महाकाली नदी पुल निर्माण गर्न नेपाल–भारतबीच सम्झौता



महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारत सरकारबीच सम्झौंता भएको छ ।

मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच दार्चुला (नेपाल) र धार्चुला (भारत) जोड्ने महाकाली नदीमा पुल बनाउने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सिंहदरवारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सम्झौंता हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालको विकासका हरेक क्षेत्रमा भारत सरकारको सहयोग रहेको भन्दै महाकाली नदीमा बन्ने पुलले नेपाल र भारतबीचको आवागमन सहज हुने बताइन् ।

उनले पुल बनिसकेपछि त्यहाँका जनताको जनजीवन तथा दुई देशबीचको सम्बन्धलाई अझै उचाईमा पुर्‍याउने विश्वास समेत व्यक्त गरिन् ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाल र भारतको सीमा जोड्ने महाकाली नदीमा पुल बनाउने कुरामा भएको सम्झौता खुशीजनक रहेको बताए ।

उनले भारत सरकार र नेपाल सरकारको सहकार्यमा धेरै कामहरु भइरहेको उल्लेख गर्दै उक्त क्षेत्रमा बन्ने पुलले नेपाल र भारतका लागि आवागमनमा सहजता ल्याउने विश्वास व्यक्त गरे ।

‘नेपाल र भारतको सीमा जोड्ने महाकाली नदीमा पुल बनाउने कुरामा भएको सम्झौता खुशीजनक छ । भारत सरकार र नेपाल सरकारको सहकार्यमा धेरै कामहरु भइरहेका छन् । उक्त क्षेत्रमा बन्ने पुलले नेपाल र भारतका लागि आवागमनको सहजता मात्रै हुँदैन यसले नेपाल र भारतको संस्कृति, संस्कारलाई पनि जोड्नेछ’उनले भने ।

राजदूत क्वात्राले नेपाल र भारत सरकारको तर्फबाट महाकाली नदीमा बनाइने पुलको काम दुवै देशको सहकार्यमा समयमा नै सम्पन्न हुने विश्वास लिएको पनि बताए ।


क्लिकमान्डु