कोरोना: वाणिज्य बैंकका ५७ सय कर्मचारी संक्रमित, ६० शाखा बन्द



काठमाडौं । पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको छ । विश्वको तथ्यांक हेर्ने हो भने पछिल्लो एक सातामा २० प्रतिशतले संक्रमितको संख्या बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार एकैदिन ११ हजार जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमणको जोमिख अन्य क्षेत्रमा जस्तै वित्तीय क्षेत्रमा पनि उत्तिकै छ बैंक तथा वित्तीय क्षेत्रमा समेत कोरोना संक्रमणको दर बढ्न थालेपछि वर्क फ्रम होमको व्यवस्था अपनाइएको छ ।

अन्य बैंक तथा वित्तीय संस्थाले जस्तै नेपाल राष्ट्र बैंकले पनि वर्क फ्रम होम लागू गरेको छ ।

संक्रमणको दर बढेसँगै ‘वर्क फ्रम होम’ को नीति अवलम्वन गरिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

‘संक्रमणको दर बढे पछि हामीले ‘वर्क फ्रम होम’ नीति अबलम्वन गरेका छौंँ,’ भट्टले क्लिकमाण्डूसँग भने, ‘संक्रमित कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण मिलाएका छौँ,।’

उनका अनुसार नेपाल राष्ट्र बैंकका १६६ जना कर्मचारी कारोना भाइरसबाट संक्रमित भएका छन् । उनले संक्रमित कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाइएको बताए ।

‘नेपाल राष्ट्र बैंकले सुरक्षाका सबै मापदण्ड अपनाएको छ । भौतिक दुरी कायम गर्ने लगाएका अन्य सुरक्षा अपनाइएको छ,’ उनले भने, ‘आलोपालो सिस्टम अनाएका छौं ।’

त्यति मात्रै होइन, बैंक तथा बीमा कम्पनीमा पनि सोही व्यवस्था लागू गरिएको छ । कतिपय बैंकले केही शाखा कार्यालय नै बन्द गरेका छन् भने अधिकांश कार्यालयमा वर्क फ्रम होम तथा आलोपालो प्रणाली लागू गरेका छन् ।

विगतका दिनहरूमा जस्तै बैंक तथा बीमा कम्पनीका कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि यी क्षेत्रले ‘वर्क फ्रम होम’ को व्यवस्था ल्याएका लागू गरिएको हो ।

बैंकिङ क्षेत्र दैनिक रूपमा भिडभाड हुने क्षेत्र हो । सेवाग्राहीको भिडभाड हुने तथा नियमित सेवा दिनैपर्ने भएकाले यी क्षेत्रलाई संक्रमणको उच्च जोखिम क्षेत्रका रुपमा समेत लिइन्छ ।

बैंकर्स संघका सीइओ अनिल शर्मा अनुसार हाल वाणिज्य बैंकका ५ हजार ७ सयभन्दा बढी कर्मचारी कोरोनाबाट संक्रमित छन् । र, यो २ दिनअघिको तथ्यांक हो । उनका अनुसार हाल हरेक २ दिनमा संक्रमितको संख्या दोब्बरले बढिरहेको छ ।

उनका अनुसार संक्रमित हुनेमा उपत्यकाभित्र काम गर्ने कर्मचारीहरु बढी छन् ।

उनले बुधबारसम्म मुलुकभरका वाणिज्य बैंकका ६० वटा शाखा कार्यालय बन्द भएका छन् ।

कर्मचारीमा संक्रमण बढेसँगै सकेसम्म घरबाटै काम गर्ने वातावरण मिलाइएको र कार्यालयमा उपस्थित हुनैपर्ने कर्मचारी मात्रै आउने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमण दर बढेसँगै बैंक तथा वित्तीय संस्थालाई भौतिक रुपमा हुने कामलाई सकेसम्म कम गर्न समेत निर्देशन दिइसकेको छ ।

राष्ट्र बैंकले सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न आवश्यक उपाय अवलम्बन गर्न निर्देशन दिएको हो ।

सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाइ सेवा प्रवाह गर्न, एटीएम बुथहरुबाट हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न ढोका खुला राखी सेनिटाइजर लगायतका सामग्रीको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

साथै, बैंक तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैठक गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रममा भौतिक दूरी कायम गर्ने तथा त्यस्ता कार्यक्रम सकेसम्म भर्चुअल माध्यमबाट गर्न समेत निर्देशन दिएको छ ।

यता, बीमा समितिले पनि पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गएपछि सबै बीमा कम्पनीहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार बीमा समितिमा ‘वर्क फ्रम होम’ नीति लागू गरिएको छैन ।
उनले समितिका केही कर्मचारी कोभिडको संक्रमित भएको बताए ।

‘संक्रमणको दर बढ्दै गएको छ । समितिका कर्मचारीमा संक्रमणको दर बढेकाले ‘वर्क फ्रम होम’ लागू गर्ने कुरा हुँदैछ,’ उनले भने, ‘कम्पनीहरुलाई पनि सरकारले तोके बमोजिमका स्वास्थ्य मापदण्ड लागू गरेर सेवा दिन निर्देशन दिएका छौँ,।’

समितिले कोभिड संक्रमणको जोखिमलाई न्युनीकरण गर्न सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।

बीमा कम्पनीका कर्मचारी तथा सेवाग्राहीहरुबीच भौतिक दुरी कायम गरी सेवा प्रदान गर्ने वातावरण मिलाउने, आवश्यक माक्स तथा सेनिटाइजरको व्यवस्था गर्न निर्देशन दिएको छ ।

तालिम तथा गोष्ठिहरु सञ्चालन गर्दा बढीमा २५ जना मात्रै उपस्थित हुने गरी भौतिक दुरी कायम गरेर सञ्चालन गर्ने, सकेसम्म त्यस्ता कार्यक्रमहरु भर्चुअल माध्यमबाट सञ्चालन गर्न पनि निर्देशन दिएको छ।

सबै कर्मचारीहरुले कोरोना विरुद्ध खोप लगाएको नलगाएको यकिन गरी बाँकी कर्मचारीहरुलाई अनिवार्य खोप लगाउने व्यवस्था मिलाउने पनि समितिले निर्देशन दिएको छ ।


बिजया बास्कोटा