कांग्रेस कार्यसम्पादन समितिको बैठकमा देउवाले एमसीसीका विषयमा बोल्नुस् भनेपछि…



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बिहीबार बसेको बैठकका लागि तय भएका एजेन्डामा एमसीसीको विषय समावेश थिएन ।

तर, प्रधानमन्त्री समेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठक शुरु गर्दै केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुलाई अहिलेको बहुचर्चित विषय एमसीसीका विषयमा धारणा राख्न समय दिए ।

बैठकको शुरुमै नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसी परियोजना नेपालका लागि किन आवश्यक छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । उनले एमसीसी परियोजनाले नेपालको आर्थिक विकासमा कस्तो योगदान दिन्छ भन्ने विषयमा बृहत धारणा प्रस्तुत गरे ।

त्यसपछि पनि बोल्ने केन्द्रीय कार्यसम्पादन समितिका सबै सदस्यहरुले एमसीसी परियोजना पारित गर्नुपर्ने पक्षमा धारणा राखेका थिए ।

बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका अनुसार सदस्यहरुले एमसीसीका विषयमा प्रतिपक्ष दललाई मिलाउन र सत्ता गठबन्धन दलहरुलाई मनाउन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

‘नेपाली कांग्रेस पहिलदेखि नै एमसीसीका विषयमा प्रतिबद्ध थियो,’ थापाले क्लिकमाण्डूसँग भने, ‘गठबन्धनलाई मिलाएरै भए पनि एमसीसी संसदमा पेश गर्ने वातावरण बनाउन सबै सदस्यहरुले सुझाव दिनु भयो ।’

केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेकाले भोलि शुक्रबार बस्ने बैठकले एमसीसीका विषयमा निर्णय गर्नेछ ।


क्लिकमान्डु