नयाँ श्रम स्वीकृती २ वर्षपछिकै उच्च



काठमाडौं । कोभिड–१९ को तेस्रो लहर अर्थात् ओमिक्रोनको तीब्र संक्रमणको अवस्था हुँदासमेत वैदेशिक रोजगारीमा कुनै असर देखिएको छैन । विगतको दिनमा कोरोना महामारीका कारण निकै प्रभाव परेको वैदेशिक रोजगारीमा पछिल्लो ओमिक्रोनले भने खासै असर नपारेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ ।

विभागले पुस महिनामा सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको हालसम्मकै उच्च श्रमिक वैदेशिक रोजगारीमा पुगेको देखिन्छ । पुस महिनामा नेपालमा ओमिक्रोनको निकै प्रभाव थियो ।

तर, सोही अवधिमा उच्च कामदार वैदेशिक रोजगारीमा गएको विभागको भनाइ छ ।

पुस महिनामा नयाँ श्रम स्वीकृती लिई करिब ३६ हजार नेपाली श्रमिक रोजगारीको सिलसिलामा विश्वका विभिन्न ८८ वटा देश पुगेका छन् । जसमा ३३ हजार ७६ जान पुरुष छन् भने २९ सय १७ जना महिला रहेका छन् । साथै, पुनः श्रम स्वीकृती र नयाँ श्रम स्वीकृती लिई ६६ हजार ६ सय २५ जना सोही महिनामा विदेशिएको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

पुनः श्रम स्वीकृती र नयाँ रुम स्वीकृति गरी ६६ हजार विदेशिएकामा ६२ हजार २ सय ७३ जना पुरुष छन् भने ४ हजार ३ सय ५२ जना महिला रहेका छन् ।
कोरोना महामारीका कारण करिब डेढ वर्षसम्म प्रभाव परेको अवस्थामा पछिल्लो समय विस्तारै विदेशिने संख्या बढ्दै गएको विभागका महानिर्देशक दिपक काफ्ले बताउँछन् । उनकाअनुसार पछिल्ला दिनहरूमा पुनः श्रम स्वीकृती र नयाँ श्रम स्वीकृती लिई विदेशिनेको संख्या बढ्दै गएको छ ।

‘ओमिक्रोनको तीब्र संक्रमण देखिएपनि सेवा प्रवाह र गन्तव्य मुलुकको उडानमा कुनै समस्या थिएन । जसले गर्दा पुस महिनामा विदेशिने श्रमिकमा कुनै असर देखिएन,’ उनले भने ।

साथै, गन्तव्य मुलुकमा पनि ओमिक्रोनको उच्च संक्रमण हुँदासमेत माग प्रमाणीकरण आइरहेको हुनाले नेपालीले प्रत्यक्ष लाभ लिन सकेको उनको भनाइ छ ।
यसअघि अर्थात मंसिर महिनामा ३४ हजार ४ सय ९७ जनाले मात्रै श्रम स्वीकृति लिएका थिए । तर, नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति गरी ७४ हजार ३ सय ५४ जना विदेशिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी, कात्तिकमा नयाँ र पुनः गरी ५४ हजार ९ सय १८ जना, असोजमा ३९ हजार ६ सय ७१ जना, भदौमा ३६ हजार ४० जना र साउनमा २५ हजार ४ सय २८ जना विदेशिएका छन् ।

सबैभन्दा बढी अदक्ष कामदार विदेशिए

सरकारले हरेक वर्ष वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाउनेमा जोड दिँदै आएका छन् । साथै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकलाई दक्ष बनाउनका लागि विभिन्न तालिम प्रदान गर्दै आएका छन् । तर, हरेक महिनामा हजारौंको संख्यामा अदक्ष कामदार विदशिँदै आएका छन् । त्यस्तै, पुस महिनामा ६६ हजार नेपाली श्रमिक विदेशिएकोमा ५० प्रतिशत अदक्ष कामदार रहेका छन् । सो महिना ३४ हजार अदक्ष कामदार विदेशिएको विभागको भनाइ छ । जसमा ३१ हजार ८ सय ६४ जना पुरुष र २१ सय ३६ जना महिला रहेका छन् ।

त्यसैगरी, २५ हजार २ सय ९१ जना दक्ष, ६ हजार ९०९ जना अर्धदक्ष, १०९ जना प्रोफेशनल र उच्च दक्ष भएको १६ जना वैदेशिक रोजगारीमा गएका छन्


क्लिकमान्डु