अबैध डलर कारोबारको आरोपमा पक्राउ परेका खड्का २५ लाख धरौटीमा रिहा



काठमाडौं । विदेशी बिनिमय अपचलनको आरोपमा राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेका कैलाली घर भएका दिनेश खड्का २५ लाख धरौटीमा रिहा भएका छ।

काठमाडौ जिल्ला अदालतले खड्कालाई २५ लाख धरौटीमा छोड्न आदेश दिएको छ।

विभागले विदेशी मुद्राको गैरकानुनी कारोबारमा संलग्न रहेको आरोपमा ३७ करोड ६१ लाख बिगो र ३ वर्ष कैद सजाय माग गर्दै माघ ११ गते मुद्दा दायर गरेको थियो।

अदालतले मुद्दाको टुंगो अन्तिम फैसला बमोजिम हुने भन्दै तत्कालका लागि धरौटीमा रिहा गर्न आदेश दिएको हो।

दुई कम्पनी बाइनान्स र स्क्रिलमार्फत इलेक्ट्रोनिक करेन्सीको कारोबार गरेको आरोपमा खड्कालाई पक्राउ गर्दै विभागले अनुसन्धान गरेको थियो ।

कैलाली लम्किचुवा–१० घर भइ हाल काठमाडौं कालोपुल गुरुङटोलमा बस्ने खड्का, उनकी दिदी भगवती खड्का तथा बुबा नरबहादुर खड्का र केटी साथी अनिता धिताल संलग्न उक्त घटनामा विभागले अनुसन्धान गरेको थियो ।

जसमा उनीहरुको बयान, विभिन्न बैंकका स्टेटमेन्टहरु, बरामद गरिएका मोबाइल फोनबाट प्राप्त तथ्यका आधारमा उनीहरु विरुद्ध ई–स्क्रिल तथा बाइनान्स प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलर सम्बन्धी कसूर गरेको तथा उनकी दिदी, बुवा र केटी साथीहरु सामूहिक रुपमा काठमाडौंको कालोपुलमा समेतमा डलरको अनलाइनमार्फत् अवैध रुपमा कारोबार गरेको कसुरजन्य कार्य भएको विभागको भनाइ छ ।


क्लिकमान्डु