१० वर्षमा विदेशिने महिलाको संख्या ७१% ले बढ्यो



काठमाडौं । केही वर्षयता वैदेशिक रोजगारीलगायतका विभिन्न कारणले विदेश जाने महिलाको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक नतिजाअनुसार पछिल्लो १० वर्षमा विदेशीने महिलाहरुको संख्या ७१.०९ प्रतिशतले बढेको छ ।

जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जम्मा २१ लाख ६९ हजार ४७८ व्यक्तिहरु नेपालको परिवारबाट अनुपस्थित भई अक्सर विदेशमा बसोवास गरेका देखिन्छन् । जसमध्ये १७,६३,३१५ पुरूष (८१.२८ प्रतिशत) र ४ लाख ६ हजार १०३ महिला (१८.७२ प्रतिशत) छन् ।

दश वर्षअघि २०६८ सालमा घरपरिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोबास गर्नेहरू) सङ्ख्या १९ लाख २१ हजार ४९४ थियो ।

जसमध्ये पुरूष १६ लाख ८४ हजार २९ (८७.६४ प्रतिशत) र महिला २ लाख ३७ हजार ४०० (१२..३६ प्रतिशत) थिए ।

२०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९ प्रतिशतले बढेको देखिन्छ ।

भौगोलिक क्षेत्रअनुसार विदेश अनुपस्थित जनसंख्याको विश्लेषण गर्दा तराईबाट १० लाख ६५ हजार ९६९ पहाडबाट ९ लाख ८४ हजार ८९६ र हिमालबाट १ लाख १८ हजार ६१३ छन् ।


क्लिकमान्डु