एनबीलाई गाभ्ने नबिलको निर्णय बजारद्वारा स्वागत, २ दिनमा सेयर मूल्य ६८ रुपैयाँले बढ्यो



काठमाडौं । नेपाल बंगलादेश(एनबी) बैंकलाई गाभ्ने निर्णयलाई सेयर बजारले स्वागत गरेको छ ।

नबिल बैंकले बिहीबार एनबी बैंकलाई गाभ्ने सम्झौता गरेको थियो । एनबी बैंकको १०० कित्ता बराबर नबिल बैंकको ४३ कित्ता हुने गरेर गाभ्ने सम्झौता भएको छ ।

नबिल बैंकमा एनबी बैंक गाभिने भएको हुँदा दोस्रो बजारमा एनबी बैंकको मात्र सेयर कारोबार रोक्का छ । मर्जरमा जाने दुवै संस्थाको सेयर कारोबार रोक्का हुने गर्छ । एक्विजेशनमा भने एक्विजेशनमा जाने संस्थाको मात्र सेयर कारोबार हुने गर्दैन ।

नबिल बैंकको सेयर मूल्य बिहीबार बजार बन्द हुने बेला १११० रुपैयाँ थियो । आइतबार र सोमबार नै नबिल बैंकको सेयर मूल्य बढेको छ । सोमबार बजार बन्द हुँदा नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ११७८ रुपैयाँ पुगेको छ ।

यसरी हेर्दा सेयर बजारले नबिल बैंकले एनबीलाई गाभ्ने निर्णयको स्वागत गरेको देखिएको छ । नबिल बैंकलाई एनबी बैंक गाभ्दा ५ अर्ब ७४ करोड रुपैयाँ सेयर स्वापबाट रिजर्बमा आउने छ । जुन रकम बोनस बाँड्न मिल्छ ।


क्लिकमान्डु