर्यटकलाई लक्षित गरी होटल निर्माण गर्न थालिएको छ । नेपालमा पनि पर्यटकहरु देशभित्र पनि घुम्न पाएका छैनन् । सरकारले सडक यातायात तथा विद्युतको पहुँच पुर्याउन सकेको अवस्थामा पर्यटकहरुको संख्या बढ्नेछ ।

हेलिकोप्टरले सञ्चालन खर्च धान्नका लागि दिनमा कति घण्टा उडान गर्नुपर्छ ?

अहिले हामीसँग ३ वटा हेलिकोप्टर सञ्चालनमा छन् । यी सबै हेलिकोप्टर दैनिक कम्तीमा २ घण्टा उडान हुनुपर्छ । २ घण्टा दैनिक उडान हुँदा यसले सञ्चालन खर्च धान्नसक्छ । त्यसभन्दा माथि उडान गर्न सक्यौं भने नाफामा जाने अवस्था आउँछ । अहिले प्रतिष्पर्धाका कारण उडान सस्तो भएको छ । आजका दिनमा दैनिक २ घण्टा उडान गरिरहेका छन् । ब्रेकइभनमा छौं । नाफा आर्जन गर्न सकिएको छैन ।


क्लिकमान्डु