सूर्या लाइफको खुद बीमाशुल्क २ अर्ब माथि, नाफा २२% ले घट्यो



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा २ अर्ब रुपैयाँभन्दा धेरै खुद बीमाशुल्क संकलन गरेको छ ।
कम्पनीले ६.६९ प्रतिशतले खुद बीमाशुल्क बढाएर २ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ पुर्याएको हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले २ अर्ब २८ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद नाफामा भने गिरावट आएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.१७ प्रतिशत कम हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २० करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी १८.३३ प्रतिशत बढेर २ अर्ब ५५ करोड २ लाख ८२ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोष ४‍.३२ प्रतिशत घटेको छ ।

इन्स्योरेन्सको जीवन बीमा कोषको आकार ३५.३५ प्रतिशतले बढेर १२ अर्ब ५७ करोड १५ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सले ३ हजार ३९२ दाबीबापत ४४ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेको छ । ९६ दाबीबापत १ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२.२९ रुपैयाँ रहेको छ ।

कम्पनीले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ४६ करोड ७९ लाख ७ हजार रुपैयाँ आम्दानी गरेको छ ।

बीमालेखको धितोमा कर्जाबाट ६ करोड २५ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अभिकर्ता कमिशनका लागि ३१ करोड ५७ लाख २६ हजार रुपैयाँ खर्चेको छ ।


क्लिकमान्डु