सानिमा बैंकको नाफामा देखिएन सुधार, ६ महिनामा १ अर्ब ७ करोड



काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा बढाउन नसकेको देखिएको छ ।

बैंकले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्लो वर्षकै हाराहारीमा रहेको छ । बैंकले अघिल्लो वर्ष ६ महिनामा १ अर्ब ६ करोड नाफा गरेकोमा यो वर्ष १ अर्ब ७ करोड नाफा गरेको छ ।

बैंकले ब्याज आम्दानी बढेपनी नोक्सानी व्यवस्थाको लागि छुटउनुपर्ने रकम बढेको तथा अन्य खर्च बढ्दा नाफामा सुधार नदेखिएको हो । ११ अर्ब ३२ करोड चुक्ता पूँजी रहेको सानिमा बैंकले पुस मसान्तसम्ममा १ खर्ब ४४ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३५ अर्ब कर्जा दिएको छ । खराब कर्जा न्यून हुनेमा पर्ने बैंकले अघिल्लो वर्षको तुलनामा खराब कर्जा घटाएको छ ।

नोक्सानी व्यवस्थाको लागि छुटउनुपर्ने रकम बढेपनि कर्जाको आकार बढेको हुँदा खराब कर्जा घटेको देखिएको हो । बैंकको खराब कर्जा ०.३१ प्रतिशत छ । जुन वाणिज्य बैंकहरुमा कम हुनेमा पर्छ ।

यस्तै कर्जा निक्षेप अनुपात ८६.८५ प्रतिशत छ । यसले अहिले निक्षेपको आकारले नै बैंकलाई कर्जा विस्तार गर्न अझै स्पेश रहेको देखिन्छ । अघिल्लो वर्ष ६.८३ प्रतिशत रहेको बैंकको बेसरेट यो वर्ष बढेर ८.०८ प्रतिशत छ । बैंकको पूँजीकोष १३.२८ प्रतिशत रहेको छ । बैंकले पुससम्मको नाफाबाट ५७ करोड सेयरधनीलाई बाँड्न मिल्ने नाफा आर्जन गरेको छ ।


क्लिकमान्डु