ग्वार्कोमा निर्माण हुने फ्लाइओभरको ठेक्का आशिष समानान्तर रेलिगर जेभीले पायो, लागत १७ करोड



काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माण हुने फ्लाइओभरको ठेक्काको जिम्मा एम÷एस आशिष समानान्तर रेलिगर जेभीले पाएको छ ।

सडक विभाग अन्तर्गत रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले आज एक आशयपत्र जारी गर्दै उक्त निर्माण कम्पनीले जिम्मा पाएको जनाएको छ ।

सडक विभागको गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले उक्त फ्लाइओभर निर्माणका लागि १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा निर्माण हुने सम्झौता भएको आशयपत्रमा उल्लेख छ ।

उक्त फ्लाइओभरका निर्माणका लागि केन्द्रले गत असारमा निकालिएको ठेक्कामा ९ वटा निर्माण कम्पनीको आवदेन परेका थिए । जसमा एमआर भीम/सगरमाथा जेभी, शर्मा एण्ड कम्पनी, लामा/गोल्डेन गुड जेभी, सूर्य/भ्याली/विकास/ब्रदर्स जेभी, एलिट कन्स्ट्रकसन, अनक/श्रेष्ठ जेभी, तुन्दी/रसुवा/रोशन जेभी, कालिका कन्स्ट्रक्सन, आशिष/समानान्तर गरी ९ कम्पनीले आवेदन दिएका थिए ।

उक्त ९ कम्पनीमा ८ कम्पनीले दिएको आवेदनको तुलनामा आशिष समानान्तरको सबैभन्दा कम आर्थिक प्रस्ताव पेश भएकाले उक्त ठेक्का सो कम्पनीले पाएको केन्द्रले जनाएको छ । सम्झौताअनुसार कम्पनीले ग्वार्कोमा चार लेनको फ्लाइओभर बनाउने छ ।


क्लिकमान्डु