काठमाडौं महानगरमा साढे ८ लाख र नार्फाभूमि गापमा ४४२ जनसंख्या



काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्ने कुल जनसंख्या ८ लाख ६५ हजार ९०६ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार नगरपालिकाहरुमा सबैभन्दा धेरै काठमाडौं महानगरपालिकाको रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार शहरी क्षेत्र वा नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र विरगञ्ज महानगरपालिका हुन् ।

सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरुमा डोल्पा जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभा जिल्लाको मादी, तेह्रथुम जिल्लाको लालिगुराँस र दोलखा जिल्लाको जिरी नगरपालिका पर्दछन् ।

सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १०,१८७ जनसंख्या रहेको छ ।

२० हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ भने १ लाखभन्दा बढी जनसख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको छ ।

गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकाहरुमा बाँके जिल्लाको बैजनाथ, राप्तीसोनारी र खजुरा, रुपन्देही जिल्लाको मायादेवी र कपिलवस्तु जिल्लाको मायादेवी हुन् ।

सबैभन्दा कम जनसंख्या भएका ५ गाउँपालिकाहरुमा मनाङ जिल्लाको नार्पा भूमी, मुस्ताङ्ग जिल्लाको लो–घेकर दामोदरकुण्ड, मनाङ जिल्लाको मनाङ ङिस्याङ र नासोँ गाउँपालिका पर्दछन् ।

सबैभन्दा धेरै जनसख्या बाँके जिल्लाको बैजनाथ गाउँपालिकामा ७०,३१५ र सबैभन्दा कम जनसंख्या भएको मनाङ जिल्लाको नार्फाभूमि गाउँपालिकामा ४४२ रहेको छ ।

१० हजार भन्दाकम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ रहेको छ भने ५० हजारभन्दा बढी जनसख्या हुने गाउँपालिकाको संख्या १५ वटा रहेको छ ।


क्लिकमान्डु