आइएमई लाइफको बोनस दर सार्वजनिक, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले २०७७ असार मसान्ततसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुका लागि नयाँ बोनस दर घोषणा गरेको हो ।

कम्पनीका अनुसार बीमितले न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर पाउने भएका छन् । कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनस दर कायम गरेको छ ।

सावधिक÷अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा बीमितले ० देखि ९ वर्ष अवधिका लागि कम्पनीले ३० रुपैयाँ बोनस दर कायम गरेको छ । उक्त बीमालेख अन्तर्गत २५ वा सो भन्दा माथि अवधिका लागि कम्पनीले ७० रुपैयाँ बोनस दर दिने भएको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले २५ वा सो भन्दा माथिका बीमा अवधिका लागि ७० रुपैयाँ बोनस दर तोकेको छ ।

यस्तै वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) बीमा योजनामा सम्पूर्ण बीमा अवधिका लागि कम्पनीले २० रुपैयाँ बोनस दर कायम गरेको छ ।

उल्लेखित बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी, दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जानकारी दिएको छ ।

साथै, कम्पनीका अनुसार आगामी बीमाङ्कीय मूल्याङकन नभएसम्मका लागि यही बोनस दर कायम हुने छ ।


क्लिकमान्डु