राष्ट्रियस्तरका विकास बैंकको नाफा १७% ले बढ्यो, दुईको घट्यो, कुनले कति कमाए ?



काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा करिब १७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा राष्ट्रियस्तरका ८ विकास बैंकले ३ अर्ब बढी अर्थात् १६.८७ प्रतिशतले नाफा बढाएका छन् ।

राष्ट्रिय स्तरका ८ वटै विकास बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

प्रकाशित वित्तीय विवरणअनुसार यस अवधिमा बैंकहरुले ३ अर्ब २० करोड १७ लाख ४४ हजार रुपैयाँ नाफा कमाएका हुन् । गत आवको यसै अवधिको तुलनामा बैंकहरुले ४६ करोड २२ लाख ६३ हजार रुपैयाँले नाफा बढाएका हुन् । गत आवको यसै अवधिमा बैंकहरुले २ अर्ब ७३ करोड ९४ लाख ८१ हजार रुपैयाँ नाफा कमाएका थिए ।

दुईको नाफा घट्यो
विवरणअनुसार दुई विकास बैंकको नाफा घटेको छ । कामना सेवा विकास बैंक र मुक्तिनाथ विकास बैंकको नाफा घटेको हो ।

कामना सेवा विकास बैंकको नाफा ११.८९ प्रतिशतले घटेर ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँमा सिमित भएको छ । गत आवको यसै अवधिमा बैंकको नाफा ३९ करोड ४७ हजार रुपैयाँ थियो ।

यस्तै, मुक्तिनाथ विकास बैंकको नाफा २.१४ प्रतिशतले घटेको छ । बैंकले यस अवधिमा ६० करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको यसै अवधिमा बैंकले ६१ करोड ५५ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा सर्वाधिक बढ्यो
बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा सर्वाधिक नाफा बढाउनेमा सांग्रिला डेभलपमेन्ट बैंक परेको छ । बैंकले बैंकले ५८.८७ प्रतिशतले नाफा बढाएको छ । बैंकले २६ करोड १८ लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवको यसै अवधिमा बैंकले १६ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, लुम्बिनी विकास बैंकको नाफा ३४.३१ प्रतिशत, महालक्ष्मी विकास बैंकको नाफा ३१.५५ प्रतिशत, गरिमा विकास बैंकको नाफा २५.२५ प्रतिशत र ज्योति विकास बैंकको नाफा १२.५७ प्रतिशतले बढेको छ ।

लुम्बिनी विकास बैंकले ३५ करोड १७ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको छ । महालक्ष्मी विकास बैंकले पुष मसान्तसम्म ४५ करोड ६२ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको छ ।

गरिमा विकास बैंकले ४९ करोड २९ लाख ५३ हजार रुपैयाँ, ज्योति विकास बैंकले ३४ करोड ४० लाख १६ हजार रुपैयाँ नाफा कमाएका छन् ।


क्लिकमान्डु